अनलाइन शिक्षाः अवसर कि चुनौती

समाधान संवाददाता २०७७ भदौ १७ गते १०:१९

उमेश रेग्मी

नेपाल सरकार शिक्षा तथा प्रविधि मन्त्रालयले हालसम्म आइपुग्दा विद्यालय सञ्चालन हुन्छ या हुँदैन भनेर निर्णय दिन सकेको छैन । जसले गर्दा अभिभावकहरू पनि यस वर्ष विद्यालय सञ्चालन हुने या नहुने भन्नेमा दुविधामा छन् । त्यसै हुनाले कतिपय अभिभावकले विद्यार्थीलाई पुस्तक किनिदिएका छैनन् भने शुल्क तिरिएला तर विद्यालय सञ्चालन भएन भने पैसा खेर जाने छ भन्ने दुविधा मनमा पालेर बसेका छन् ।

सरकारले न त शैक्षिक सत्र खेर जाँदैन भनेर विश्वास दिलाउन नै सकेको छ न त शैक्षिक वर्ष नै खारेज हुन्छ भन्न सकेको छ । अब ढिला गर्नु हुँदैन शिक्षा मन्त्रालयले पनि । यही अवस्थामा निर्धारित पाठ्यक्रम समाप्त गर्न कुनै हालतमा पनि नसकिने अवस्था आएको छ ।

Advertisement

नेपालमा मात्र नभएर आज संसारका सारा देशहरू कोरोनाको कहरसँग जुध्दै छन् । नेपाल पनि यसबाट अछुतो रहन सकेन । नेपालमा दिन प्रतिदिन कोरोनका बिरामी र बिरामीको संख्या बढ्दै गएका छन् । यो समस्या अझै कहिलेसम्म रहने र अन्त्य कहिले हुने निश्चित छैन ।

कोरोनाको यस महामारीसँगै सम्पूर्ण क्षेत्र तहसनहस भएको छ । नेपालमा पनि गत वर्षको चैत्रदेखि घोषित तथा अघोषित रुपमा लकडाउन गरिएको छ । समयमा लकडाउन गरिँदा संक्रमण सुरु सुरुमा बढेन भने पछि लापरवाही गरिँदा दिनानुुदिन संक्रमितको संख्या बढेको बढ्यै छ भने मृत्युदर पनि दिनानुदिन बढ्दै गएको छ ।

Advertisement

मैले आज यहाँ उठाउन चाहेको विषय शिक्षा हो । शैक्षिक वर्ष समाप्त हुन पाउँदै नेपालमा पनि लकडाउन गरियो । कतिपय ठाउँमा परीक्षा समेत हुन सकेन भने कतिपयले नतिजा प्रकाशन गर्न समेत सकेनन् । नयाँ शैक्षिक वर्षको पनि आधाआधि समय समाप्त भै सक्न लाग्यो तर शिक्षा के हुने भन्ने अन्योल कायमै छ । केही दिन अघि नेपाल सरकारले वैकल्पिक शिक्षालाई शैक्षिक बर्षको मान्यता दिने निर्णय पनि गरि सक्यो ।

हाल देशभर ३५ हजारभन्दा बढी शिक्षालय बन्द छन् भने त्यहाँ अध्ययनरत करिब ८१ लाख भन्दा बढी बालबालिका विद्यालय जानबाट बञ्चित छन् । उनीहरू हाल आएर तनावको अवस्था झेल्न बाध्य छन् स्कुलमा पढाइ हुन्छ या हुँदैन भनेर ।

सरकार र निजी विद्यालय सञ्चालकबीचको लामो रस्साकस्सीपछि सरकारले अब बैकल्पिक सिकाइलाई निरन्तरता दिनका लागि अनुमति प्रदान गरेको छ । अब नेपालमा पनि बैकल्पिक सिकाइका लागि रेडियो, टेलिभिजन तथा अनलाइन शिक्षाको माध्यम प्रयोग गर्न थालिएको छ । यसलाई अवसर या चुनौती के को रुपमा ग्रहण गर्ने भन्ने विषयमा भने आगामी दिनले बताउने नै छ ।

हामी यस्तो अवस्थामा अइपुगेका छौँ कि अब पढाइको समय अवधिका हिसाबले ५ महिना पुरा गरिसकेका छौँ भने अब चाडपर्वका कारण पनि अर्को एक महिना बन्द हुने निश्चित छ । वैकल्पिक माध्यमका रुपमा धेरैले अनलाइन कक्षालाई नै माध्यम बनाएका छन् ।

अवसरको रुपमा अनलाइन कक्षा
वैकल्पिक शिक्षाका रुपमा आएको अनलाइन कक्षालाई नै अब आधिकारिकता प्रदान गरेको अवस्थामा यसलाई अवसरको रुपमा लिनु पर्ने एकाथरीको भनाई छ । उनीहरू यसले गर्दा शिक्षक तथा विद्यार्थी नयाँ नयाँ प्रविधिको बारेमा ज्ञान प्राप्त हुने विचार व्यक्त गर्छन् । स्वदेशमा बसेर विदेशका कोर्सहरू पढ्न सक्छन् । केही नहुनु भन्दा त अनलाइन क्लास हुनु नै पर्छ भन्ने भनाइ पनि पाइन्छ ।

लकडाउनको समयमा सबै विद्यार्थी घरभित्र नै बस्नुपर्ने भएकाले अनि भौतिक रुपमा उपस्थित भएर पढाइ सम्भव नहुने हुँदा अनलाइन शिक्षा अवसरकै रुपमा बुझ्छन् कतिपय । यस्तो बुझाइ हुनेहरुमध्येकी एक हुन् सैनिक आवासीय मावि पोखराकी शिक्षिका सविना न्यौपाने । आफूले अनलाइन पढाउँदा बच्चाले बुझ्न तथा आफैंको पनि क्षमता वृद्धि विकास भएको उहाँ बताउनु हुन्छ । विद्यार्थीले मन लगाएर पढ्ने हो भने उनीहरूका लगि यो अवसर पनि हो ।

विद्यार्थी विद्यालयमा उपस्थित हुन नसक्ने कारण पनि यो पद्दति आफैंमा अवसर हो भन्नेहरू पनि छन् । समता कलेज काठमाडौंका प्रमुख अजय अधिकारी सुशिलको विचारमा यो अवसर नै हो तर यसका लागि उमेरगत समुहका विद्यार्थी पहिचान, विद्यार्थीको पढाइप्रतिको रुचि कति छ भन्ने कुरामा भर पर्छ भन्नुहुन्छ ।

समता शिक्षा निकेतन पोखरा कक्षा दसमा अध्ययनरत अम्बिका पनेरु आफूले विद्यालय जान नपाए पनि घरमा नै बसेर मजाले सरहरूसँग नजानेको सोधीसोधी पढ्न पाएकोमा अवसरको रुपमा प्राप्त गरेको बताउनु हुन्छ । हामी पढ्ने विद्यार्थीले नठग्ने र इमान्दारी देखाएर पढ्ने हो भने यो गज्जबैको अवसर भएको बताउनुहुन्छ ।

पश्चिमाञ्चल मावि कक्षा ४ मा अध्ययनरत सौरभी रेग्मी पनि अनलाइन कक्षामा आफ्ना शिक्षक तथा साथीहरूलाई देखिने र भटिने हुनाले रमाइलो भएका अनुभव सुनाउनु हुन्छ । सञ्चारकर्मी तथा नेपाली पत्रकारिताका अध्यापक सन्तोष पोखरेल पनि ‘यसलाई अवसरको रुपमा लिनुहुन्छ’ । ‘यसले एकातिर नयाँ प्रविधि विद्यार्थी शिक्षक तथा अभिभावकलाई सिकाएको छ भने पाठ्यक्रम पूरा गर्नका लागि पनि यसले मद्दत गर्ने छ । शिक्षकलाई तालिम दिइ दक्ष बनाएर विद्यार्थी तथा अभिभावकलाई यसमा जोड्न सके यो अवसर नै हो भन्नु हुन्छ समता शिक्षा निकेतन पोखराका प्रअ झलकप्रसाद शर्मा ।

चुनौतीको रुपमा अनलाइन शिक्षा
जहाँ अवसर हुन्छ त्यहाँ पक्कै चुनौती हुन्छ । अवसर सँगसँगै चुनौती पनि आउँछ । हामी भर्खर यसको प्रयोगमा आएकाले हाम्रा लागि अवसरभन्दा धेरै चुनौतीको रुपमा छ । अनलाइन कक्षा चलाउनु आफैंमा चुनौती हो । हाम्रो जस्तो देशमा जहाँ इन्टरनेटको पहुँच पुग्न सकेको छैन । अनलाइन कक्षाको लागि यो नै हाम्रो प्रमुख चुनौति हो ।
एकातिर महँगो इन्टरनेट शुल्क र कम क्षमता भएका इन्टरनेट हामीकहाँ छन् । सुविधा सहर केन्द्रित भएका छन् । सहरमा बसोबास गर्नेको पहुचमा पनि यसको सुविधा सकेको छैन । एकातिर जडान शुल्क कम्तिमा पनि १८ देखि २० हजार तथा मासिक शुल्क पनि १५ सय भन्दा बढी रहेकाले सामान्य मानिसको पहुचमा पुग्न सकेको छैन भने नेपाल टेलिकमबाट उपलब्ध हुने एडिएस एल प्रविधि पनि सुस्त गतिमा चल्छन् ।
नेपालमा इन्टरनेट प्रयोगकर्ता नेपाल दुरसंचार प्रधिकरणको रिपोट अनुसार करिव २ करोड भएको तथ्याङ्क छ तर यो सुविधा धेरै सहर केन्द्रित छ । गाउँ गाउँको अवस्था अत्यन्त नै दयनीय छ । गाउँमा बसोबास गर्ने मानिसले एक मिनेट कुरा गर्न तीनपटक कुराकानी गर्नु पर्छ । सबैभन्दा ठूलो र प्रमुख समस्या इन्टरनेटको रहेको छ ।
आफै बुझ्ने बच्चाका लागि त सहज होला नत्र हाम्रो गा्रमीण क्षेत्रमा बसोबास गर्ने मानिसको लागि त आकासको फल आँखा तरि मर भने जस्तै हो । दुर्गममा रहेका विद्यार्थीलाई यो सुविधा पु¥याउनु अर्को समस्याको रुपमा छ ।
अनलाइन शिक्षाले दुईखाले विद्यार्थीको जन्म गराउँछ । एउटा वर्ग हुने खाने जो सबै सुविधा सम्पन्न भएको भने अर्को आधारभूत आवश्यकताबाट पनि टाढा रहेको व्यक्ति जो सधै गास, बास, कपासको नै समस्या समाधान गर्नका लागि संघर्ष गरिरहेका छन् ।
अनलाइन कक्षा सञ्चालन गर्दा गर्दै बत्ती जाने तथा नेटवर्क कमजोर भएका कारण पढाएको बुझ्न समस्या रहेको, अनलाइनम कक्षामा अध्ययनरत विद्यार्थीहरू बताउँछन् । उनीहरूको गुनासो प्रत्यक्ष पढेको भन्दा केही फरक तथा जम्मा ४० मिनेटमात्र हुने हुनाले कतिपय अवस्थामा सम्पर्क हुँदा नहुँदै समय समाप्त हुने गरेको विद्यार्थी बताउँछन् ।


एकाथरि अभिभावकको गुनासो विद्यालयले पैसा असुल उपर गर्नका लागि अनलाइन क्लास सुरु गरेको कुरा पनि बताउँछन् । दिनमा २,३ वटा क्लास हुने अनि फि पुरै तिर्नु पर्ने तथा साना साना बालबालिकाको लागि यो सिक्ने भन्दा पनि रमाइलो गर्ने माध्यम भएको छ । विद्यालयमा पठाउँदा साना बालबालिका जति सिक्थे त्यति सिक्न सक्दैनन् किनभने उनीहरू कतिपयलाई त हात समातेर लेख्न समेत सिकाउनु पर्ने हुनाले र मोबाइलमा ज्ञान नभएकाले अभिभावकसँगै बस्नु पर्ने समस्या रहेका छन् ।

अनलाइन कक्षामा प्राक्टिकल गर्न समस्या रहन्छ । विद्यार्थीले आफ्नो प्राक्टिकल गर्न सक्दैनन् । गृहकार्य बुझाउन तथा जाँच गर्न पनि समस्या रहेको छ । शिक्षकहरूले पनि आफ्नो मोबाइलबाट चलाउनु पर्ने हुँदा चाडै मोबाइल बिग्रने समस्या आउने बताउँछन् ।

अनलाइन कक्षाको नाममा विद्यार्थीहरूलाई मोबाइल तथा ल्यापटपको लत लाग्न सक्ने समस्या पनि त्यतिकै छ । यस्तो लत लागेमा यसलाई छुटाउन मुस्किल पर्ने छ । लत छुटाउनका लागि अभिभावकलाई ठूलै रस्साकस्सी हुनेछ ।

तपाईको प्रतिक्रिया