साताव्यापी रक्तदानकाे चाैथाे दिन २० युनिट संकलन

समाधान संवाददाता २०७७ भदौ ११ गते १५:१६

समाधान संवाददाता
पोखरा

पोखरामा रगतको चरम अभाव भएपछि लायन्स क्लब अफ पोखरा भद्रकालीले थालेको साताव्यापी कार्यक्रम अन्तर्गत चौथो दिन बिहीबार नदीपुरमा रक्तदान भएको छ ।

पोखरा महानगर वडा नम्बर ३ परिसरमा भएको कार्यक्रममा २० युनिट रगत संकलन भएको अध्यक्ष संयुक्त धाख्वाले जानकारी दिए । वडाध्यक्ष रवीन्द्रबहादुर प्रजुले जयचन्द्र ठाकुर र भास्कर पौडेललाई रक्त किट हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरे ।

Advertisement

उक्त अवसरमा धर्मशीला बौद्धविहारका भिक्षु कपिल कार्कीले समेत रगत दान गरेका थिए । क्लब सचिव धनेन्द्र गुरुङका अनुसार रविबहादुर विक, जयचन्द ठाकुर, विजयकुमार थारु, भाष्कर पौडेल, भूपेन्द्र श्रेष्ठ, दिनेश उदास, रोजा थापा, देवराज सुनार, बुद्धमान शाक्यले उक्त अवसरमा रक्तदान गरे ।

यसैगरी अनिश शाक्य, सरीता तामाङ, रोजिना ताम्राकार, भाष्करध्वज श्रेष्ठ, जमुना नेपाली, अशोक स्थापित, किरण उदास, ईश्वर सेवा, राजन श्रेष्ठ गरी २० जनाले रक्तदान गरेको उनले बताए ।

Advertisement

चोकमा आकस्मिक रुपमा गरिएको कार्यक्रममा भिन्तुना युवा क्लबका अध्यक्ष्य राजन श्रेष्ठ, स्थानीय मनोज चौधरी, गायक भाष्करध्वज श्रेष्ठ लगायतले सहयोग गरेका थिए ।

भद्रकाली लायन्सले गरेको कार्यक्रमको पहिलो दिन भद्रकाली चोकमा भएको कार्यक्रममा २५ युनिट रगत संकलन भएको थियो । दोस्रो दिन ग्रिन डेभलपमेन्ट सँगको सहकार्यमा सभागृह चोकमा १३ युनिट, तेस्रो दिन समाधान दैनिकको सहकार्यक्रममा नयाँबजारमा २४ युनिट रगत संकलन भएको क्लबका पूर्व अध्यक्ष भरत कोइरालाले बताए । पाँचौं दिन शुक्रबार बाटुलेचौरस्थित नागरिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडसँगको सहकार्यक्रममा क्लबले रक्तदान कार्यक्रम राखेको छ ।

लायन्स इन्टरनेसल डिस्ट्रिक्ट ३२५ बी १ का ब्लड डोनेसन डिपार्टमेन्ट चिफ बालकृष्ण शर्माले भद्रकालीले अभियान थालेपछि अहिले पोखरामा रक्तदानको लहर नै चलेको बताए । नियमित रुपमा राखिएका कार्यक्रम कास्की जिल्लामा निषेधाज्ञा जारी भएका कारण रोकिएपछि पोखरामा रगतको अभाव भएको थियो ।

अझै पनि एबी पोजेटिभ समूहको रगत अभाव भएको क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले बताए । रगतको अभाव पूर्ति गर्न आफूहरुले एम्बुलेन्स लिएर घरघरमै रगत संकलन गरिएको उनले बताए ।
रगत अभाव हुँदा अस्पतालमा नियमति शल्यक्रिया र डायलासिस समेत प्रभावित भएको छ । अब भने रक्तदानको लहर चलेको र निषेधाज्ञा पनि भदौ १२ गतेबाट सकिने भएकाले अब भने रगत अभाव नहुने विश्वास केन्द्र प्रमुख ज्ञवालीले गरे ।

तपाईको प्रतिक्रिया