फेवालाई संरक्षित जलाधार क्षेत्र घोषणाको तयारी

समाधान संवाददाता २०७७ असोज २५ गते ८:०८

श्याम कुँवर, पोखरा

फेवातालको स्वास्थ्य, आयुवृद्धि तथा पानीको स्वच्छन्दतामा सुधारको लागि फेवा जलाधार क्षेत्रलाई संरक्षित जलाधार क्षेत्र घोषणाको तयारी गरिएको छ ।

जलाधार क्षेत्रको संरक्षण विनाको विकास कार्यले तालको आयु घट्दै गएको ठहर गर्दै भूक्षय तथा बाढी पहिरो जस्ता प्रकोपबाट ताललाई जोगाउन त्यस्तो घोषणा गर्न लागिएको हो ।

Advertisement

भू तथा जलाधार संरक्षण समिति कास्कीका अध्यक्ष तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले जलाधार क्षेत्रका सरोकारवालासँगको अन्तक्र्रियापछि गरिने घोषणाले तालको संरक्षण र स्थानीय समुदायको जीवन स्तर सुधारमा सहयोग पुग्ने बताए ।

जलाधार व्यवस्थापन केन्द्र गण्डकी पोखराले शनिबार पोखरा २३ बाम्दीमा राखेको कार्यक्रममा अध्यक्ष क्षेत्रीले साना टुक्रे नभइ फेवा एकीकृत भू तथा जलाधार योजना निर्माण गरेर काम गर्ने उल्लेख गरे ।

Advertisement

फेवाताल संरक्षणका लागि छरिएर कार्यरत निकायबीच तादम्यता कायम गर्ने जानकारी दिँदै उनले छुट्टाछुट्टै डोको र डालोमा रहेका बजेटलाई एकै ठाउँमा राखेर खर्च गर्ने चाँजोपाँजो मिलाउने बताए ।

भू तथा जलाधार संरक्षण समिति कास्कीका सदस्यसचिव तथा जलाधार व्यवस्थापन केन्द्र गण्डकीका प्रमुख रामसिंह थापाले फेवातालको संरक्षण तथा बहुउपयोगको लागि तत्काल र दीर्घकालीन रुपमा गर्नु पर्ने प्रमुख कामसहितको एकीकृत योजना बनाउने जानकारी दिए ।

उनले एकीकृत योजना अनुरुप राष्ट्रिय गौरवको आयोजनाको रुपमा पहिलो, दोश्रो र तेश्रो चरणमा गर्ने कार्यहरुको सूची बनाएर सम्बन्धित निकायबाट प्रस्तावगरी कार्यान्वयनमा लैजाने उल्लेख गरे ।

‘समग्र फेवा जलाधार क्षेत्रलाई एकीकृत जलाधार व्यवस्थापनबाट संरक्षणको काम गरिने छ,’उनले भने, ‘एकीकृत कार्ययोजना र समन्वयात्मक प्रणाली अवलम्बन गरी स्थानीयको अपनत्व कायम हुने गरी योजनाबद्ध ढंगले कार्यान्वयन गरिने छ ।’

उनले व्यवस्थापकीय योजना बनाएर जलाधार क्षेत्रमा काम गर्ने सबै युनिटलाई एकीकृत रुपमा कार्यान्वयन गर्ने जानकारी दिए ।

संरक्षणको अवधारणा अनुसार तल्लो तटीय र माथिल्लो तटीय तादम्यता मिलाउँदै जलाधारीय सेवा शुल्क भुक्तानीको व्यवस्था मिलाइने बताए । उनले एकीकृत योजना बनाएर सबैलाई समेटेर एकद्धार प्रणालीबाट संरक्षणको काम गर्ने उल्लेख गरे ।

जिल्ला विकास समिति कास्कीका पूर्व सभापति पुण्यप्रसाद पौडेलले फेवातालको संरक्षण भए जलाधार क्षेत्रको विकास हुने बताए । फेवा जलाधार क्षेत्रको नाप नक्सा क्षेत्रफल सहित ४ किल्ला तोकिएको उल्लेख गर्दै उनले आगामी ३ महिना भित्रमा तालको सिमांकन हुने दाबी गरे ।

सर्वोच्च अदालतले फेवाताललाई संरक्षित क्षेत्र घोषणाको लागि पहल गर्न नेपाल सरकारलाई दुई पटकसम्म निर्देशनात्मक आदेश दिएको छ ।

भूसंरक्षण अधिकृत विष्णुप्रसाद पोखरेलले फेवाताल रामसार सूचीमा सूचीकृत भएको सन्दन्र्भमा सिमसार क्षेत्रको संरक्षण एवं व्यवस्थापन र अन्तराष्र्टि«य प्रतिवद्धता कायम राख्न संरक्षित जलाधार क्षेत्र घोषणा गर्नु पर्ने बताए ।

उनले फेवा संरक्षित जलाधार क्षेत्र घोषणाको लागि सम्बन्धित विभाग र मन्त्रालय मार्पmत प्रस्ताव पेश गर्ने सर्वसम्मत निर्णय भएको जानकारी दिए ।

पोखरा महानगरपालिका वडा नम्बर २३ का वडा कार्यालयलाई आधिकारिक रुपमा जलाधार क्षेत्र घोषणाका लागि प्रक्रिया अगाडि बढाउन सहमतिपत्रका साथ अनुरोध गर्ने निर्णय समेत गरिएको उनले उल्लेख गरे ।

पोखरा महानगर वडा नम्बर २३ का अध्यक्ष विष्णुप्रसाद पराजुलीले जलाधार क्षेत्रको बाटो पिच गर्न नसके दायाँबायाँ वृक्षरोपण गर्नपर्ने सुझाव दिए । उनले फेवाताललाई पुरिनबाट जोगाउन जलाधार क्षेत्रका मुल तथा सहायक खोल्साहरुको व्यवस्थापन गर्नुपर्ने बताए ।

पोखरा महनगरपालिकाको वडा नम्बर ६, १७, १८, २२, २३ र २४ र अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १,२ र ३ वडाहरु फेवा जलाधार क्षेत्रमा पर्छन ।

तपाईको प्रतिक्रिया