असोज १५ अघि मुस्ताङमा स्याउ टिप्न रोक

समाधान संवाददाता २०७७ असोज ९ गते ९:०६

एसके थकाली, जोमसोम

बोटमा नपाक्दै टिप्ने क्रम बढेपछि असोज १५ अघि मुस्ताङमा स्याउ टिप्न रोक लगाइएको छ । पोखरा—काठमाडौं लगायतका स्थानबाट यसवर्ष बजार पुगेको स्याउमा गुणस्तर खस्किएको उपभोक्ताबाट जिल्लामा गुनासो आएपछि मुस्ताङको स्याउ असोज १५ अघि टिप्न प्रतिबन्ध लगाइएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मुस्ताङ तथा स्याउ जोन सञ्चालक समिति मुस्ताङको संयुक्त बैठकले यसप्रकारको निर्णय गरेको जनाइएको छ ।

Advertisement

परियोजना इकाई तथा जोन समितिको गत भदौ ३१ गते बसेको बैठकले मुस्ताङको स्याउको स्वाद र गुणस्तरको कारण प्रख्याती कमाएकोमा पछिल्ला वर्षहरुमा मुस्ताङको स्याउको गुणस्तर खस्किएको जनाएको छ ।

स्याउधनी र व्यापारीले यहाँको स्याउ पूर्ण विकसित नहुँदै बगैचाबाटै खरिद ÷बिक्री गर्ने परिपाटीले स्याउको गुणस्तर खस्किएको हो । व्यावसायिक मुनाफाका कारण स्याउ नपाक्दै बजार पु-याउने गर्नाले मुस्ताङको यसअघिको ब्रान्ड माथि नकारात्मक सन्देश प्रवाह हुन थालेको परियोजना तथा स्याउ जोन समितिको ठहर छ ।

Advertisement

समुद्री सतहदेखि करिब २५ सय मिटरमाथिको चिसो हावापानीमा उत्पादन भएको मुस्ताङको स्याउमा पूर्णरुपमा फलको स्वाद, गुणस्तर र स्याउको आकार ग्रहण नगर्दै बजार पू-याउने परिपाटीले मुस्ताङी स्याउमा बजारका उपभोत्ताको गुनासो बढेको स्याउ जोन सञ्चालक समिति अध्यक्ष जयन्द्रलाल थकालीले बताए ।

पोखरा, काठमाडौंका उपभोक्ताले मुस्ताङका जनप्रतिनिधि लगायत विभिन्न सरोकारवाला निकायलाई फोन मार्फत स्याउको गुणस्तर खस्किएको गुनासो गरेपछि यसैवर्ष देखि स्याउ टिप्ने मिति तोकिएको अध्यक्ष थकालीले उल्लेख गरे ।

उनका अनुसार यसै वर्षदेखि असोज १५ अगावै कुनै पनि स्याउ बगैंचा धनी र व्यापारीले स्याउ टिप्न नपाउने व्यवस्था गरेको हो । यसका लागि इकाई तथा जोन समितिले जिल्लाका स्थानीय तह, जनप्रतिनिधि, प्रशासन, प्रहरी लगायत सबै सरोकारवाला निकायलाई निर्णय कार्यान्वयनका लागि अनुरोध गरेको छ ।

परियोजना कार्यान्वयन इकाई कार्यालयका प्रमुख सुधिर थापाले स्याउ खरिद गर्ने व्यापारीहरुको व्यक्तिगत फाइदाका कारण स्याउ नपाक्दै बजार पु¥याउने चलनले गर्दा मुस्ताङको स्याउको पहिचान हराउने थालेको उल्लेख गरे ।

उनले भने, ‘हामीले बगैंचा धनी, व्यापारी लगायत सबैलाई स्याउको गुणस्तर नभरिदै स्याउ नटिप्न आग्रह गरेका छौं । असोज १५ पछिमात्र यहाँको स्याउमा स्वादिलो, खदिलो र गुणस्तर पलाउँछ ।’

यसअघि जिल्ला कोभिड—१९ संकट व्यवस्थापन समितिको बैठकले मुस्ताङमा स्याउ खरिद गर्न आउने व्यापारीलाई बगैचा धनीको अनुरोधमा स्थानीयतहको सिफारिसपछि मात्र जिल्ला प्रवेशको अनुमति दिएको थियो । स्याउ खरिद्न आएका व्यापारीले १४ दिन क्वारिन्टिनमा पूरा गरेर बगैचामा स्याउ टिप्ने अनुमति दिएको थियो ।

बेनी—जोमसोम अवरुद्ध सडक खुलेको अवस्थामा मुस्ताङमा २ दर्जन स्याउ व्यापारी आएको प्रशासनले जनाएको थियो । यसवर्ष पनि स्याउ पाक्ने सिजन सुरु नहुँदै करिब २० प्रतिशत स्याउ बजार पुगेको परियोजना इकाईको अनुमान छ ।

मुस्ताङमा बर्सेनि हरितालिका तीजलाई लक्ष्य गर्दै स्याउ व्यापारी मुस्ताङ आउने गर्छन् । स्याउ धनीसँग बगैचाको पेस्की दिने र स्याउ बजार पु-याउने गर्नाले मुस्ताङको स्याउमा गुणस्तर खस्किएको हो ।

मुस्ताङमा १२ सय हेक्टरमा स्याउ खेती विस्तार भएको छ । जसमा ५ सय हेक्टरमा लगाएको स्याउ बोटले फल दिने गरेको छ । परियोजना इकाईको वार्षिक प्रतिवेदनमा गतवर्ष मुस्ताङमा ६५ सय मेट्रिक टन स्याउ फलेको थियो ।

यसवर्ष मौसमी आद्रताका कारण स्याउमा बिमिरा आकारको स्क्याप रोग देखिएकाले गतवर्षको तुलनामा उत्पादन घट्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया