भोकै हुनुहुन्छ ?, पोखरा ८ को कार्यालयमा सम्पर्क गर्नुस्

समाधान संवाददाता २०७७ वैशाख २८ गते १७:०७

अनुप पौडेल, पोखरा

बिहानको साढे ९ हुनुअघि नै विद्यालयको चौरमा ६० जनाभन्दा बढी आउँछन् । नाम लेखाउँछन् अनि ज्वरो नाप्छन् । स्वयंसेवकले खाना तयार भएको जानकारी दिएपछि सबैजना लाइन लाग्छन् । स्वयंसेवकले खाना हालिदिन्छन् । खाना खाएर त्यहाँबाट निस्किन्छन् ।

साँझको साढे ५ बजे पनि त्यस्तै गतिविधि दोहोरिन्छ । यो दृश्य पोखरा ८ स्थित श्री राम आधारभूत विद्यालयको हो । गएको ११ दिनदेखि विद्यालयको चौरमा साँझ/बिहान यस्तै दृश्य देखिने गरेको छ । लकडाउनले काम बन्द भएर भोकै बस्नुपर्ने अवस्था सिर्जना भएका अतिविपन्न परिवारलाई वडा कार्यालयले खाना खुवाइरहेको छ ।

Advertisement

खाना खान आउनेहरुले भाँडाको व्यवस्थापन आफै गर्ने गरेका छन् । खाएपछि त्यसलाई आफैले सफा गर्छन् । दैनिक ६० देखि ७० जनालाई वडा कार्यालयले बिहान/बेलुका खाना खुवाइरहेको वडाध्यक्ष रुद्रनाथ बराल बताउँछन् ।

‘लकडाउनले अतिविपन्न परिवार मारमा पर्नुभयो । खाना खानै समस्या भएपछि हामीले उहाँहरुलाई सामूहिक रुपमा खाना पकाएर खाने व्यवस्था गरेका हौं,’ उनले भने, ‘अहिले दैनिक ७० जनाले बिहानबेलुका यहीँ खाना खानुहुन्छ ।’

Advertisement

स्थानीय त्रिशक्ति पार्टी प्यालेसले वडा कार्यालयलाई सहयोग गरिरहेको छ । त्यसबाहेक स्थानीयहरु पनि सहयोग गर्न तयार छन् । जनप्रतिनिधि बिहान÷बेलुका त्यहीँ भेटिन्छन् । वैशाख ७ गतेदेखि १५ गतेसम्म पौरखी स्वयंसेवी समूहले उनीहरुलाई खाना खुवाएको थियो ।

उक्त समूहले वडा कार्यालयसँग समन्वय गरेर ९ दिनसम्म प्याकेट खाना उपलब्ध गरायो । अनुमति लिएको अवधि १५ गते सकिएपछि खाना खुवाउने काम बन्द भयो । केही परिवार त्यसपछि पनि वडा कार्यालय आउन थाल्यो ।

पौरखी समूहले उपलब्ध गराएको प्याकेट खाना वितरण गर्दै वडाध्यक्ष रुद्रनाथ बराल । तस्बिर-समाधान

भोकै बस्नपर्ने अवस्था देखिएपछि वडाको बैठक बसेर उनीहरुलाई खाना पकाएर खुवाउने निर्णय भएको वडाध्यक्ष बरालले बताए । ‘पौरखी समूहले ९ दिनसम्म २४ सय ६७ जनालाई खाना खुवायो । उहाँहरुले खाना खुवाउन बन्द गरेपछि त्यस्ता परिवार समस्यामा पर्ने देख्यौं । त्यसपछि १७ गते बेलुकाबाट हामी आफैले खानाको व्यवस्था गर्यौं,’ उनले भने ।

भिडियो हेर्न यहाँ क्लिकगर्नुहोस् ।

वडा कार्यालयले १७ सय बढीलाई राहत वितरण गरेको छ । अहिले पनि आवश्यक परेकाहरुलाई कार्यालयले राहत वितरण गरिरहेको छ । वडाध्यक्ष बरालले भने, ‘अहिले मुस्लिमहरुको रमजानको महिना भएकाले उहाँहरु यहाँ आउनुभएको छैन । ५ जना मुस्लिम धर्मावलम्बीलाई खाद्य सामग्री दिएका छौं ।’

राहत र प्याकेट खानाभन्दा आफै खाना पकाएर खुवाउँदा वास्तविक पीडितमात्र सम्पर्कमा आएको वडा सदस्य पुष्पराज सिग्देलले बताए । कसैको परिवारका सदस्य खाना खान आउन नसक्ने भए उनीहरुलाई घरमै खाना लैजाने व्यवस्था गरिएको उनले जानकारी दिए ।

वडा सदस्य सिग्देलले भने, ‘कसैको परिवारको सदस्य आउन नसक्ने अवस्थामा भए उहाँहरुलाई घरै खाना लगेर खाने व्यवस्था गरेका छौं । परिवारका सदस्यले टिफिन लिएर आउनुहुन्छ, त्यसमा हालेर पठाउँछौं ।’ जेठ ५ गतेसम्म खाना खुवाउने कामलाई निरन्तरता दिने र त्यसपछि अवस्था हेरेर निर्णय लिने उनले बताए ।

तपाईको प्रतिक्रिया