मूर्ति बनाउँदा बनाउँदा देउतासँगै साक्षात्कार भए जस्तो लाग्छः राजेन्द्र तामाङ

समाधान संवाददाता २०७६ माघ १६ गते १४:२१

जमुना वर्षा शर्मा
पोखरा

‘मूर्ति बनाउँदा बनाउँदा देउतासँगै साक्षात्कार भए जस्तो लाग्छ,’ पोखराको पार्दीमा एकनासले सरस्वतीको मूर्ति बनाउन तल्लीन राजेन्द्र तामाङले भने, ‘निकै वर्ष भयो मूर्ति बनाउन लागेको । मलाई भगवानले नै यो कला दिनुभए जस्तो लाग्छ, मूर्ति बनाउँदा निकै आनन्द पो लाग्छ ।’

बाल्यकालदेखि नै चित्रकलामा रुचि राख्ने उनले पछि यसलाई नै पेशा बनाए । ललितपुर गोदावरीका स्थायी बासिन्दा उनले २५ वर्र्षदेखि भगवान्का मूर्ति बताउँदै आएका छन् । कलाप्रति रुचि ढल्केपछि उनले अध्ययनलाई १० कक्षामै सिमित गरे । उनले थांका बनाउन थाले । उनको रुचिलाई अमेरिकी नागरिक स्टिभले निकै मन पराए । काम गर्ने शिलशिलामा आँखामा समस्या देखियो ।

Advertisement

उनै स्टिभले तामाङलाई आँखा हस्पिटल लगे । डाक्टरले सल्लाह अनुसार तामाङले पावरवाला चश्मा लगउनुपर्ने भयो तर त्यो पावरवाला चश्माले पनि २ महिनापछि काम गर्न छाड्यो । पुनः उनी आँखा अस्पताल गए, थप पावरको चस्मा लगाउनु पर्ने भयो । जीवनको त्यो पलमा निकै नरमाइलो अनुभूति गरेको उनी सुनाउँछन् । भन्छन्, ‘डाक्टरले मसिनो काम गर्न छोड्नुस् भनेपछि निकै नरमाइलो लाग्यो, विरक्तिए पनि ।’ पढ्न छाडेर कलातिर लागेका तामाङले अब काम गर्न सक्दिनँ कि भन्ने चिन्ताले पिरोलिनु रह्यो ।

२ वर्ष कलाको काम थाती राखेर फूलको नर्सरी खोले । मन मान्दैनथ्यो नर्सरीमा सजाउने मृग, खरायोका मूर्तिहरु बनाउँथे । विस्तारै आँखा पनि ठीक हुँदै गयो । अन्ततः उनी पुरानै पेशामा फर्किए । पोखरामा सिमेन्टको मूर्तिको माग निकै छ भन्ने सुनेपछि उनी १२ वर्षअघि पोखरा आएका थिए । सुरुमा अरुको उद्योगमा काम गरे । यो लगानी भन्दा पनि मेहनतको काम भएकाले आफ्नै व्यवसाय खोले ः नागमणी मूर्ति पसल । हाल उनको दैनिकी यही भगवानका मूर्ति बनाएर बित्छ ।

Advertisement

मूर्ति बनाउन १ देखि ५ दिनसम्म लाग्छ । बनाइरहेको सरस्वतीको मूर्तिलाई ११ हजारमा बेच्ने उनले तय गरेका छन् । ‘श्रीपञ्चमी नजिकिँदै छ । विभिन्न स्कुलबाट मूर्ति किन्न आउनुहुन्छ । मूर्ति बनाउन सके बिक्रीका लागि खासै समस्या हुँदैन,’ उनले भने ।

कुनै पनि विषयलाई जीवन्तरुपमा उतार्न पनि अध्ययन आवश्यक हुने उनी औंल्याउँछन् । अर्कोतर्फ विदेशी नागरिकले पनि विशेष चासो राख्ने भएकाले अंग्रेजी भाषा सिक्न पाए कलाका बारेमा विदेशीलाई जानकारी दिन सकिन्थ्यो भन्ने उनको चाहना छ । ३ सय ५० देखि ३० हजारसम्ममा उनी मूर्ति बेच्छन् ।

२ छोरा, १ छोरी र श्रीमतीसहितेको परिवार मूर्ति बिक्री गरेर धानिएको छ । कामको चाप हुने समयमा अन्य २ युवालाई पनि उनले काम दिने गरेका छन् । हातमा सीप हुने मानिस भोगै बस्नु नपर्ने उनी बताउँछन् । अरुले जे ग¥योे त्यही कामभन्दा पनि आफ्नो रुचि अनुसारको काम तिर लागे सफल हुन सकिने उनको ठम्याइ छ ।

उनले पोखरामा नागको मूर्ति अत्याधिक बिक्री हुने भएकाले बढी नाग मूर्ति बनाएका छन् । अर्डर अनुसार सरस्वती, भगवती, शिव, पार्वती, राम, सीता, गणेश, बुद्ध लगायतका मूर्ति बनाउने उनले जनाए ।

तपाईको प्रतिक्रिया