क्वारेन्टाइन खर्च धान्नै गाह्रो, पिसिआर किन्दै पालिका

समाधान संवाददाता २०७७ जेठ ३१ गते १२:५०

परीक्षण गर्न पठाएको स्वाबको रिपोर्ट आउन समय लाग्ने र क्वारेन्टाइनमा राख्दा आर्थिक भार पर्ने भएकाले पिसिआर किन्ने निर्णगय गर्न बाध्य हुनुपरेको हो ।

जनकराज पौडेल
प्रमुख, बागलुङ नगरपालिका

अनुप पौडेल, पोखरा

Advertisement

तनहुँको म्याग्दे गाउँपालिकाको क्वारेन्टाइनमा अहिले करिब १ सय जना छन् । तीमध्ये ४१ जनाको स्वाब पोखरा पठाएको ३ दिन भइसक्यो । कोरोना परीक्षण हुने पोखराको प्रयोगशालामा फोन गर्दा जवाफ आउँछ – रिपोर्ट आउन हप्ता दिन लाग्छ । गाउँ फर्किनेको संख्या उकालो लागिरहँदा कोरोना परीक्षणको रिपोर्ट आउनै समय लागेपछि पालिकाका जनप्रतिनिधि आजित भइसके ।

म्याग्दे मात्र होइन तनहुँका अरु पालिकाको समस्या पनि उस्तै छ । प्रदेश सरकारबाट आशलाग्दो जवाफ नपाएका तनहुँका १० वटै पालिका अहिले आफै पिसिआर मेसिन किनेर परीक्षण थाल्ने गरी तयारी थालेका छन् ।

Advertisement

‘रिपोर्ट नआएसम्म घर पठाउन मन मान्दैन । रिपोर्ट आउने समय पर्खिँदा हाम्रा जनतालाई झनै डर भयो,’ म्याग्दे गाउँपालिकाकी अध्यक्ष माया रानाले भनिन्, ‘कि नाकाबाटै पिसिआर गरेर पठाइदिएको भए यहाँ डर हुन्थेन । प्रदेशबाट कुनै आशा भरोसा पाएनौं । त्यसैले पिसिआर किन्ने भनेका हौं ।’

क्वारेन्टाइनमा राख्दा १ जना बराबर ५ सय रुपैयाँ खर्च भइरहेको उनले बताइन् । ‘खानामा दिनको ३ सय र खाजामा डेढ सय रुपैयाँ खर्च हुन्छ । क्वारेन्टाइनमा राख्नभन्दा पिसिआर किनेर परीक्षण गर्दै घर पठाउन पाइयो,’ उनले भनिन् ।

जिल्लाका सबै पालिका प्रमुखको बिहीबार बसेको बैठकले मेसिन खरिदका लागि लाग्ने १ करोड खर्च छुट्याउने निर्णय गरेको उनले जानकारी दिइन् ।

बैठकमा भएको सहमति अनुसार मेसिन खरिदका लागि कुल खर्चको १४ प्रतिशत शुक्लागण्डकी नगरपालिकाले, व्यास, भीमाद र भानु नगरपालिकाले १२/१२, आँबुखैरेनी, घिरिङ, बन्दीपुर, रिसिङ र म्याग्दे गाउँपालिकाले ९/९ प्रतिशत बेर्होने छन् । देवघाट गाउँपालिकाले भने ५ प्रतिशत बेहोर्ने गरी सहमति भएको छ ।

खरिद गरिएको पिसिआर मेसिन तनहुँको बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास केन्द्रमा राख्नका लागि अनुरोध गर्ने निर्णय भएको छ । उक्त बैठकले पिसिआर परीक्षणका लागि आवश्यक कर्मचारी भने प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष रानाले बताइन् ।

जिल्लामै पिसिआर सञ्चालनबारे छलफलमा तनहुँका जनप्रतिनिधि

पालिकाहरुले जिपी कोइराला श्वासप्रश्वास केन्द्रमा पिसिआर मेसिन राख्ने बताए पनि अस्पतालमा पिसिआर राख्ने र कोरोना परीक्षण गर्ने ठाउँको अभाव छ । कोरोना संक्रमितलाई राख्न अस्पतालको भवन प्रयोगमा ल्याइएको र परीक्षण गर्न छुट्टै भवन उपलब्ध नभएको अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताए ।

‘पालिकाले अस्पतालमा पिसिआर राख्ने भनेर औपचारिक जानकारी आएको छैन । मिडियाबाटै थाहा पाएँ,’ उनले भने, ‘भएको भवनमा आइसोलेसन बनायौं । पिसिआर राख्न छुट्टै भवन र परीक्षण गर्न जनशक्ति छैनन् । हामीसँग जग्गाचाहिँ प्रशस्तै छ । पिसिआर राख्ने भए भौतिक संरचनासहित बनाउनु पर्ने हुन्छ ।’ अस्पतालको आइसोलेसनमा अहिले ४ संक्रमितको उपचार भइरहेको डा. श्रेष्ठले जानकारी दिए । उनका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

तनहुँका १० पालिका जसरी नै बागलुङ र गोरखाका पालिकाले पनि पिसिआर मेसिन किन्ने तयारी गरेका छन् । बागलुङका पालिकाले प्रदेश सरकारसँग पिसिआर मेसिन माग गरेका थिए । तर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले परीक्षणको दायरा बढाउने तयारी भएकाले केही समय धैर्य गर्न आग्रह गरेपछि अहिले रोकिएका छन् ।

मुख्यमन्त्रीले परीक्षणको दायरा बढाउने भन्दै आश्वस्त पारेकाले प्रदेशको परीक्षण दायरा हेरेर थप निर्णय लिइने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । ‘मुख्यमन्त्री ज्यूले परीक्षणको दायरा बढाउँछौं भनेर आश्वास्त पार्नुभयो । त्यसैले हामी १ हप्ता प्रदेश परीक्षण के–कसरी हुन्छ हेर्छौं,’ नगरप्रमुख पौडेलले भने, ‘प्रदेशबाट नभए सबै पालिका मिलेर पिसिआर किन्ने निर्णय गरेका छौं ।’

पिसिआर मेसिन खरिद गरिएमा त्यसलाई धौलागिरी अञ्चल अस्पतालमा राख्ने र आवश्यक जनशक्ति प्रदेश सरकारसँग माग्ने उनले बताए । परीक्षण गर्न पठाएको स्वाबको रिपोर्ट आउन समय लाग्ने र क्वारेन्टाइनमा राख्दा आर्थिक भार पर्ने भएकाले पिसिआर किन्ने निर्णग गर्न बाध्य हुनुपरेको नगरप्रमुख पौडेलले बताए ।

गोरखामा भने कोरोना परीक्षणका लागि सम्भाव्यता अध्ययन गर्न गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको संयोजकत्वमा ३ सदस्यीय अध्ययन समिति बनाइएको छ । पालिकाले प्रदेशसँग कर्मचारी माग्ने बताएपनि प्रदेश सरकार आफैले कोरोना जाँच्ने कर्मचारी बाहरिबाट भाडामा ल्याएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

पिसिआर किन्नेबारे छलफलमा जुट्दै गोरखाका विभिन्न पालिकाका जनप्रतिनिधि लगायत सरोकारवाला

अहिले गण्डकी प्रदेशमा ४ जना मात्र कोरोना परीक्षणका लागि योग्य प्राविधिक छन् । तनहुँबाट परीक्षणका लागि पोखरा पठाइएको ५ सय १०, गोरखाका ३ सय ४० र बागलुङका ६ सय बढी स्वाबको रिपोर्ट आउन बाँकी छ ।

‘खर्च धेरै आउँछ’

सपना सुवेदी
प्रमुख, प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी

मेसिन किनेर ल्याउनु ठूलो कुरा होइन । ३०/३५ लाखमा पिसिआर मेसिन आउँछन् । परीक्षणका लागि मेसिनबाहेक अरु आवश्यक सामग्री जुटाउँदा डेढ देखि २ करोडसम्म खर्च हुन्छ । कोरोना परीक्षण आफैमा महँगो छ । एक जनाको कोरोना परीक्षण गर्दा १५ हजारसम्म खर्च आउँछ । प्रयोगशालामा सहयोग गर्न, प्रोसेसिङ गर्न अरुले पनि सक्छन् तर रिपोर्टिङको काम अनुभवीले मात्र गर्ने हो ।

तपाईको प्रतिक्रिया