छात्रा क्रिकेट प्रतियोगिता सुरु

समाधान संवाददाता २०८१ वैशाख १६ गते १२:००

पोखरा ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि पोखरा रंगशालामा नगर स्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता सुरु भएको छ ।


प्रतियोगिताको उद्घाटन खेलमा सिद्ध माविले भद्रकाली माविलाई ४३ रनले पराजित गर्‍यो । पहिला व्याटिङ गरेको सिद्धले रचना चौधरीको अविजित ४४ तथा सुशीला दिमदुङको अविजित १० रनको मद्दतमा २० ओभरमा ३ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो ।


प्रत्युत्तरमा भद्रकालिको पारी ७८ रनमा समेटियो । उसले १३.२ ओभरमा सम्पूर्ण विकेट गुमाएको थियो । भद्रकालीलाई अल आउट गर्ने क्रममा प्लेयर अफ द म्याचसमेत बनेकी रचना चौधरीले ५ विकेट लिइन् । सुशीला र अंकिता ठकुरीले समान २ तथा सुनीला रानामगरले १ विकेट लिइन् । भद्रकालीका लागि विशाखा महर्जनले १२ रन बनाइन् ।

Advertisement


यसअघि आयोजक समितिका सदस्य सचिव सुवास खड्काले एम्पायरलाई बल हस्तान्तरण तथा बलिङ र मुख्य प्रायोजक कंगारु एजुकेसन फाउन्डेसनका निर्देशक टिआर काफ्लेले ब्याटिङ गर्दै प्रतियोगिताको सुरुवात गरेका थिए । प्रतियोगिता संयोजनकर्ता महानगर क्रिकेट समितिका अध्यक्ष वीरेन्द्र पुनको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष गोविन्द प्रधानले सञ्चालन गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया