सुजनका हत्यारा पक्राउ, ३ बजे प्रेस मिट गर्दै कास्की प्रहरी

समाधान संवाददाता
पोखरा महानगर पालिका वडा नम्बर २६ सुन्दरी बजार बस्ने २४ वर्षीय सुजन विकको हत्याको रहस्य खुलेको छ । वेपत्ता भएको तीन दिन पछि मृत अवस्थामा भेटिएका युवकको हत्यामा संलग्नहरुलाई समेत कास्की प्रहरीले पक्राउ गरिसकेको छ ।
उनको शव पोखरा २७ अर्घौचोकदेखि अर्चले जाने बाटोको झन्डै ३ सय मिटर भित्र मकै बारीमा गाडिएको अवस्थामा फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले उनको हत्या भएको पुष्टी गर्दै हत्यामा संलग्नलाई पक्राउ गरिसकेको बताए । ‘यसै बारेमा जानकारी दिन दिउसो ३ बजे पत्रकार सम्मेलन गर्दैछौं । त्यही आउनु होला घटना विवरण सबै उपलब्ध गराउनेछौं ।’ उनले समाधानन्यूजसंग भने ।
गत शनिबार देखि हराएका ती युवाको शव अर्घौमा एक फर्निचर पसल पछाडि बारीमा गाडिएको अवस्थामा फेला परेको थियो । मादी ११ का विक पोखरा २६ सुन्दरीबजारस्थित परिवारसहित बहालमा बस्दै आएका थिए ।
फर्निचर पसलमा काम गर्ने एकजनाले बारी गोडमेल गर्न जाँदा उनको शव देखेका थिए । ‘शव गन्हाइसकेको थियो ।’ डाडाकोनाक इकाला प्रहरी कार्यालयका प्रमुख डिएसपी अर्जुन रानाभाटले भने, ‘शव गाडिएको भएपनि अलिकति हात बाहिर निस्किएको अवस्थामा फेला पारेको हो ।’
शवको टाउकोमा चोट देखिएको तर घटनास्थलमा कुनै त्यस्तो कडा वस्तु नभेटिएको डिएसपी रानाभाटले जानकारी दिए । शवको अनुहार चिन्न नसक्ने अवस्थामा भएपछि कपडाको आधारमा परिवारलाई पहिचान सहज भएको उनले बताए ।
तपाईको प्रतिक्रिया