एक पोखरेली जोडीको कथा – श्रीमती अस्पतालमा बितिन्, किरिया बस्दाबस्दै श्रीमान

समाधान संवाददाता २०७७ कार्तिक २६ गते १९:४३

अनुप आत्रेय, पोखरा

भोलिपल्ट दसैं थियो । टीका लगाउने/नलगाउने अन्योल उस्तै । परिवारकै सदस्य अस्पतालमा छटपटिएकाबेला खुसी साट्न कसलाई पो मन लाग्थ्यो !

अरु रोगले भएको भए अस्पतालमै गएर पनि लगाउन मिल्थ्यो । तर कोरोनाले आफ्नैलाई पनि टाढा बनायो । ७६ वर्षे आमा स्याहार्न अस्पताल बसेकी कान्छी छोरीले आँखैअघि आमाको मृत्यु देखिन् ।

Advertisement

‘भाउजू हस्पिटलमा हुनुहुन्थ्यो । दसैंको टीका अरु कारणले रोकिएको थिएन । टीका लगाउने/नलगाउने अन्योल थियो,’ मृतक वृद्धाका देवरले भने, ‘अघिल्लो दिन भाउजू बित्नुभो ।’

बुढ्यौलीमा श्रीमान–श्रीमान दुवैलाई मुटुरोगको समस्या देखियो । औषधि खान थालेको ७ वर्ष भइसकेको थियो । दुवैलाई डर त्यतिबेला लाग्यो जतिबेला कोरोनाबाट दीर्घरोगीलाई खतरा हुन्छ भन्ने थाहा भयो ।

Advertisement

म्याग्दीको बेनी स्थायी घर भए पनि पोखरा झरेको ५ दशक भइसक्यो । पोखरा रामबजारका उनीहरु लकडाउनपछि घर बाहिर कमै निस्कन थाले । बिहान ओमशान्तिमा प्रवचन सुन्न जान्थे । कोरोना संक्रमण हुने डरले सचेत थिए । मुखमा मास्क टुट्थेन अनि हातमा स्यानिटाइजर ।

सायद मनमा डर थियो – बुढो शरीर कोरोना लागे हार्छ कि ! संक्रमितको संख्या डढेलोजसरी फैलन थाल्यो । छरछिमेकसम्म आइपुग्यो ।

गर्दागर्दै घरमा कोरोना छिरिहाल्यो । कात्तिकको पहिलो दिन वृद्धालाई ज्वरो आउने, सुक्खा खोकी लाग्ने हुन थाल्यो ।

मौसम नै रुघाखोकीको थियो, कोरोना नै हो भन्ने भएन । २ दिनपछि फिस्टेल अस्पताल लगियो । त्यहाँ ३ दिन राखियो ।

निमोनिया देखिएपछि ८ कात्तिकमा फिस्टेलले चरक मेमोरियल अस्पताल रेफर गरेको थियो । त्यही दिन कोरोना पोजेटिभ आयो ।

अवस्था गम्भीर बन्दै गयो । दसैंको अघिल्लो दिन ९ कात्तिकमा उनी कोरोनासँग हारिन् । दसैं दशामा बदलियो । ८२ वर्षका श्रीमान् र ५ सन्तानलाई छोडेर उनी चिरनिद्रामा गइन् । कान्छी छोरी र २ छोराले कपाल फालेर किरिया थाले ।

३ दिनपछि परीक्षण गराउँदा श्रीमानलाई पनि पोजेटिभ देखियो । कोरोना पोजेटिभ आउँदा उनी श्रीमतीको काजकिरियामा थिए । शरीर शिथिल भएको थियो । स्वाब दिए ।

श्रीमतीको मृत्यु भएको ३ दिनपछि रिपोर्ट पोजेटिभ आयो । बुढो शरीरलाई कोरोनाले खाइसकेको रहेछ । घरमा बस्दाबस्दै उनले पनि सास छोडे ।

‘दाइभाउजू दुवैलाई मुटुको समस्या थियो । भाउजू बिरामी भएपछि अस्पताल लगेको । निमोनिया देखियो,’ मृतक वृद्धका ६३ वर्षे भाइले भने, ‘दाइ घरमै बस्दाबस्दै १४ गते जानुभयो । भाउजूलाई कहाँबाट लाग्यो थाहै भएन ।’

३८ वर्षकी कान्छी छोरी र २ छोराले आमाबुबाको काजकिरिया मंगलबार सकेका छन् । उनीहरुले बुबाको किरिया १२ औं दिनमा मंगलबार सकेका हुन् । आमाको ४ दिन पहिल्यै अम्किसकेका थिए ।

आमाबुवा बित्दा जापान रहेका २ दिदी आउन सकेनन् ।

मृत्यु भएका वृद्ध फोटो स्टुडियो चलाउँथे । २०३६ सालतिर वडा सदस्य पनि भएका थिए । पोखरा १५ बस्ने भए पनि उनीहरुले पोखरा ४ स्थित बुढानीलकण्ड मन्दिरमा किरिया बसे ।

५ दिन अस्पताल बस्दा भाउजूको उपचारमा ३ लाख रुपैयाँ खर्च लागेको मृतकका देवरले सुनाए ।

‘चानचुन ३ लाख खर्च भयो । तर निजी अस्पतालको उपचार सबैले धान्न सक्दैनन् नि,’ मृतकका भाइले भने । कोरोनालाई खेलाँची नठान्न उनले आग्रह गरे ।

‘यो खतरनाक हुँदो रहेछ । ध्यान दिनुपर्छ,’ उनले भने, ‘बेलाबेलामा नियमित औषधि खानुप¥यो । बाफ लिने गर्नुप-यो । यत्तिकै हिँड्नु भएन ।’

कुनैदिन कोरोना महामारी पक्कै अन्त्य हुनेछ । तर यो परिवारले हरेक दसैंमा कोरोनाले दिएको चोटले विगत सम्झि रहने छ ।

तपाईको प्रतिक्रिया