जस लिने होड

समाधान संवाददाता २०७७ मंसिर १९ गते ८:२९

समाधान संवाददाता, पोखरा

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादका कारण तातेको नेपाली राजनीतिको पारो तनहुँ बुल्दी पुल उद्घाटन प्रकरणले झनै तताएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सुसुप्त भयो भन्ने आवाज आइरहेका भएको यो घटनाले कांग्रेस र कम्युनिस्ट दुवै दलका कार्यकर्तालाई कुनै न कुनै रुपमा सशक्त हुने अवसर दिएको ।

Advertisement

चाहे त्यो समर्थनमा या विरोधमा । सधैं कांग्रेसभित्रकै विवादले चर्चामा आउने गरेको तनहुँले पनि २ दल बीचको विवादलाई छरपस्टै पार्ने मौका पाएको छ ।

तनहुँ सदरमुकाममा ३ वर्षअघि नै बनिसकेको पुल उद्घाटनको विषयलाई किन यति ठूलो राजनीतिक विषय बनाइयो ?

Advertisement

यसको अनुसन्धान गर्दै गरौंला । कसरी सुरु भयो त विवाद भन्ने त प्रस्टै छ । कुनै बेला कांग्रेसको एकछत्र प्रतिनिधित्व रहेको तनहुँमा गएको संघीय निर्वाचनमा परिणाम उल्टो आयो ।

कांग्रेसका शीर्ष नेता रामचन्द्र पौडेललाई हराउँदै कृष्णकुमार श्रेष्ठ विजयी भए । प्रधानमन्त्रीको दाबेदारी गरिरहेका नेता पौडेललाई हराउनु नै उनको राजनीतिक जीवनको ठूलो सफलता हो ।

व्यवसायमा रमाइरहेका कृष्णकुमार सांसद बनिसकेपछि जिल्ला भित्रै कांग्रेसको कमजोरीमा खेल्न थाले ।

व्यक्तिगत र दलकै राजनीतिक सफलताका लागि यो जरुरी थियो र छ पनि । यही कमजोरीमा खेल्न खोज्दा बुल्दी खोला पुल उद्घाटन प्रकरण छरपस्ट भएको हो ।

केही दिनदेखि गृहजिल्लामारहेका कांग्रेस नेता पौडेलले मंगलबार व्यास नगरपालिका १४ र रिसिङ गाउँपालिका ३ जोड्ने गरी सेती नदीमाथि बनेको पुल उद्घाटन गरेपछि नेकपा कार्यकर्ता रुष्ट थिए ।

सांसद श्रेष्ठ उक्त पुलको उद्घाटन गर्न चाहन्थे । कांग्रेस नेता पौडेलले व्यास नगरपालिकाको बुल्दी खोलामाथि बनेको पुल बुधबार उद्घाटन गर्ने कार्यक्रम थियो ।

तत्कालीन जिविसको एसएनआरटिपी परियोजनाअन्र्तगत २०७३ वैशाखबाट पुल निर्माण सुरु भएको थियो । २ करोड ५४ लाख रुपैयाँमा निर्मित पुलको काम पोहोर साल नै सकिए पनि उद्घाटन भएको थिएन ।

कांग्रेस नेताले पुल उद्घाटन गर्ने भनेपछि नेकपालाई चित्त बुझेन । त्यही विषयमा नेकपानिकट युवाहरुले दमौलीमा प्रदर्शन गरे ।

पुल निर्माण गर्ने उपभोक्ता समितिले भने कांग्रेस नेता पौडेलबाटै उद्घाटन गर्ने अडान लियो ।

त्यही अडानले झडपको स्थिति सिर्जना हुने भन्दै जिल्ला प्रशासन कार्यालयले बुधबार मध्याह्न १२ बजेदेखि ६ घन्टे निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञाबीच नै दलबलसहित उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर ३ घन्टा राख्यो ।

बुल्दी पुल प्रकरण नेपालको विकास प्रणाली र राजनीति चरित्रको ऐना हो । पुलपुलेसा, बाटोघाटो बनाइदिएर र त्यसैलाई देखाएर राजनीतिक सफलता प्राप्त गर्न सकिन्छ भन्ने विश्वासमा दलहरु अडिएकै कारण यो घटना भएको हो ।

हो भौतिक संरचना विकासको मुख्य आधार हो । तर २१ औं शताब्दीमा आइसक्दा दलहरुले देखाउनु पर्ने विकासको मोडल फेरिएको हुनुपर्ने थियो ।

रोजगारी सिर्जनादेखि उत्पादकत्व वृद्धिसम्मको भिजन भाषणमा सीमित छन् । चुनावका बेला असाध्यै प्रगतिशील नारा लगाउने दलहरु नै विकासका नाममा परम्परागत प्रक्रिया अपनाउन छाडेका छैनन् ।

पुल बनाउने, उद्घाटन दिने त्यहिँ जम्मा भएका कार्यकर्तालाई भाषण सुनाएर कहिलेसम्म नेताहरुले आत्मसन्तुष्टि लिने ?

उमेर पाकेका नेताहरुले सत्ता र दलको कुर्सी नछाड्ने प्रवृत्तिका कारण पनि यी र यस्ता परिणाम निम्तेका हुन् ।

काम गरौं, विकास निर्माणलाई पनि निरन्तरता दिनैपर्छ । तर उद्घाटन गर्दा आनन्द मान्ने नपाउँदा ठुस्सिने प्रवृत्ति त्याग्नै पर्छ ।

तपाईको प्रतिक्रिया