गण्डकीका उपकरण थोरै, केन्द्रकै मुख ताक्दै प्रदेश

समाधान संवाददाता २०७६ चैत १० गते ८:१९

समाधान टिम

क्षेत्रीय अस्पतालमा उपकरण नभएका कारण प्रदेश सरकारसँग मागेर नमुना संकलन गर्नुपर्दा ढिला भइरहेको छ । ‘अस्पतालहरु आफैंले खरिद गर्नुपर्ने हो । अस्पतालमा नभएपछि प्रदेश स्वास्थ्य निर्देशनालयले नमुना संकलनमा उपकरण उपलब्ध गराउँदै आएको छ । क्षेत्रीय अस्पतालसँगै निर्देशनालय छ, त्यहीँबाट इक्युपमेन्ट उपलक्ध गराएका हौं,’ प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दुले भने, ‘सरकारसँग पनि उपकरण अपर्याप्त छ ।’

गण्डकी प्रदेशमा कम्तीमा २ हजार पिपिई हुनुपर्नेमा २ सयभन्दा कममा रहेको निर्देशक शर्माले बताए । प्रदेश सरकार पनि केन्द्रकै मुख ताकेर बसिरहेको शर्माले बताए । ‘सबै एकजुट भएर कोरोनोबिरुद्ध लड्नुपर्ने छ,’ डा. शर्माले भने । थप उपकरणका लागि संघीय सरकारसँग माग गर िपठाइसकिएको डा. शर्माले जानकारी दिए ।

Advertisement

गण्डकी प्रदेश सरकारले व्यक्तिगत सुरक्षा सामग्री ५ सय, इन्फ्रारेड थर्मोमिटर ५ सय, मास्क २० हजार थान, सेनिटाइजर र डिसिन्फेक्टेन्ट सय लिटर उपलब्ध गराइदिन संघीय सरकारलाई अनुरोध गरेको छ । प्रदेशले ११ वटै जिल्लामा कम्तीमा २ वटाका दरले २२ सेट उपकरण पठाउन लागेको डा. शर्माले जानकारी दिए । स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारदेखि हेल्लो डक्टर सेवा पनि सुरु भएको छ । हेलो डक्टरमा ०६१ ५२४०७४ नम्बरमा फोन गरेर कोरोना संक्रमणबारे जानकारी लिन मिल्छ । टेलिकमबाट टोल फ्रि नम्बर लिने प्रक्रिया अगाडि बढाइसकिएको छ ।

शुक्रबार बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले पोखराका निजी तथा सरकारी ५० शैयाभन्दा माथिका अस्पतालमा न्यूनतम ५ बेड आइसोलेसन वार्ड तत्काल स्थापना गर्ने निर्णय गरेको थियो ।

Advertisement

मणिपालमा चुस्त तयारी
पोखराकै मणिपाल शिक्षण अस्पतालले भने कोरोना संक्रमण फैलन नदिन चुस्त तयारी गरेको छ । अस्पतालले प्रवेशद्वारमै चिकित्सकसहितको टोलीले ज्वरो चेकजाँच गरेरमात्र प्रवेश अनुमति दिने गरेको छ । कुनै व्यक्तिमा उच्च ज्वरो देखिए त्यसपछिको उपचार प्रक्रियालाई मापदण्ड बनाई अस्पतालले नमूना परीक्षण थाल्ने भएको छ । ‘अस्पताल प्रवेश गर्ने सबैको ज्वरो नाप लिन थालिसकेका छौं,’ निर्देशक डा सूर्या चौधरीले भने, ‘हामीले १० स्कोरको मापन विधि पनि तय गरेका छौं । त्यसमा विभिन्न ७ पक्षको मूल्यांकन हुन्छ ।’

अस्पतालले ३ नम्बर भन्दामुनि रेटिङ दिएको व्यक्तिलाई घरमै आइसोलेसनमा बस्न अनुरोध गर्ने भएको छ । ३ देखि ५ मुनि रेटिङ पाएका व्यक्तिलाई अस्पतालले तुरुन्तै आइसोलेसनमा राखी नमुना परीक्षण गर्नेछ । यदि ५ भन्दामाथि रेटिङ पाउने व्यक्तिलाई कोरोना भाइरस संक्रमण पुष्टि गरी उपचार थालिहाल्ने निर्देशक डा. चौधरीले जानकारी दिए ।

अस्पतालले तत्काललाई ६ बेड क्षमताको आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको छ । संख्या थप भएमा तत्कालै सोही भवनमा ३० बेडसम्म विस्तार गरिने डा चौधरीले जानकारी दिए । उनले भने, ‘स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने पिपिई भने हामीलाई केही अभाव छ । केही संख्यामा अस्पतालले नै व्यवस्थापन गरे पनि पर्याप्त छैन ।’

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पार्किङ क्षेत्रसँगैको रुखमा झुन्ड्याइएको सूचना । यहाँ स्वास्थ्यकर्मी छैनन् । मणिपाल शिक्षण अस्पतालको मुख्य प्रवेशद्वारमा सेवाग्राहीको ज्वरो नाप्दै स्वास्थ्यकर्मी ।

तपाईको प्रतिक्रिया