‘नाम अनुसारको सेवा दिनुहोस’

समाधान संवाददाता २०७६ माघ ५ गते १३:५४

राजन उपाध्याय
दुलेगौंडा

नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रले नाम अनुसारको सेवा दिनुपर्नेमा जोड दिएका छन् ।

अस्पतालले आयोजना गरेको ३ दिने वृहत निशुल्क स्वास्थ्य शिविरको शुक्रबार शुक्लागण्डकी ५ बेलचौतारामा उद्घाटन गर्दै उनले विगतमा भएका कमजोरीलाई सच्याउँदै प्रभावकारी सेवा दिनुपर्ने बताए । आगामी वर्षसम्म अस्पतालले रिफर गर्ने होइन,’ उनले भने, ‘अब आफैले उपचार गर्नतर्फ लैजानुपर्छ, यसमा सरकारले आवश्यक सहयोग गर्न तयार छ ।’ गिरिजाप्रसाद कोइराला अटल व्यक्तित्वसँगै यस अस्पताल रहनुपर्ने उनले उल्लेख गरे । ‘राष्ट्रिय व्यक्तित्व गिरिजाप्रसाद कोइरालाको नाममा रहेको अस्पतालले गिज्याइरहेको छ,’ उनले भने, ‘अब यसलाई जनताको मन जित्ने गरी सेवा दिनुपर्दछ ।’

Advertisement

उनले अस्पतालको प्रशस्त सम्भावना रहेको औंल्याए । उनले अस्पतालको १ इन्च जग्गा पनि अतिक्रमण हुने विषय सैह्य नभएको बताए । ‘अस्पतालको जग्गा अतिक्रमणको खतरामा भएको सुनेको छु,’ उनले भने, ‘राज्य छ, प्रशासन छ, १ इन्च जग्गा पनि अतिक्रण हुने कुरा हामीलाई मान्य छैन, जे प्रयोजनको लागि जग्गा दिइएको छ, त्यसैको लागि उपयोग गर्नुपर्छ ।’

मन्त्री ढकालले कानुनको अस्पष्टता भए सच्याएर जनभावना अनुसार अघि बढ्नुपर्नेमा जोड दिए । केन्द्र मातहतमा रहेको अस्पतालले स्थानीयतहलाई नचिनेको गुनासो आएको उल्लेख गर्दै आफू यस विषयमा गम्भिर भएको बताए । अब अस्पताल गठन आदेशमै स्थानीय तहलाई जवाफदेही बनाउने प्रतिवद्धता जनाए ।

Advertisement

निशुल्क स्वास्थ्य शिविरमा श्वास प्रश्वास, नाक, कान, घाँटी, छाला तथा यौन रोग, आँखा, महिलाको पाठेघरको मुखमा हुने क्यान्सर, मुट, नशा लगायतका बिरामीको उपचार गरिने अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए । अस्पतालले निशुल्क एक्सरे, भिडियो एक्सरे र प्रयोगशालाको व्यवस्था गरेको छ । उनले स्वास्थ्य परीक्षण गराई लाभ लिन सबैलाई आग्रह गरे ।

शिविरमा नर्भिक अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, विर अस्पताल लगायतबाट डेढ दर्जन विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण गर्ने छन् । शिविरमा करिव ३ हजारले स्वास्थ्य सेवा लिने अनुमान गरिएको सञ्चालक समिति सदस्य शेषमणि आचार्यले जानकारी दिए । कार्यक्रममा समिति सदस्य राम भण्डारी, सर्बदा खनाल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया