सुन्दरता जोगाउन मार्फामा विद्युतीय तार अन्डरग्राउन्ड

समाधान संवाददाता २०७७ असोज १७ गते ८:५५

एसके थकाली, जोमसोम

कवयत्री वसन्ती लालचनले डेढ दशक अगाडि ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा’ बोलको गीतको रचना गरेकी थिइन् । मार्फा गाउँलाई स्याउ बगैंचासँग जोडेर सांगीतिक लयमा प्रस्तुत गरिएको उक्त गीतले निकै प्रख्याति कमायो ।

मुस्ताङको स्याउ उत्पादनले सबैभन्दा लोकप्रिय गाउँका रुपमा मार्फा अग्रस्थानमा छ । स्याउ बगैंचा र मार्फाबीचको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्ध जोड्ने काममा ‘क्या राम्रो स्याउबारी मार्फा गावैंमा’ बोलको गीतले गर्‍यो । गीतले मार्फा प्रतिको क्रेज बढाइदियो ।

Advertisement

गीत सुनेका सबै मुस्ताङ आउँदा मार्फाको सुन्दरता र त्यहाँको सबैपक्षलाई नजिकबाट नियाल्न थाले ।

आन्तरिक तथा बाह्य पर्यटकको आर्कषक केन्द्रबिन्दु बनेको मार्फाको मुख्य आम्दानी श्रोत कृषि र पर्यटननै हो । मुस्ताङका ९६ गाउँ बस्ती मध्ये ऐतिहासिक, धार्मिक र सांस्कृतिक हिसाबले मार्फाको सभ्यता पृथक छ ।

Advertisement

मार्फाली समुदायको मुल बस्ती मार्फाको मुख्य विशेषता भनेकै सांस्कृतिक रुपमा सिंगारिएका एकआपसमा गुजुमुच्च जोडिएका सख्खर माटोले बनेका ऐतिहासिक घर नै हुन् ।

सख्खर माटोले सजाईएका सांस्कृतिक घरको छतमाथि लस्करै सजाइएका दाउराले पर्यटक नलोभ्याउने त कुरै भएन । यसका अलावा पुराना गुम्बा, छोर्तेन र पहाडमा कुदिएका कलात्मक वस्तुले मार्फा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको मन लोभ्याउने गरेको छ । यहाँ अधिकाश थकाली र केही दलित समुदायको बस्ती छ ।

मार्फामा १२ पर्यटक लक्षित होटल छन् । मार्फालीले स्याउ बिक्री गरी बर्सेनि लाखौं रुपैयाँ आम्दानी गर्छन् । पर्यटन व्यवसायबाट राम्रो आम्दानी लिएका छन् ।

अन्नपूर्ण पदमार्ग हुँदै मुस्ताङ आउने पर्यटक होस वा हिमाल आरोहरण गर्न आउने पर्वतारोही होस्, अधिकांश पर्यटक १/२ रात मार्फामै बिताउने गर्छन् । यसका अलावा मुक्तिनाथ र लोमान्थाङ पुग्ने पर्यटक पनि मार्फा घुम्न छुटाउँदैनन् ।

काठमाडौंको ठमेल र पोखराको लेकसाइडको दुरुस्तै झल्को दिलाउने मार्फा पुग्ने पर्यटक त्यहाँको स्याउ बारी तथा सांस्कृतिक सम्पदा नियालेर मख्ख पर्छन् । पछिल्लो समय स्वदेशी तथा विदेशी चलचित्रको छायांकनस्थल समेत बनेको छ मार्फा ।

पछिल्लो समय मार्फाको सौन्र्दयीकरणका लागि स्थानीय समुदाय कस्सिएर लागेका छन् ।

समुदायको मागलाई मध्ययनजर गर्दै प्रतिनिधि सभाका सदस्य प्रेमप्रसाद तुलाचनले मार्फाको सौन्दर्यता बढाउन तथा विद्युत प्रवाहको जोखिम न्यूनीकरण गर्न छरपस्ट विद्युत तार अन्डरग्राउन्ड गर्ने योजना अगाडि सारेका छन् ।

उनले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्र्तगत गतवर्ष २५ लाख बजेट विनियोजन गरेका छन् ।

त्यस योजनामा घरपझोङ गाउँपालिकाले १५ लाख थपेको छ । पुरानो मार्फाको बस्ती भित्रमा करिब ६ सय मिटर मुख्य विद्युत लाइन र करिब ४ हजार ५ सय मिटर शाखा लाइन भूमिगत व्यवस्थापनका लागि काम भइरहेको गाउँपालिकाका इन्जिनियर सकलदेव शर्माले जानकारी दिए ।

उनका अनुसार सुरुमा साझेदारी कार्यक्रमको बजेटले काम अगाडि बढाइएको हो ।

बुटवलको ओसिन पावर सर्भिसले तार अन्डरग्राउन्ड गर्ने जिम्मा लिएको छ । ९० लाखको लागत स्टमेट रहेको उक्त योजना सम्पन्न गर्न थप ५० लाख बजेटको आवश्यकता पर्ने इन्जिनियर शर्माको भनाइ छ । साझेदारी र पालिकाबाट विनियोजित भएको बजेटको आधा काम दसैँ अगावै सकिने उनले बताए ।

यसअघि मार्फामा विद्युत तार व्यवस्थित गर्न गाउँले आफैले डिपिआर तयार गरी पालिकामा योजना माग गरेको स्थानीय दीपक लालचनले बताए ।

गत वर्षको विनियोजनले आधा मात्र काम हुने भएकाले चालु वर्षको काम पालिकाले १० लाख बजेट विनियोजन गरेको र थप ४० लाख बजेट मार्ग जुटाउनुपर्ने लालचनले जानकारी दिए ।

प्रतिनिधिसभाका सदस्य तुलाचनले नमुना गाउँको सुन्दरतालाई जस्ताको तस्तै संरक्षण गर्नका लागि विद्युत तार अन्डरग्राउन्ड कार्यले योगदान पु¥याउने बताए । विद्युत तार अण्डरग्राउण्ड गर्ने कामले गाउँ भित्रको सम्भावित जोखिम न्यूनीकरण गर्ने उनले तुलाचनले स्पष्ट पारे ।

लोमान्थाङ गाउँपालिका—५ लोमान्थाङ पनि वडा स्तरीय बजेट मार्फत विद्युत तार अन्डरग्राउन्ड कार्य सम्पन्न भएको थियो । लोमान्थाङ र मार्फा गाउँमा बिजुलीका तार अन्डरग्राउन्ड गर्ने कार्य सुरु भए पनि सदरमुकाम जोमसोम बजारमा भने बिजुली र टेलिफोनका तार अन्डरग्राउन्ड हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया