धर्नामा सौन्दर्य व्यवसायी

समाधान संवाददाता २०७७ असोज ८ गते १२:५४

समाधान संवाददाता, पोखरा

पोखरामा रहेका सौन्दर्य व्यवसायीले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा धर्ना दिएका छन् ।

कोरोना महामारीका कारण सौन्दर्य व्यवसाय, ब्युटिपार्लर तथा सैलुन सेवा ६ महिनादेखि पूर्णरुपमा बन्द छन् ।

Advertisement

व्यवसाय ठप्प हुँदा रोजीरोजीमै समस्या परेको भन्दै उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

ब्युटिपार्लर एसोसिएसन कास्कीको अगुवाइमा शान्तिपूर्ण धर्नासहित प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई ७ बुँदे मागसहित ज्ञापनपत्र बुझाइएको ब्युटिपार्लर एसोसिएसन पोखराकी सचिव वविता केसी कार्कीले जानकारी दिइन् ।

Advertisement

घरको कामबाट फुर्सद निकालेर व्यवसाय सञ्चालन गरी घरपरिवार धान्दै आइरहे पनि अहिले बन्द रहेका बेला बैंक र घरधनीले किस्ता र भाडा माग्ने क्रम नरोक्दा झन् समस्यामा परेको उनीहरुको भनाइ थियो । कतै फाट्टफुट्ट खुलेका ब्युटिपार्लर र सैलुन सञ्चालकमाथि सुरक्षाकर्मीले दुव्र्यवहार गरेको भन्दै उनीहरुले गुनासो समेत गरेका छन् ।

कोरोनाको महामारी पहिलेदेखिनै आफूहरुले सुरक्षित रुपमा व्यवसाय सञ्चालन गर्दै आइरहेको र अहिले स्वास्थ्य संगठनको मापदण्ड अनुसार सञ्चालन गर्न तयार रहँदा पनि प्रहरी प्रशासनले निकै दुख दिने गरेको ज्ञापनपत्रमा उल्ल्ेख छ ।

व्यवसायीहरुले कोभिड १९ को मापदण्ड अनुसार सञ्चालन गर्ने गरी तत्काल व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने, बैंक वित्तीय संस्थाको ब्याजमा सहुलियतको लागि सिफारिस र लकडाउन अवधिको ब्याज मिनाहा र पूर्णरुपमा खुल्ला नहुन्जेल किस्तामा सहुलियत पाउनुपर्ने माग गरेका छन् ।

लकडाउनका बेला व्यवसाय सञ्चालन हुन नसकेर सौन्दर्य सामग्रीको मिति कटेको हुँदा पुन सञ्चालनमा बाधा परेको र त्यसका लागि राहत पाउनुपर्ने पनि माग उनीहरुले गरेका छन् ।

स्थानीय तह तथा अन्य सरकारी निकायबाट लिइने वार्षिक कर तथा राजश्व एक वर्षका लागि छुट गराइनुपर्ने र बैंकबाट ऋण लिई सानो व्यवसाय सञ्चालन गरेकाहरुलाई घटीमा ६ महिनाको किस्ता तिर्ने गरी ब्याजमा छुटको व्यवस्था गराइनुपर्ने माग व्यवसायीले राखेका छन् ।

सौन्दर्यकर्मी एवं उद्योग वाणिज्य संघका उपमहासचिव चिनु गुरुङको नेतृत्वमा ब्युटिपार्लर एसोसिएसन कास्की, नेपाल ब्युटिसियन संघ गण्डकी प्रदेश, नेपाल युथ सैलुन एसोसिएसन कास्की र नेपाल नाइँ संघ गण्डकी प्रदेश र कास्कीका प्रतिनिधि धर्नामा सहभागी थिए ।

७ प्रदेशमै ज्ञापन
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालले देशका ७ वटै प्रदेशको प्रतिनिधित्व हुने गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयसहित स्थानीय निकायमा ज्ञापनपत्र बुझाएको छ ।

युनियन अध्यक्ष सुमन गुरुङले लामो समयसम्म लकडाउन तथा बन्दाबन्दीसँगै सौन्दर्यक्षेत्रमा कार्यरत् स्वरोजगार श्रमिकहरु ठूलो मारमा परेको भन्दै ब्युटीपार्लर खोलेर सेवा सञ्चालनको अनुमति दिनुपर्ने भन्दै ज्ञापनपत्र बुझाइएको जानकारी दिइन् ।

युनियन संस्थापक अध्यक्ष एवं गण्डकी प्रदेश सांसद मीना गुरुङले कोरोनाले हातमा सीप बोकेका सयौं महिला दिदीबहिनीहरुको रोजीरोटी गुम्केको भन्दै यही पेसामै टिकाइराख्न र विस्थापित हुन नदिन सरकारले विशेष सम्बोधन गरिनुपर्ने बताइन् ।

युनियन महासचिव पवी गुरुङले कोरोनाविरुद्ध आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर आफूहरुले पनि सेवा सञ्चालन गर्न पाउनुपर्नेमा जोड दिइन् ।

युनियनले कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई बुधबार ज्ञापनपत्र बुझायो ।

प्रजिअ ढकाललाई युनियन गण्डकी प्रदेशतर्फबाट अध्यक्ष नूर गुरुङ र मेयर जिसीलाई युनियन पोखरा महानगरपालिका कमिटी अध्यक्ष गंगादेवी गुरुङ पुनले ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा युनियन अध्यक्ष सुमन गुरुङ, महासचिव पवी गुरुङ, प्रदेश इञ्चार्ज संगीता पाण्डे, प्रदेश उपाध्यक्ष मोहनकुमारी राई, सचिव लक्ष्मी पौडेल, महानगर कमिटी सचिव चन्द्रा ठकुरी, सदस्य लेखुमाया राना लगायत उपस्थित थिए ।

युनियनअन्तर्गत देशभर करिब ५ हजार र पोखरा महानगरभित्र करिब ४ सय जना सौन्दर्यकर्मी आवद्ध छन् ।

कोरोना भाइरस संक्रमण जोखिमका कारण गत ११ देखि सरकारले अन्य सेवा सञ्चालन छुट दिए पनि ब्युटीपार्लर बन्द गर्दैआएको छ ।

तपाईको प्रतिक्रिया