पालुंटारका अधिकांश उजुरीमा मिलापत्र

मोहसिन अलि मियाँ
गोरखा
पालुंटार नगरपालिकाको न्यायिक समितिमा पर्ने अधिकांश उजुरी मिलापत्रबाट टुंगिने गरेका छन् । हालसम्म परेका उजुरी मध्ये झण्डै ८० प्रतिशतमा मिलापत्र भएको समितिको तथ्यांकले देखाउँछ । २०७४ जेठदेखि २०७६ कात्तिक मसान्तसम्म समितिमा १ सय ७४ वटा उजुरी दर्ता भएका छन् । जसमध्ये १ सय ३७ वटा उजुरीलाई समितिले मिलापत्र गराई टुंग्याएको हो । ‘उजुरी परेपछि हामी दुवै पक्षलाई बोलाएर छलफल गराउँछाैं’ समितिका संयोजक एवं उपप्रमुख पम्फा बसेलले भनिन् ‘हामीले छलफल गराउँदा दुवै पक्ष सहमतिमा जान इच्छुक देखिन्छन्, त्यसपछि परामर्श दिएर मिलापत्र गराएर पठाउँछौं ।’
यस वर्षदेखि पालुंटारले इजलाशको समेत व्यवस्था गर्दै समितिको कामलाई व्यवस्थितरुपमा अघि बढाएको जनाएको छ । सुरुकै वर्षदेखि कानुनी सल्लाहकारसमेत नियुक्त गरेको समितिले सकेसम्म हरेक विवादलाई सहमतिमा टुंग्याउने प्रयत्न गर्ने गरेको उपप्रमुख बसेल बताउँछिन् । ‘उजुरी आउनेबित्तिकै हामी पहिला दुवै पक्षलाई बोलाएर छलफल गराउँछौं, आवश्यकता परे फिल्डमा गएर पनि अध्ययन गर्छौ’ उनले भनिन् ‘सकेसम्म हरेक विवादमा सहमति चाहान्छौं, अहिलेसम्मको कामलाई हेर्दा त्यो सम्भव पनि भएको छ, कुनै कुनै संवेदनशील केस मात्रै कानुनी प्रक्रियामा लैजाने गरेका छौं ।’
कात्तिक मसान्तसम्मको तथ्यांकलाई हेर्दा १ सय ७४ मध्ये ७ वटा उजुरीलाई निर्णयमार्फत् निरुपण गरिएको छ । न्ययिक समितिलाई ११ प्रकारका विवादमा निर्णय गर्दै निरुपण गर्न पाउने अधिकार छ । त्यस्तै १२ प्रकारका विवादमा मेलमिलापबाट निरुपण गर्न पाउने क्षेत्राधिकार समितिलाई दिएको संयोजक बसेल बताउँछिन् । त्यस्तै हाल २४ वटा उजुरी भने विचाराधिन रहेको र ६ भने दर्ता फिर्ता भएका छन् ।
सबैभन्दा बढी उजुरीमा जग्गा विवाद
पालुंटार नगरपालिकाको न्यायिक समितिमा सबैभन्दा बढी उजुरी जग्गा विवादका आउने गरेका छन् । कात्तिक मसान्तसम्म समितिमा ४५ उजुरी जग्गा विवादका आएको कानुनी सल्लाहकार दीपककुमार श्रेष्ठले बताए । जसमध्ये ३२ वटालाई सहमति र ४ वटालाई निर्णयमार्फत् निरुपण गरिएको छ । त्यस्तै ९ वटा भने विचाराधिन अवस्थामा रहेको श्रेष्ठको भनाई छ । त्यस्तै लैंगिक हिंसा सम्बन्धी उजुरीसमेत समितिमा कम छैनन् । १ सय ७४ मध्ये ४४ वटा उजुरी महिला तथा लैंगिक हिंसाका छन् । जसलाई पारिवारिक विवादका रुपमासमेत उल्लेख गरिन्छ । यस्ता उजुरीमा भने सबैजसोमा मिलापत्र हुने गरेको कानुनी सल्लाहकार श्रेष्ठले बताए ।
यसैगरी समितिमा ज्याला मजदुरी सम्बन्धी २३, गाली गलौज ६, घरभाडा विवादमा ९, नाबालक पालनपोषण तथा शिक्षा, ज्येष्ठ नागरिक संरक्षणमा १३, अंश विवाद ७, कुलो पानी र साँध मिचेको ७, ध्वनी प्रदुर्षणमा ४ र अन्यमा २३ उजुरी परेको श्रेष्ठको भनाई छ । समितिमा पर्ने गरेका केहि संवेदनशील उजुरीको निरुपणमा भने इलाका प्रहरी कार्यालय ठाँटीपोखरीसँग सहकार्य गर्दै आएको बताइएको छ ।
तपाईको प्रतिक्रिया