भीरको गिँदरीको रुखमा कंकाल, खोलामा बाइक

समाधान संवाददाता २०७७ साउन २० गते ७:३९

समाधान संवाददाता
पोखरा

पहाड खोपेर बनाएको सडकको थोरै चाक्लो ठाउँ । रोकिएरै अडिन मिल्ने चोसो । आडैमा फोहोर फाल्ने ठाउँ । अन्त ठाडो भीर भए पनि त्यहाँचाहिँ थोरैथोरै तर्पाएँ । तलचाहिँ सेतीखोला । सिद्धार्थ राजमार्गको भालुपहाड खण्डमा रहेको त्यही ठाउँको भिरमुनि खोलामा एउटा मोटरसाइकल देखियो । आइतबार खोलामा माछा मार्न गएका स्थानीयले मोटरसाइकल देखेको प्रहरीलाई खबर गरे । मोटरसाइकल झिक्न जाँदा माथि भिरको रुखमा अड्किएको वस्तुमा प्रहरीको नजर पर्‍यो ।


ज्याकेट, ट्र्याक र जुत्ताका आधारमा आफन्तले पहिचान गरे

Advertisement

केही दुर्गन्ध पनि आइरहेको त्यो ठाउँको रुखमा अल्झिएको चिज लामो बाँसको सहायताले खसाल्दा मानव कंकाल भेटियो । भेटिएको बुलेट बाइक महिना दिनदेखि हराएका पंकज गिरीले चढेर हिँडेको थाहा भएपछि कंकाल पनि उनैको हुनुपर्ने लख प्रहरीले काटिहाल्यो । उनका आफन्तलाई डाकेर सोध्दा कपडाका आधारमा उनीहरुले पंकजकै कंकाल भएको ठहर्‍याए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी राजेन्द्रप्रसाद अधिकारीका अनुसार कपडा उस्तै रहे पनि त्यसभित्र हाडखोरमात्रै थियो । ‘मासु बाँकी नरहेको तर दुई खुट्टा नछुट्टिएको र एउटा खुट्टामा जुत्ता रहेको भेटियो,’ उनले भने, ‘ज्याकेट, ट्र्याक र जुत्ताका आधारमा आफन्तले पहिचान गर्नुभयो ।’

Advertisement

उक्त कंकाल स्याङ्जा जान्छु भनेर हिँडेदेखि हराएका १९ वर्षे पंकज गिरीकै भएको आफन्तले ठहर्‍याएका हुन् । पोस्टमार्टम गरी दाहसंस्कार गर्न आफन्तले मृत शरीर बुझिपाऊँ भनी प्रहरीमा निवेदन गरेका थिए । ‘भोलि डिएनए परीक्षण गर्नुपर्ने भए चाहिने कुरा त डक्टरले राखिहाल्नुहुन्छ,’ डिएसपी अधिकारीले भने ।

चापाकोट नगरपालिका–५ सेखाम घर भई पोखराको पस्र्याङ बसेर जनप्रिय क्याम्पसको प्लसटुमा पढ्दै आएका पंकज १८ असारदेखि हराएका थिए । भाडामा बुलेट बाइक लिएका उनले उक्त दिन साथीभाइसँग स्याङ्जा जान्छु भनेर हिँडेको र पछि सम्पर्कविहीन भएको डिएसपी अधिकारीले जानकारी दिए ।

भालुपहाडको सडकबाट उनी गुड्दा गुड्दै भिरमा खसेका हुन् या अरुले खसाएको हो भन्ने अनुसन्धान सुरु गरेको डिएसपी अधिकारीले बताए । तर प्रारम्भिक अनुमानचाहिँ उनी आफैं हुनुपर्ने प्रहरीले गरेको छ ।

हेलमेट तल खोलासम्मै पुगेको, मोटरसाइकल र मान्छे पनि सडकमुनि नै खसेको हुँदा आफैं दुर्घटनामा परेको पनि हुनसक्ने अनुमान प्रहरीले गरेको हो । तर खोलामा भेटिएको मोटरसाइकलको नम्बर प्लेट पहिचान गर्न गाह्रो हुने अवस्थामा भेटिनु र च्यासिस नम्बर पनि कोरिएको हुँदा शंकाका आधार पनि रहेको स्थानीयले बताएका छन् । मोबाइल, वालेट र झोला पनि नभेटिएको हुँदा पनि स्थानीयले अरु आशंका गरेका हुन् । मोटरसाइकल ४ सय मिटर तलै खोलैमा पुगेको भए पनि पंकजको हाडखोर खोलाभन्दा ३० मिटर माथि गिँदरीको रुखमा भेटिएको हो ।

ना ४०प ३७२० नम्बरको हरियो बुलेट बाइक पंकजले भाडामा लिएका थिए । त्यसको भाडा केही तिरिसकेको र केही तिर्न बाँकी रहेको डिएसपी अधिकारीले सुनाए । १८ गतेदेखि नै सम्पर्कविहीन भएपछि आफन्त सरोज गिरीले पंकजको खोजीका लागि कास्की र स्याङ्जा दुवैतिरका प्रहरी कार्यालयमा असार २९ गते निवेदन दिएका थिए ।

‘१८ गतेसम्म साथीभाइको सम्पर्कमा पनि रहेको देखिन्छ, त्यसपछि कतिपयले स्याङ्जातिर देखेको हल्ला गरे पनि देख्नेभेट्नेहरु पाइएको छैन,’ डिएसपी अधिकारीले भने ।

पंकज भाडाको मोटरसाइकल लिएर र केही भाडा तिर्न बाँकी राखेर सम्पर्कविहीन हुँदा पोखरा मोटरसाइकल रेन्ट हाउसका तर्फबाट आविष्कार सञ्चालकले समेत प्रहरीमा निवेदन गरेका थिए । बागलुङ जाने भन्दै आफूसँगै पढेका साथी सुजन कुँवरको नामबाट २०७६ चैत ८ गते लेकसाइडस्थित पोखरा मोटरसाइकल रेन्ट हाउसबाट पंकजले बाइक लिएका थिए । ना४०प ३७२० नम्बरको हरियो रङको बुलेट बाइक लिएर बागलुङ पुगी त्यसै दिन उनी फर्किएको सुजन बताउँछन् ।

पंकजका आमाबाबा भने दिल्लीमा बस्दै आएका छन् । छोरा हराएपछि खोजी गर्न बाबु जीवन गिरी नेपाल आए । सोमबार कंकाल भेटिएको ठाउँमा पनि उनी पुगेका थिए ।

तपाईको प्रतिक्रिया