सेताम्मे हिउँले किसानमा उत्साह

समाधान संवाददाता २०७६ फागुन ११ गते १२:४९

मुस्ताङका ५ वटै पालिकामा हिमपात । तस्बिरः एसके थकाली ।

एसके थकाली
जोमसोम

मुस्ताङमा शुक्रबार हिमपात भएको छ । हिमपातसँगै खेतबारीमा लगाइने बालीनाली सप्रिने अपेक्षासहित किसान उत्साहित भएका हुन् । गत माघदेखि यहाँका किसान धमाधम स्याउ बगैंचा व्यवस्थापन गर्न र नया स्याउका बिरुवा लगाउन व्यस्त छन् ।

Advertisement

हिउँले स्याउका बोट तथा नयाँ बिरुवालाई सिँचाइ आवश्यकता पूर्ति गर्ने, हिउँले स्याउ बिरुवामा लाग्ने विभिन्न रोगका संक्रमणलाई हटाउने, रैथानी बालीलाई चाहिने कार्बनको मात्रा पूरा गर्ने र जमिनको माटोलाई खुकुलो पार्न सहयोग पुर्‍याउने हुनाले हिउँ पर्नु किसानका लागि फाइदाजनक भएको छेङ्गुरका किसान गमबहादुर गुरुङले जानकारी दिए । यस वर्ष करिब २५ सय नया स्याउका बिरुवा लगाइएको छ । यस वर्ष मुस्ताङमा ६५ सय टन स्याउ फलेको थियो ।

हिउँदयामको समाप्तिसँगै मुस्ताङका शैक्षिक संस्था खुल्न थालेका छन् । विद्यालय खुलेपछि नयाँ शैक्षिक सत्रको पढाइ सुरु भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख टंकराज बरालले बताए । उनले नियमित पठन÷पाठन सुरुआत भए पनि शुक्रबार परेको हिमपातले शैक्षिक पठन÷पाठनमा असर पारेको जनाए । हिउँदयामको जाडो छल्न बेसी झरेका मुस्ताङी घर फर्किने समयमा हिमपात भएको हो ।

Advertisement

मुस्ताङका ५ वटै स्थानीय तहमा हिमपात भयो । हिमपातका कारण विद्यार्थी विद्यालयसम्म पुग्न सकेका छैन । यसअघि मुस्ताङमा ३ पटकसम्म हिमपात भएको थियो । हिउँदयाम सकिएर गर्मीयाम सुरुआतको महिनामा हिमपात भएको हो । मुस्ताङीहरु हिमपातका कारण घर फर्किन समेत अप्ठेरो परेको हो । उपल्लो मुस्ताङमा गत मंसिरदेखि सार्वजनिक यातायातका साधनहरु चलेका छैनन् । हिमपातले उपल्लो मुस्ताङको सडकमा हिउँ जमेपछि विगत ३ महिनादेखि सवारी आउजाउ ठप्प भएको यातायात व्यवसायी देव गुरुङले जानकारी दिए । उनले सडक सफा भए यातायात सेवा साविक बमोजिम चालु गर्ने बताए ।

मुस्ताङमा यसअघि परेको हिउँ ओभाउँदै गएको अवस्थामा पुनः हिउँ थपिएको हो । हिउँ परेपछि जोमसोमदेखि मुक्तिनाथ जाने सडक अवरुद्ध भएको छ । उपल्लो मुस्ताङमा खाद्यान्न ढुवानीका लागि लोघेकर दामोदरकुण्ड–१ का अध्यक्षले डोजर लगाएर हिउँ सफा गरेको थियो । कागबेनी–मुक्तिनाथ सडकको हिउँ बारागुङ मुक्तिक्षेत्रले सफा गरेको थियो । जारी सिजनको अन्तिम हिउँ परेपछि मुस्ताङ आउने पर्यटकलाई समेत असहज भएको छ ।

तपाईको प्रतिक्रिया