पृथ्वीनारायणको पदमार्ग खोजी

समाधान संवाददाता २०७६ पुष २१ गते १३:०३

मोहसिन अली मियाँ
गोरखा

पृथ्वीनारायण शाहकालीन पोशाकसहित टर्च र राष्ट्रिय झण्डा बोकेर नेपाली सेनाको टोली गोरखाबाट काठमाडौं पैदल निस्किएको छ । पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेको बाटो पहिचान गर्दै एकीकरण पदमार्ग निर्माणका लागि नेपाली सेनाले पदयात्रा सुरु गरेको हो । ‘युनिफिकेसन ट्रेल’का रुपमा सो मार्गलाई विकास गर्ने भन्दै सेनाले पदयात्रा सुरु गरेको हो ।

शुक्रबार बिहान साढे ८ बजे गोरखा दरबारको हनुमान चौतारीबाट सेनाको टोली प्रस्थान गरेको हो । टोलीलाई पश्चिम पृतनाका पृतनापति गोकुल भण्डारी, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, भीमसेन थापा गाउँपालिका अध्यक्ष ईश्वर पाण्डे लगायतले बिदाइ गरे । सहसेनानी इन्द्रबहादुर खत्री नेतृत्वको टोलीलाई टर्च र झन्डा हस्तान्तरण गरी बिदाइ गरिएको हो ।

Advertisement

पृतनापति भण्डारीले इतिहासको संरक्षण र प्रर्वद्धन गर्ने नेपाली सेनाको योजना अनुसार तत्कालीन सेनाले प्रयोग गरेका मार्ग पहिचान गर्न पदयात्रा सुरु गरिएको बताए । उनले भ्रमण वर्षलाई सफल बनाउन समेत यस मार्गको प्रचारप्रसार हुनुपर्नेमा जोड दिए । गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले इतिहास जर्गेना गर्न सेनाले सुरु गरेको अभियानको प्रशंसा गरे । सेनाले पदयात्रा गरेको ‘रुट’लाई पर्यटकीय पदमार्गका रुपमा विकास गर्न नगर क्षेत्रमा आफूहरुले समेत बिभिन्न योजना बनाएको नगर प्रमुख पन्तले सुनाए ।

भीमसेन थापा गाउँपालिका अध्यक्ष पाण्डेले पदमार्गमा पर्ने गाउँपालिका भएकाले नेपाली सेनालाई पदमार्ग संरक्षण र प्रर्वद्धनको काममा सघाउने प्रतिवद्धता जनाए । प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले पृथ्वीनारायण शाहको स्मरणमा पदयात्रा गर्नु देशकै गौरवको बिषय भएको विचार राखे । नेपाल पत्रकार महासंघ गोरखा अध्यक्ष किशारजंग थापाले पर्यटन प्रवद्र्धन, विकास र प्रचारप्रसारमा सञ्चारकर्मीको साथ रहेको बताए ।

Advertisement

पृथ्वीनारायण शाहको पालामा स्थापना भएका नेपाली सेनाका ५ कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सबुद गण) को झण्डासहित करिब ४० जनाको टोली पदयात्रामा निस्किएको रणसिंह दल गणका गणपति उज्ज्वल केसीले बताए । टोलीमा हाल गोरखा दरबारमा राखिएको गुरुजीको पल्टनका १० सैनिक परम्परागत पोशाकमा सहभागी छन् ।

पदयात्रामा सहभागी सैनिकहरु हनुमान चौतारीबाट पीपलथोक, ताप्ले, अश्राङ, घाटबेंसी हुँदै बोर्लाङघाट पुगेर धादिङको सल्यानटारमा कार्यक्रम गरी गोरखाबाट लगिएको टर्च र झण्डा धादिङको देवीदत्त गणका टोलीलाई बुझाइएको सेनाले बताएको छ । धादिङको देवीदत्त गणको टोलीले शनिबारदेखि यात्रा सुरु गरेको जनाएको छ । आइतबार धादिङले नुवाकोट र केही दिनपछि नुवाकोटले काठमाण्डौलाई टर्च र झण्डा हस्तान्तरण गरेपछि उक्त टोली २७ गते काठमाडौंमा आयोजित पृथ्वी जयन्यतीमा सहभागी हुने नेपाली सेनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया