अब गीतमै बाँच्नेछन् सुक गुरुङ

समाधान संवाददाता २०७६ पुष ७ गते १२:५५

अमृत सुवेदी
पोखरा

६० को दशकलाई पोखरेली सांगीतिक ब्यान्डको उर्वर समय मानिन्छ । त्यो बेला एकपछि अर्को ब्यान्ड जन्मिए । लोक पपको क्षेत्रमा धमाका मच्याए । त्यसैमध्येको एउटा ब्यान्ड हो, नेपथ्य ।

साठीको दशक सुरुआततिरै नेपथ्यको ‘छेक्यो, छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले’ लोक पप शैलीको गीतले धुम मच्चायो । तन्नेरीदेखि पाका संगीत पारखीलाई यो गीतले छोयो र मुख मुखमा झुण्डियो ।

Advertisement

‘छेक्यो, छेक्यो देउराली डाँडा…’ गीतमार्फत नेपथ्य र यसका गायक रवीन श्रेष्ठ एक्कासि चर्चित बने । तर, गीतकार भने गुमनाम नै रहे । त्यसका सर्जक थिए, सुक गुरुङ ।

त्यतिमात्रै होइन, सुकले धेरैका मुखमा गुञ्जिरहने अरु केही सदावहार गीत पनि दिए । गायक र ब्याण्डले चर्चा कमाए । विभिन्न कन्सर्ट र सांगीतिक कार्यक्रम जमाए । गीत र गायकले चर्चा र सफलता बटुलेजस्तो सुकले जीवनमा सफलताको स्वाद लिन पाएनन् ।

Advertisement

अरुण थापाले गाएको उनकै गीत ‘दोष कसैलाई दिन चाहन्न, पिउनेछु बरु आँखाको आँसु’ ले भनेजस्तै कहिले आँसुमा डुबे त कहिले आफैंलाई दोष दिँदै जीवनसँगै पछुताए ।

सर्मिला बर्देवा र रवीन श्रेष्ठले गाएको उनको अर्काे गीत हो, ‘आँखैमा झल्झली हितैको दौतरी ।’ जीवनका पछिल्ला दशक उनले हितैका दौंतरी सम्झिइरहे, देख्न पाएनन् । मधुमेह र उच्च रक्तचापका कारण उनले दृष्टि गुमाए । आँखामा अँध्यारो छाए पनि उनले जीवनमा उज्यालो खोज्दै बाँच्ने प्रयत्न गरिरहे ।

राजु लामाले गाएको ‘भाइटीकामा भेट्न आउँला बिदाइ छ आजलाई,’ गीत पनि उनैले लेखेका हुन् । यो गीत सुनेर धेरैका आँखा रसाए । गायक राजुलाई चर्चित बनाउन यो गीतले भूमिका खेल्यो । नेपाली आधुनिक तथा लोकपप जगतलाई उनले दिएका केही गीत सदावहार छन् ।

सुक भने जीवनमा सफलता खोज्दा खोज्दै कहिले दृष्टि गुमाएर संसार नदेख्ने बनेत कहिले रोगले थला परे । २०७१ पुस १९ गते उनी अकास्मात ढले । त्यसअघि नै उनका आँखाको ज्योति गुम्दै गएको थियो । १० दिनपछि चेत आउँदा उनी अस्पतालको बेडमा थिए । डाइबिटिज र उच्च रक्तचापले उनलाई गाँजेको रहेछ । ‘जवानीमा आफैंलाई ख्याल गरिएन । रोगले च्याप्दै गएछ । आँखाको ज्योति गुम्यो,’ विदेशबाट आएको सहयोग लिँदै २ वर्षअघि सुकले भनेका थिए, ‘डाक्टरले २ वटै मिर्गौला फेर्नुपर्छ भनेको छ । अहिले हप्तामा २ पटक डायलासिस गरिरहेको छु ।’

लमजुङमा जन्मेका सुकको परिवार चितवनतिर हान्नियो । चितवनपछि सुक पोखरा आइपुगे । सुकको बाल्यकाल चितवन हुँदै पोखरामा बित्यो । उनको गीत हिट भएपछि सुक पनि काठमाडौंतिर हान्निएका थिए । काठमाडौंमा भिडियो सम्पादन गरे । तर, उनले पैसा एल्बम निकाल्दैमा सके ।

यही बीचमा उनले गीत, मुक्तक, कवितासहितको ‘यी मेरा अन्तरवेदनाहरु’ किताब बजारमा ल्याए । सुकले इसारा भाग १, तिर्सना, निवेदन, सूचना, बिरानो माया जस्ता ११ एल्बम बजारमा ल्याएका थिए । केही गीत चर्चित बने तर जीवनलाई सहज ढंगले चलाउन सकेनन् ।

नजिकबाट चिन्ने र संगत गरेकाले सुकलाई घमण्डी भन्थे । त्यो कुरा उनी आफू पनि स्वीकार्थे । भन्थे, ‘हो मलाई घमण्डी, मिलेर काम गर्न नसक्ने पनि भन्छन् । आफ्नो स्वाभिमानलाई बेचेर, आफू होच्चिएर अरुलाई अग्लो बनाउन नसकिँदो रहेछ ।’ चर्चित गीतका सर्जक भएकै कारण सुकले धेरैको सहयोग र साथ पाए । विभिन्न रोगका कारण कमजोर बन्दै गएका सुक दुबै मिर्गौलामा समस्यामा देखिएपछि थलिएका थिए ।

उनको मिर्गौला प्रत्यारोपणका निम्ति भनेर देश विदेशमा कार्यक्रम भए । हङकङ, युके, ब्रुनाइ, अमेरिका, अस्ट्रेलिया लगायतका देशबाट सुकका निम्ति पैसा संकलन हुन थाल्यो । पोखरामा जगन गुरुङको संयोजकत्वमा अर्थ संकलन अभियान नै चल्यो । देशविदेश र विभिन्न कार्यक्रमबाट उनका निम्ति झण्डै ५४ लाख जम्मा भयो । यो रकमबाट सुकको मिर्गौला प्रत्यारोपणसँगै उपचारका निम्ति खर्च गर्ने अभियान्ताहरुको योजना थियो ।

नियमित डायलासिस गराइरहेका र अन्य रोगका कारण पनि धेरै नै गलिसकेका सुकले प्रत्यारोपण गर्न मानेनन् । जीवनमा परिवारका निम्ति ठूलो काम केही गर्न नसकेको र अब आफू मिर्गौला प्रत्यारोपणबाट पनि धेरै बाँच्न नसक्ने भइसकेको बताउँदै सुकले त्यो रकमले आफ्नो परिवारको ओत लाग्ने ठाउँ बनाइदिन आग्रह गरे ।

‘म यसरी गलिसकेको छु । अब मिर्गौला फेरेर पनि म धेरै बाँच्न सक्दिनँ । मैले जीवनमा धेरै कमाउन र परिवारका निम्ति केही गर्न सकिनँ भनी सुकले आग्रह गरेपछि उपचारसँगै घर निर्माणमा रकम खर्च भयो,’ सुकका साथी तथा आर्थिक संकलन अभियानका सदस्यसमेत रहेका मेनकाजी गुरुङले भने, ‘उनको लेखनाथ डाँडाको नाकमा सानो जग्गा रहेछ । त्यहीँ अहिले उनको घर बनेको छ ।’

उनले चर्चा र सफलताको असली स्वाद लिन पाएनन् । गुमनामजस्तो जीवन बाँचे तर पनि मनकारीहरुको साथ पाए । उनी रोगसँग लड्दै गर्दा भन्थेँ, ‘म ९९ प्रतिशत मरेर पनि १ प्रतिशतले बाँचिरहेको छु । २÷४ गीत लेखेको थिएँ र पो बाँच्न पाइरहेको छु ।’

हो, अब सुक पनि बाँची नै रहने छन्, उनका गीत र सिर्जनामा । सुकलाई अब फेरि चिनिन र बाँच्नकै निम्ति संघर्ष गर्नुपर्ने छैन । किनकी पोखराको चरक मेमोरियलमा उपचारका क्रममा आइतबार बिहान ५४ वर्षको उमेरमा सुकको निधन भयो । सुकको उपचारका लागि उठेको रकमले ठडिएको घर उनका २ छोरा र श्रीमतीका निम्ति ओत लाग्ने ठाउँ त बनेको छ तर सुक नै नभएपछि उराठलाग्दो छ ।

तपाईको प्रतिक्रिया