एन्फा कास्की माथिको छानबिन सकियो

समाधान संवाददाता २०७७ असार २९ गते १४:४७

समाधान संवाददाता, पोखरा

एन्फा कास्कीमाथि छानबिन गर्न बनाइएको समितिले ११ दिन लगाएर छानबिन सकाएको छ ।

विभिन्न प्रतियोगिताको हिसाबकिताबबारे छानबिन थालेको अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष वीरबहादुर खड्का नेत्तृत्वको टोलीले छानबिन प्रतिवेदन तयार पारेको हो ।

Advertisement

एन्फा केन्द्रको असार २ गते बसेको बैठकले विभिन्न ६ विषयमा छानबिन गर्ने गरी उपाध्यक्ष खड्का संयोजक रहेको तीन सदस्यीय समिति बनाएको थियो ।

समितिको सदस्यमा अडिटर विष्णुप्रसाद पराजुली र एन्फा कास्कीका पूर्वाध्यक्ष आनन्द रन्जित सदस्य छन् ।

Advertisement

समितिले २०७५ सालमा आयोजित मनकामना कप, जिल्लास्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता, प्रदेशस्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता तथा ग्रास रुट कार्यक्रमको आम्दानी र खर्चबारे खोजी गरेको छ ।

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ गत माघमा बैकिंङ कसुर सहित तीन वटा मुद्दामा पक्राउ परेका थिए । त्यसयता एन्फा कास्की माथि छानविन गरिनुपर्ने माग बढेको थियो ।

यसअघि पनि एन्फाले केन्द्रीय सदस्य रत्नकुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति बनाएको थियो । तर त्यस समितिले आफ्नो प्रतिवेदन बुझाउन सकेको थिएन ।

उक्त समितिका संयोजक रत्नकुमार श्रेष्ठले स्वास्थ्य अवस्था कमजोर रहेको बताउँदै राजीनामा दिएपछि नयाँ समिति गठन भएको थियो ।

लगत्तै गत असार २ गते एन्फा कार्यसमितिको आपत्कालिन बैठकले वीर बहादुर खड्काको संयोजकत्वमा नयाँ छानबिन समिति गठन गरेको थियो ।

तपाईको प्रतिक्रिया