अस्पतालले भर्ना नलिँदा ज्यान गुमाउँदै बिरामी, मुख्यमन्त्री भन्छन् – कारबाही गर्छौं

समाधान संवाददाता २०७७ मंसिर ६ गते ८:१०

अनिष भट्टराई, पोखरा

स्याङ्जा पुतलीबजार नगरपालिकाकी दिया गुरुङ बुबाआमाको हेरचाह गर्न सजिलो हुन्छ भनेर पोखरामा बसाइ सरिन् । आमाबुबालाई बिसञ्चो भइहाले पोखरामा छिटोछरितो उपचार पाइने सोचले दिया आमाबुबासँग बुद्धचोकमा डेरामा बस्न थालिन् ।

उनलाई पोखराको स्वास्थ्य सुविधामा पूर्ण विश्वास थियो । तर त्यो विश्वासको डोरी बिहीबार राति चुँडियो । कुनै अस्पतालले उपचार गर्न नमान्दा दियाकी आमा धनमाया (६२)ले ज्यान गुमाइन् ।

Advertisement

‘पोखरामा राम्रो सुविधा पाइन्छ भनेर आएका थियौं, तर आमाले अस्पतालको बेडमा बस्न पनि नपाई सास छाड्नुप-यो,’ दियाले भनिन्, ‘अस्पताल र स्वास्थ्यकर्मीले आफ्नो धर्म छाडे ।’

दियाका आमाबुबा सरकारी सेवाबाट ‘रिटायर्ड’ हुन् । पैसाको समस्या थिएन । तर पोखराका अस्पतालले धनमायाको ज्वरो नाप्नसमेत चाहेनन् । ‘हामीसँग पैसा नभएको होइन, तर रातारात पैसा जम्मा गर्न मिल्ने अवस्था हुँदैन, अस्पतालले बुझ्नुपथ्र्यो,’ दियाले भनिन् ।

Advertisement

धनमाया दमको दीर्घरोगी हुन् । बिहीबार उनलाई दम बढेर ज्वरो आएपछि छिमेकीको सहयोगमा बेलुका ७ बजे अस्पताल लगियो ।

खासमा धनमायालाई केवल १ अस्पताल लगेर नलिइएको होइन, उनलाई पोखराका नामी अस्पतालहरुले लिन मानेनन् । मेट्रोसिटीले अक्सिजन नाप्नुबाहेक अरु अस्पतालले हेर्दा पनि नहेरेको दियाको गुनासो छ ।

‘त्यति धेरै अस्पताल लग्यौं, कुनैले लिन मानेनन्, सामान्य मानवता पनि देखाएनन्,’ दियाले सुनाइन् ।

सुरुमा मेट्रोसिटी पु-याइएकी धनमायालाई आफन्त छिमेकीले गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पु-याए ।

त्यहाँ बेड छैन भन्ने उत्तर पाए । अनि चरक लगे । त्यहाँ पनि बेड छैन नै भन्ने जवाफ आयो । अनि पु-याइयो फेवासिटी । त्यहाँ पनि उस्तै भयो । बेड मिलेन । मनिपाल पु-याउँदा पनि भर्ना नलिइएपछि फर्किंदा फर्किंदै राति १० बजे धनमायाको ज्यान गयो ।

मेट्रोसिटीले आइसियु र भेन्टिलेटर नभएको भन्दै फर्कायो । मनिपालले १ लाख २५ हजार धरौटी नलिएसम्म बिरामी नलिने बताएको धनमायाका छिमेकी महेन्द्रप्रसाद तिमिल्सिनाले बताए ।

‘मेट्रोसिटीले गेटमै अक्सिजन नापेर फर्कायो, मनिपालले धरौटी माग्यो, अरुले बेड छैन भने,’ तिमिल्सिनाले सुनाए,‘रातको समयमा अस्पताल त्यसै लगिँदैन, अस्पतालहरु संवेदनशील बनिदिएनन् ।’

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार बेलुका सार्वजनिक गरेको विज्ञप्ति अनुसार प्रदेशभर १ सय १७ आइसियु र ५० भेन्टिलेटर खाली रहेको देखिन्छ । खालीमध्ये १ सय ४ आइसियु र ४१ भेन्टिलेटर पोखराका १४ अस्पतालका हुन् । तर पोखरामै बिहीबार बेलुका १० बजे आइसियु नपाउँदा १ महिलाले ज्यान गुमाएकी छन् ।

प्रदेशको आधिकारिक निकायको विज्ञप्तिलाई मान्ने हो भने मेट्रोसिटी अस्पतालमा ३ आइसियु र २ भेन्टिलेटर खाली थिए ।

महेन्द्रप्रसाद भने मेट्रोसिटीले आईसियु र भेन्टिलेटर नै छैन भनेर फर्काएको दाबी गर्छन् ।

निर्देशनालयको विज्ञप्ति अनुुसार बेड छैन भनेर फर्काएका गण्डकी मेडिकल कलेजमा १७ आइसियु र १ भेन्टिलेटर खाली थिए ।

चरकमा ११ आइसियु, ५ भेन्टिलेटर खाली हुँदा फेवासिटीमा ६ आइसियु र २ भेन्टिलेटर खाली थिए । तर अस्पतालले बेड खाली छेनन् भनेर फर्काउँदा धनमाया ज्यान गुमाउन बाध्य बनिन् ।

धनमायाको शुक्रबार नै स्याङ्जामा गुरुङ प्रचलन अनुसार अन्त्येष्टि गरिएको छ । धनमायाको कोरोना परीक्षण भने नगराइएको छोरी दियाले बताइन् । ‘आमा गइसक्नु भयो, परीक्षण गराएर के नै हुन्छ र ?’ दिया प्रश्न गर्छिन् ।

कारबाही गर्छौं

पृथ्वीसुब्बा गुरुङ
मुख्यमन्त्री, गण्डकी प्रदेश

हामीले अहिले नै सबै बिरामीलाई सरकारी अस्पतालमा ल्याउने मेकानिजम बनाउन सक्दैनौं । विश्वकै धनी राष्ट्र अमेरिकाले पनि त्यसो गर्न सकेको छैन ।

हाम्रा जिल्ला अस्पतालहरु अहिले ३०/३२ बेडका मात्रै छन् । केन्द्र सरकारले जिल्ला अस्पताललाई ५० बेडको बनाउने योजना बनाएको छ । तर योजनामा मात्रै सीमित बनेको छ ।

हाम्रा सरकारी अस्पताल सबैमा गरेर मुस्किलले ५ सय बेड पनि पुग्दैन । रातारात बन्ने भन्ने छैन । यसैले हामीले आइसोलेसनका क्षमता बढाउँदै छौं । हामी प्रदेशभर ३ हजार आइसोलेसन बेड पु-याउँछौं । हामी कठिन परिस्थितिसँग जुध्दैछौं । त्यही पनि केन्द्र र प्रदेश सरकारले जतिसक्दो बजेट दिएकै छौं ।

अहिले बिरामीहरु रोजेर अस्पताल जान चाहनुहुन्छ । तर अस्पतालले बिरामीको पुरै उपचार गर्नुपर्छ, पैसा धेरै पाइँदैन भनेर बिरामी लिन नचाहेको जस्तो देखिन्छ ।

बाहिरबाट हेर्दा जस्तो सहज छैन, भित्र धेरै लुकेका कुरा हुन्छन् । प्रदेशले त्यस्ता अस्पताललाई कारबाही गर्छ । तर जनताले भने भन्दैमा पुष्टि नभई कारबाही पनि हुँदैन । बिरामी अस्पताल गएपछि रोगले मरे पनि आफन्तले चिकित्सकको दोष देखाएर तोडफोड गर्ने गरेको पाइन्छ । पुष्टि भए प्रदेशले कारबाही गर्छ ।

हामी निजी अस्पतालहरुसँग सम्झौता गर्छाैं । अस्पतालले ३३ प्रतिशत बेड कोरोनाका बिरामीलाई छुट्टयाउने र त्यसबापत प्रदेशले प्रत्येक बिरामीका हकमा २५ हजार रुपैयाँ अस्पताललाई दिनेछौं । तर अहिले अस्पतालले गुणात्मक उपचार नदिने, बिरामी लिन नमान्ने प्रवृत्ति देखियो ।

अब हामी भरेभोलि बैठक बसेर यसलाई निक्र्यौल गर्छौं । उनीहरुले पैसा थोरै भयो भनेका पनि छन्, हामी कुराकानी गर्छौं ।

काठमाडौंका अस्पतालले प्रतिबिरामी १ लाख सरकारबाट पाउने, हामीले चाहिँ २५ हजारमात्र पाउने भनेर अस्पतालहरुले गुनासो गरेका छन् भन्ने सुनेको छु । तर यहाँका निजी अस्पतालले काठमाडौंका अस्पतालले दिने सेवाको गुणस्तर पनि हेर्नुप¥यो नि !

हामीले सक्दो व्यवस्थापन गरिरहेका छौं । हाम्रो प्रदेशमा पहिला कोरोना संक्रमितको संख्या झण्डै शून्यमा झरिसकेको थियो । संख्या निकै कम थियो । तर भारतबाट मानिस आएपछि कोरोना संक्रमित बढे ।

दिन दुई गुना रात चौगुनाका हिसाबमा कोरोना बढेको छ । बिस्तारै कोरोनाको दर घटेको पनि छ । गण्डकी प्रदेश सरकारले तन, मन र धन लगाएको छ । तर पनि अहिले सबैले सरकारी अस्पतालबाटै सेवा पाउने अवस्था बनेको छैन ।

हामीले सबै जिल्ला अस्पतालमा आइसियु पु-याउने भनिएपनि निकै कठिन काम हो । गण्डकी प्रदेशले हिम्मत ग-यो, त्यो अलग कुरा हो ।

हामीले सामानहरु ल्याइसक्यौं । तर कुनै अस्पतालमा कर्मचारीहरुले पुरा ध्यान नदिँदा अझैपनि पुरा सामान नआएको अवस्था हो ।

सामान आइसकेका अस्पतालमा म दिनहुँ किन आइसियु सञ्चालन हुन सकेन भनेर प्रश्न गरिरहन्छु । आइसियु उपलब्ध गराएर मात्र हुँदैन, समस्या जनशक्ति व्यवस्थापनमा पनि देखियो ।

हामीले जिल्ला अस्पतालमा आईसियु सञ्चालनका लागि आवश्यक पर्ने जनशक्तिलाई करारमा राख्न पनि भनेका छौं । त्यसका लागि लाग्ने खर्चको पनि हिसाब गरिसकेका छौं ।

९ करोड रुपैयाँ आवश्यक पर्ने रहेछ र त्यो उपलब्ध गराउन निर्देशन दिइसकेका छौं । आईसियुको व्यवस्था हुन्छ नै ।

तपाईको प्रतिक्रिया