मौसम खुलेपछि हिउँको मज्जा लिदै मुस्ताङका स्थानियबासी र कर्मचारी

समाधान संवाददाता २०७६ पुष २० गते १४:५१

मुस्ताङका जिल्ला स्थित कर्मचारी हिउँमा रमाउदै । तस्विरः घनश्याम गौतम ।

समाधान संवाददाता, जोमसोम

अंग्रेजी नयाँ वर्ष तथा पर्यटन वर्ष सुभारम्भसंगै लगातार २ दिनसम्म परेको हिमपात र वर्षा रोकिएर मौसम खुलेसंगै मुस्ताङका जिल्ला स्थित कार्यालयका कर्मचारी सुरक्षा निकाय र स्थानीयबासीेहरु हिउँ खेल्न जुटे । जारी सिजन परेको दोश्रो हिउँ खेल्न उनीहरु बस्ती माथिको उच्चलेक र नाङ्गो स्याउबारी पुगे।

Advertisement

बर्खायामको घमिलो मौसममा सधैजसो व्यक्त रहने कर्मचारीहरु हिउँदमा सेवाग्राही उपस्थिती न्युन हुनेहुदाँ हिउँ खेल्न अवसर मिलेको हो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्याल, प्रनाउ तुलबहादुर कार्की लगायतको टोली शनिबार हिउँ खेल्न घरपझोङ ५ ठिनी, ढुम्बाताल र जोमसोमका स्याउबारी पुगे । हिउँकै लोलाले हिर्काउन, हिउँकै विभिन्न आकृति बनाउने, हिउँकै प्रोफाईल लिएर खिचेका तस्विर सामाजिक संञ्जालमा अपलोड गरे । प्रमुख जिल्ला अधिकारी अर्यालले हिउँले हिमाली वातवरणलाई सुन्दर र नयाँ अनुभुती दिलाएको बताए । हिउँपरेसंगै जनजिवनमा सामान्य प्रभाव पारेपनि यसले उत्साह थपेको उनले उल्लेख गरे । मौसमका कारण गुमनाम बनेको मुस्ताङमा अब हिउँ खेल्ने पर्यटक बढ्न सक्ने बताए ।

हिउँपरेसंगै मुस्ताङका किसानमा खुशीयाली पलाएको छ । हिउँले स्थानीय रैथानेबालीको उत्पादन दरलाई बढावा दिने स्थानीयको बुझाई छ । हिउँले खेतीयोग्य जमिनलाई चिस्यान दिएर सिचाईको काम गर्ने, उवा, फापर, जौ, मकै, स्याउ , बोडी लगायतका अन्नवालीमा अक्सिजनको मात्रा पूर्ति गर्ने जोमसोमका स्थानीय किसान अजित थकाली बताउँछन् । बिहिबार र शुक्रबार मुस्ताङका ५ पालिकामा हिउँ परेको स्थानीय प्रशासनले जनाएको छ । प्रशासनका अनुसार उपल्लो मुस्ताङमा एक फिट र तल्लो मुस्ताङमा आधा फिट हिउँ परेको जनाईएको छ ।

Advertisement

पहिलो र दोश्रो पटक परेको हिउँले खेतीयोग्य जमिनलाई सिञ्चित गरेको हो । हिउँपरेसंगै उच्चलेकबाट बहने शाखा नदी, खोल्सा खोल्सी, घरका धाराहरु जमेका छन् । हिउँपर्दा सर्वसाधारण घर बाहिरै कैद भएका थिए । हिउँकै कारण मुस्ताङमा बिद्युत आपूर्ति र संञ्चार सेवा अनियमित बनेको छ भने हवाई सेवा समेत प्रभावित बन्यो ।

यस्तै उच्चलेकका पशुचौपायहरु बस्ती नजिक सारिएको छ भने घर गोठमा भएका चौपायालाई सुख्खा घास दिएर राखिएको थकाली बताए । हिउँपरेसंगै मुक्तिनाथ सडकको कागबेनी, खिड्गा, झारकोट र मुक्तिनाथमा डेढ फिट हिउ जमेको सवारी चालक माने गुरुङले जानकारी दिए । यस्तै ,जोमसोम–लोमान्थाङ सडक भने एक महिना अघिनै बन्द भएको छ ।

तपाईको प्रतिक्रिया