सडक कालोपत्रे गर्ने प्रतिबद्धता

समाधान संवाददाता २०७७ मंसिर ४ गते ७:३४

समाधान संवाददाता, पोखरा

पोखरा महानगरपालिका वडा नम्बर ५ पस्र्याङ धारापानीमार्ग गहिरी बेल्टको सडक कच्ची छ । सधैजसो धारापानीको ठाडोखोलाको जोखिममा रहेको बस्तीमा वर्षातमा पानी परेको बेला ठूलो भल घरभित्र समेत पस्छ ।

सडक अव्यवस्थित भएको कारण घरघरमा भलबसेर बस्न नसक्ने अवस्था आउने स्थानीय खरी सुवेदीले बताए ।

Advertisement

बाटोको स्थलगत अनुगमन गर्न पुगेका गण्डकी प्रदेश सभाका सदस्य राजीव पहारी, पोखरा महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष घनबहादुर नेपाली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वडा नम्बर ५ का अध्यक्ष विष्णुप्रसाद बराल लगायतको टिम समक्ष सुवेदीले कच्ची अव्यस्थित बाटोको कारण मान्छे बिरामी भएको खण्डमा एम्बुलेन्स समेत जान नसक्ने गुनासो गरे ।

‘सडक पिच गर्न पोखरा महानगरपालिकाको कार्यालय, वडा नम्बर ५को कार्यालयमा धेरै पटक धाइयो,’ उनले भने, ‘कही कतै सुनुवाइ भएन, बाटोकोे माग राखेर स्थानीयहरु अनसन बस्नु पर्ने अवस्थासमेत आएको थियो ।’

Advertisement

उनले ठाडो खोलाको भल तर्काउन र व्यवस्थित नालासहित बाटो पिच गर्न आवश्यक रहेको औंल्याए । गण्डकी प्रदेश सभाका सदस्य राजीव पहारीले पहिलो प्राथमिकतामा राखेर सडकको पिच गर्ने बताए ।

निर्वाचन क्षेत्र अन्तर्गतको स्थानीय साझेदारी विकास कार्यक्रम मार्फतको २५ लाख रुपैयाँ सडकको पिच गर्न विनियोजन गर्ने उल्लेख गर्दै उनले उपभोक्ता समिति बनाएर काम थाल्न सुझाव दिए ।

बाटोको निर्माणको काम अगाडि बढाए १ महिनाभित्र रकम निकासा हुने उनले उल्लेख गरे । ‘सडकको लागत स्टिमेट तयार गर्नुस्,’ उनले भने, ‘केही रकम उपभोक्ताहरुले योगदान गर्नुस्, नपुगभए प्रदेश सरकारबाट व्यवस्थापन हुनेछ ।’

उनले निर्वाचन क्षेत्रको सडकहरुको स्तरोन्नति र भौतिक पूर्वाधारको विकासमा सक्रियतापूर्वक लागेको बताए ।

पोखरा महानगरपालिका वडा नम्बर ५ वडा अध्यक्ष धनबहादुर नेपालीले स्थानीयले धारापानीमार्गको गहिरी बेल्टमा ठाडोखोलाको भल तर्काउदै व्यवस्थित नालासहित बाटो बिच गर्न माग राख्दै आएको बताए ।

उनले करिब २ सय २५ मिटर बाटो कालोपत्रे गर्नुपर्ने उल्लेख गरे ।

बाटो निर्माण समितिका अध्यक्ष नीलकण्ठ चापागाईंले टोलबासीको सुदृढ एकता भएको कारण सीमित बजेटले पनि धेरै काम गर्ने प्रतिबद्धता जनाए । उनले बजेट परे अरु टोलले समेत अनुकरण गर्ने नमुना काम गर्ने बताए ।

तपाईको प्रतिक्रिया