खसीबोका नबिक्दा तनहुँका किसान चिन्तित

समाधान संवाददाता २०७७ असोज २८ गते १२:५०

तनहुँ, रासस

चाडपर्व नजिकिएसँगै तनहुँ सदरमुकाम दमौलीमा खसीबोका ल्याउने क्रम बढेको छ ।

पछिल्लो समय दमौलीमा खसीबोका ल्याउने क्रम बढेपनि बिक्री नहुँदा किसान चिन्तित छन् ।

Advertisement

कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण यो वर्ष दमौली बजार सुनसान देखिएको किसान बताउँछन् ।

विगतमा दशैं आउनुभन्दा अघि नै खसीबोका खरिदबिक्रीका लागि भीड लाग्ने दमौली बजार यो वर्ष भने सुनसान देखिएको ऋषिङ गाउँपालिका–४ भिरकोटका किसान निमबहादुर सुनारले बताए ।

Advertisement

गत वर्षको दशैंँमा खसीबोका बेचेर राम्रो आम्दानी गरेका सुनारले यसपाली बिक्री नभएको बताए ।

‘यो समय सबैभन्दा धेरै खसीबोका बिक्री हुने बेला हो,’ उनले भने, ‘बिक्री नहुँदा पशुपालन किसान चिन्तित भएका छन् ।’

विगतका वर्षमा खसीबोका किन्ने मान्छे गाउँमै पुग्ने गरे पनि यो वर्ष किनबेच शून्य जस्तै रहेको खसीबोका व्यवसायी कृष्णबहादुर रानाभाटले बताए ।

कोरोना भाइरसले गर्दा बजारमा चहलपहलमा कमी आउनुका साथै आम्दानी पनि कम भएकाले खसीबोका बिक्री हुन नसकेको अनुमान किसानको छ ।

ब्यास नगरपालिकाको कार्यालयले खसीबोका बिक्रीस्थलका लागि दमौलीस्थित पुरानो प्रशासन कार्यालयमा व्यवस्था मिलाइदिएको छ ।

उक्त स्थानमा दैनिक एक दर्जन बढी किसान तथा व्यवसायीले खसीबोका बिक्रीका लागि ल्याउने गरेका छन् ।

गत वर्ष तनहुँमा रु ७ लाखको बिक्री गरे पनि यो वर्ष ५० प्रतिशत कममा झर्ने अनुमान गरिएको किसान बताउँछन् ।

कोभिड–१९ कारण होटल, रेष्टुरेन्ट बन्द हुनु, भोजभतेर नहुनु, होमस्टेलगायत पर्यटन क्षेत्र ठप्प हुनुलगायत कारणले मासु खपत घट्दा यो समस्या आएको हुनसक्ने तनहुँ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष वैकुण्ठनाथ मिश्रले सुनाए ।

आम्दानी कम भएकाले दिनदिनै र हप्तैपिच्छे मासु खाने पनि खर्च कटाउन थालेकाले मासु व्यवसाय प्रभावित भएको हुन सक्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया