प्रदेश सांसद फुक्काफाल, कोरोना संवाहक बन्ने खतरा !

समाधान संवाददाता २०७७ जेठ २४ गते १८:४३


भरत कोइराला
पोखरा, २५ जेठ


बजेट अधिवेशन जारी रहँदा स्वास्थ्य संयमता नअपनाइ जिल्ला आउजाउ गरिरहेको भन्दै कर्णाली प्रदेशका २ सांसदलाई बैठकमा रोक लगाइएको छ । प्रदेश नम्बर २ को प्रदेश सभा सचिवालयका ५ मर्यादापालकमा कोरोना पोजेटिभ देखिएपछि संसद बैठक नै स्थगित भएको छ ।

यता गण्डकी प्रदेशका सांसद भने फुक्काफाल हुँदै जिल्ला घुमिरहेका छन् । उनीहरुको तर्क छ, ‘जनप्रतिनिधि भएपछि एक ठाउँमा मात्र बसेर भएन कार्यकर्तासँग काम हुन्छ, अलिअलि हिँडडुल त गर्नै पर्‍यो नि ।’

Advertisement

शनिबार दिउँसो समाधान प्रतिनिधिले फोन गर्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक मायानाथ अधिकारी तनहुँबाट फर्कंदै थिए । नेकपा नेता टुकराज सिग्देलकी आमा बितेकाले भेटेर फर्कंदै गरेको उनले जवाफ दिए । अधिकारीका साथमा सांसद मोहनप्रसाद रेग्मी, धनञ्जय दवाडी, चन्द्रमोहन गौचन पनि थिए ।

यस्ताे संक्रमणकाे खतरा बढिरहेका बेला पिसिआर गरेका सांसदले पाेखरा छाड्न हुन्छ त भन्ने प्रश्नमा अधिकारीले भने, ‘हामीले सतर्कता अपनाएका छौं, आफ्नै गाडीमा गएर फर्केको हो, कसैको नजिकमा गइएको छैन, बोलिएको छैन, मास्क पनि लगाएका छौं ।’ अन्य सांसद पनि सतर्कता अपनाएर कोही काठमाडौं र कोही आफ्नो जिल्लामा गएको उनले सुनाए ।

Advertisement


एकपटक पिसिआर परीक्षण गराएकै भरमा सांसदहरु यसरी निर्वाध रुपमा घुमफिर गर्दा संक्रमणको खतरा बढेको छ । मन्त्री र सांसद सरकारी तथा निजी गाडी लिएर घुमिरहेका छन् । कोही मन्त्री र सार्वजनिक कार्यक्रममा सामाजिक दुरी कायम नगरी, बिना मास्क सहभागी भएका समाचार र फोटो सार्वजनिक भइसकेका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेल शनिबार बिहानै बागलुङ गए । दिउँसो समाधानले फोन गर्दा आफू बागलुङकै घरमा आएको र साँझ फर्कने बताए । उनले पनि सतर्कता अपनाएर आफू हिँडडुल गरेको दाबी गरे । बागलुङ कोरोना संक्रमित अत्यधिक देखिएको जिल्ला हो ।

कांग्रेस संसदीय दलका उपनेता मेखलाल श्रेष्ठ शुक्रबारै काठमाडौं गएका छन् । उनी एक्लै गएनन्, साथमा सांसद प्रकाशचन्द्र दवाडी र चिन्तबहादुर घले पनि सँगै गए । उनीहरु जेठ ३२ गते पोखरा फर्कंदै छन् । उपनेता श्रेष्ठले परिवार काठमाडौंमै भएकाले आफूहरु आएको र घरबाहिर कतै नजाने र सतर्कता अपनाउने दाबी गरे ।

कांग्रेसका सचेतक ओमकला गौतम पनि शुक्रबारै गृहजिल्ला नवलपुर पुगेकी छन् । शनिबार बैठक नभएको र जिल्लामा काम भएकाले मंगलबार फर्कर्ने गरी जिल्ला पुगेको उनले बताइन् ।

यसरी घुमफिर गर्ने वाहेक नियमित बाहिरी जिल्लाबाट बैठकमा भाग लिन आउने जाने सांसद पनि छ । नेकपाकी सांसद आशा कोइराला, कांग्रेसका सरीता गुरुङ र डोबाटे विश्वकर्मा तनहुँबाट दैनिक आवतजावत गर्छन् । कांग्रेसका भगवतप्रकाश मल्ल स्याङ्जाबाट आउजाउ गर्छन् । विधायन समिति सभापति समेत रहेका सांसद मोहन रेग्मी पनि स्याङ्जा आवतजावत बाक्लै गर्छन् ।

राष्ट्रिय जनमोर्चाका नेता एवं सांसद कृष्ण थापा भने कान्छो बुवा बितेर किरिया बस्न शनिबार बागलुङ पुगेका छन् । आफै किरिया बस्नुपर्ने भएकाले अबका १३ दिन उनी उतै हुनेछन् ।

एकपटक पिसिआर परीक्षण गराएकै भरमा सांसदहरु यसरी निर्वाध रुपमा घुमफिर गर्दा संक्रमणको खतरा बढेको छ । मन्त्री र सांसद सरकारी तथा निजी गाडी लिएर घुमिरहेका छन् । कोही मन्त्री र सार्वजनिक कार्यक्रममा सामाजिक दुरी कायम नगरी, बिना मास्क सहभागी भएका समाचार र फोटो सार्वजनिक भइसकेका छन् ।

११ गतेबाट सुरु भएको गण्डकी प्रदेश सभाको अधिवेशनमा आगामी वर्षका लागि बजेटका सिद्धान्त र प्राथमिकता साथै नीति तथा कार्यक्रम प्रस्तुत भएर पारित पनि भइसकेका छन् । बैठकका क्रममा बोल्ने सांसदले कोरोनाबाट बच्न यसो गरौं उसा गरौं भनेर निकै सुझाव दिए । सरकारका प्रतिनिधिले पनि आफूहरुले गरेका कामका फेररिस्त सुनाए । कतिपय सांसदले त यस्तो अवस्थामा सदन नचलाए पनि हुने र भर्चुअल बैठक बसे पनि हुने सल्लाह सभामुखलाई नदिएका पनि होइनन् ।

तर सल्लाह दिने सांसदहरु खुलेआम बाहिर हिँडडुल गर्दा झनै जोखिम बढेको र तत्काल यसमा नियन्त्रण गर्न नागरिकस्तरबाट दबाब आउन थालेको छ । लकडाउन कार्यान्वयनका लागि पहल गर्नुपर्ने सांसदहरुनै निर्वाध रुपमा आउजाउ गर्दा झनै खतरा बढेकाले कि त उनीहरुलाई हिँडडुलमा रोक लगाउनुपर्ने कि त संसद बैठकमा प्रवेश गर्न नदिने प्रावधान ल्याउनु पर्ने पोखराकै एक नागरिक अगुवा बताउँछन् ।

गण्डकी प्रदेश सभाको बजेट अधिवेशन चलिरहेका बेला कोरोना संक्रमणबाट बच्न भन्दै बैठकस्थल नै परिवर्तन गरिएको छ । नदीपुरस्थित संसद भवनको हल सानो भएकाले पोखरा सभागृहमा २५ लाख रुपैयाँभन्दा बढी खर्चेर मर्मतसम्भार गरिएको छ । यो सबै स्वास्थ्य सतर्कताका लागि गरिएको हो ।

हलमा प्रवेशमा पनि कडाइ गरिएको छ । पत्रकार र अरु सर्वसारणका लागि सभागृहको बालकोनीमा व्यवस्था गरिएको छ । जहाँ प्रवेशका लागि अलगै ढोका छ । यसपालिबाट युटुबमा लाइभ आउने भएकाले केही प्राविधिक र क्यामेरा पर्सनबाहेक अरु बैठककक्षमा जान पाउँदैनन् । सांसद र मन्त्रीका का लागि पनि २ वटा कुर्सीको फरकमा बस्ने व्यवस्था मिलाइएको छ ।

प्रमुख सचिव, सचिव र मुख्य न्यायाधिवक्ताका लागि पनि दुरी कायम गरेर कुर्सी राखिएको छ । यो सबै स्वास्थ्य सतर्कताका लागि हो । हलभित्र सतर्कता अपनाए पनि बाहिर निर्वाध रुपमा हिँडडुल र भेटघाट गर्दा संक्रमणको खतरा बढेको कास्कीमा बस्ने सांसदको गुनासो छ ।
कांग्रेस सांसद बिन्दुकुमार थापाले भने, ‘जनप्रतिनिधि भएर आफ्ना मतदाता र कार्यकर्तासँग भेटघाट त गर्नै पर्‍याे, तर जोखिमबाट भने जोगिनुपर्छ ।’

बाहिरी जिल्ला घुमेर आएकाहरुसँग बस्दा अन्यलाई पनि खतरा हुने उनको भनाइ थियो । परीक्षणको रिपोर्ट आउँदा दिन नेगेटिभ भयो भनेर ढुक्क हुने अवस्था रहँदैन । संक्रमणको लक्षण पछि पनि देखिन सक्छ र अन्यबाट संक्रमण सर्न पनि सक्छ । त्यही भएर पनि खतरा बाँकी नै रहन्छ ।

पिसिआर देखाउने दाँत मात्र
प्रदेश सभाको बैठक बस्नुअघि मुख्यमन्त्री, मन्त्री, सभामुख, सांसददेखि कर्मचारीको सम्म पिसिआर परीक्षण गरियो । सरकारी सुविधा लिने दलका नेता, समिति सभापतिका चालक र पिएको समेत त्यतिबेला स्वाब परीक्षण भयो । तर सांसदका चालक र पिएको स्वाब परीक्षण भने गरिएन ।

परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएका सांसदको गाडी स्वाब परीक्षण नै नगरेका चालकले कुदाउँछन् र साथमा सांसदका पिए पनि हुन्छन् । त्यसमाथि संक्रमण फैलिएका जिल्लामा घुमेर आउँदा त झनै खतरा हुन्छ ।

पोखरा नछाड्ने भद्र सहमति थियो
मन्त्री, सांसद र कर्मचारीको पिसिआर परीक्षण गरेपछि अफिस र अत्यन्तै जरुरी काम परेका ठाउँमा वाहेक अन्यत्र नजाने सहमति भएको थियो । यस बारेमा सभामुख नेत्रनाथ अधिकारीले पनि अनुरोध गरेका थिए । जसमा सबैजसोले हुन्छ भनेर टाउको हल्लाएका थिए । शुक्रबारको बैठक सकिएपछि भने धेरै सांसदहरु कोही काठमाडौं त कोही आफ्ना जिल्लातिर हानिए ।

प्रदेश सभा सचिववायका निमित्त सचिव राजेन्द्र न्यौपाने पोखरा बाहिर नजानका लागि सभामुखले आग्रह गरेकाले पक्कै जानुभएन होला भन्ने विस्वास गरिएको बताए । उनले भने, ‘माननीय ज्यूहरुले आफै बुझ्नुपर्ने कुरा हो, बाहिरी जिल्लामा आवतजावत बढेको मैले पनि सुनेको छु, यसबारेमा आइतबार फेरि छलफल गर्नुपर्ला ।’

तपाईको प्रतिक्रिया