मनकारी होटल घरभेटी, ३ महिना पूरै छुट, थप १ वर्ष तिर्न नपर्ने

समाधान संवाददाता २०७७ साउन ५ गते १४:३१

समाधान संवाददाता

कोरोना भाइरसको महामारीबाट विश्वमा सबैभन्दा बढी प्रभावित भएको व्यवसायमध्ये पर्यटन व्यवसाय एक हो । पर्यटकीय सहर पोखराको पर्यटन उद्योग पनि कोरोना भाइरसको महामारी फैलिएसंगै बन्दछ ।

पोखराका अधिकांश पर्यटन व्यवसायी भाडाको घरमा व्यवसाय सञ्चालन गर्छन् । चैतदेखि सुरु भएको लकडाउनका कारण उनीहरुको व्यवसाय पूरै ठप्प छ । यही बेला घरभेटी र व्यवसायीबीच भाडा लिने र छोड्ने बारेमा द्वन्द्व चलिरहेको छ ।

Advertisement

होटल व्यवसायीको छाता संगठन पश्चिमाञ्चल क्षेत्रीय होटल संघले विज्ञप्ति नै जारी गरेर घर धनी र व्यवसायीबीच सहकार्य गर्न र भाडामा छुट दिन आग्रह गरिरहेको छ ।

यहीबीचमा केही घर धनीले भाडामा छुट दिएका छन् भने केही घरधनीले सामान्य छुट दिन पनि आनाकानी गरेकाका कारण कतिपय व्यवसायी विस्थापित भइरहेको समाचार आइरहेको छ । अधिकांश घरभेटीले राम्रै रकम एडभान्स लिएका कारण भाडा छुट नदिने र त्यसैबाट कटाउने धम्की पनि दिने गरेका छन् ।

Advertisement

तर एउटा घरभेटी जोडी यस्तो छ जसले पछिल्लोे लकडाउन अवधिको भाडा मात्रै छुट दिएन, अर्को एक वर्षसम्म होटल सञ्चालकले भाडा तिर्न नपर्ने व्यवस्था गरिदिएको छ ।

त्यो मनकारी जोडी हो, पोखरा लेकसाइडको बाराही गल्लीस्थित बगैंचा वेलनेस रिसोर्टका घरभेटी अर्थात् क्याप्टेन इन्द्रबहादुर गुरुङ र लक्ष्मी गुरुङ । उनले सो रिसोर्टका सञ्चालकलाई पछिल्लो लकडाउन अवधिमध्ये ३ महिनाको घरभाडा पूरै छुट दिएका छन् । आगामी एक वर्षका लागि होटलको भाडामा ५० प्रतिशत छुट दिएका छन् । त्यो रकम पनि रिसोर्ट सञ्चालकले तिर्नुपर्ने छैन । घरभेटीले यसअघि लिएको एडभान्सबाटै सो रकम कटौती गरिनेछ ।

‘घरभेटी बाले बोलाउनु भयो, तिमीहरुलाई गारो भएको मलाई पनि थाहा छ, मैले केही सुविधा दिने योजना बनाएको छु भन्नुभयो,’ रिसोर्ट सञ्चालक पोमनारायण श्रेष्ठले समाधानसँग भने, ‘उहाँले अहिलेका पर्यटन व्यवसायीको वास्तविक मर्म बुझेर ३ महिनाको सबै छुट, आगामी एक वर्षका लागि ५० प्रतिशतमात्र भाडा दिए हुन्छ भन्नुभयो । त्यो ५० प्रतिशत पनि एडभान्स दिएको रकमबाट कटाउने समझदारी भएकोछ ।’

पर्यटन व्यवसायी विस्थापित हुन नपरोस भनेर आफुले छुट दिएको घरभेटी इन्द्रबहादुर गुरुङले समाधानलाई बताए । ‘होटल पूरै बन्द छ, पर्यटक आउने सम्भावना पनि कम छ,’ उनले भने, ‘व्यवसाय धान्नु त पर्‍यो नि, उनीहरु अप्ठेरोमा छन् । त्यसैले सक्दो सहयोग गरेको हो ।’

तपाईको प्रतिक्रिया