२ वर्षभित्र पञ्चासे जाने बाटो पिच

समाधान संवाददाता २०७७ मंसिर २१ गते १४:४९

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश सभाका सदस्य राजीव पहारीले २ वर्षभित्र पञ्चासे भञ्याङसम्मको बाटो पिच गर्ने बताएका छन् ।

पोखरा महानगरपालिका २३कोघाँटीछिना–मकवानपुर भञ्ज्याङ ग्रामीण सडक उपभोक्ता भेलाको शनिबार उद्घाटन गर्दै उनले आफ्नो बाँकी कार्यकालसम्ममा सो सडक कालोपत्रे गर्ने उल्लेख गरे ।

Advertisement

एसियाली विकास बैंकको सहयोगमा बाटो कालोपत्रे हुन लागेको उनले जनाए ।

प्रदेश सभाको निर्वाचनमा वडाका जनताको एकमात्र माग खहरे (अंधेरी)खोलाको पुल निर्माण गर्ने भएको उल्लेख गर्दै उनले ११ करोडको लागतमा आगामी ९ या १० महिना भित्रमा डबललेनको मोटरेबल पुल बन्ने जानकारी दिए ।

Advertisement

आफू निर्वाचित भइसकेपछि स्थानीय जनताले पामेखोलाले मोटर बगायो भनेर सुनाउने गरेको उल्लेख गर्दै उनले पामेखोलामा पनि पुल बन्दै गरेको बताए ।

‘गण्डकी प्रदेश सरकारबाट वडा नम्बर २३ मा २९ योजनाका लागि ५०करोडको बजेट परेको छ,’उनले भने, ‘मोटरबाटो, खानेपानी पुल निर्माणका कामलाई प्राथमिकताका साथ अगाडी बढाएका छौं ।’

उनले निर्वाचन क्षेत्र नम्बर ३(२)को विकास निर्माणमा एक पैसा पनि फ्रिज नभएको दाबी गरे ।

निर्माण व्यवसायीको कारण सडकको काममा ढिलाई भएको स्थानीयको गुनासोलाई सम्बोधन गर्ने उल्लेख गर्दै उनले घाटीछिना मकवानपुर भञ्ज्याङसम्मको सडकलाई पूरा गराउन सम्बन्धित ठेकेदार र भौतिक पूर्वाधार कार्यालयको इञ्जिनियरसँग बसेर कामको नियमित रुपमा फलोअप गर्ने आश्वासन दिए ।

जनप्रतिनिधि जनताको सेवक भएको चर्चा गर्दै उनले पञ्चासेमा श्रवणकुमारले बाबु आमाको सेवा गरेजस्तै जनताको सेवा गर्ने बताए ।

पोखरा महानगरपालिका वडा नम्बर २३का अध्यक्ष विष्णुप्रसाद पराजुलीले लेकसाइड लगायत सहरी क्षेत्रमा पर्याप्त रुपमा विकास भएकोले ग्रामीणक्षेत्रका वडाहरुमा ध्यान दिन आग्रह गरे ।

स्तरीय बाटो नभए गाउँका तरकारी, दूध, मासु बजारसम्म पु¥याउन कठिन हुने उल्लेख गर्दै उनले सडक पूर्वाधारले जनताको जीवनस्तर सुधार हुने धारणा राखे । उनले हाँडीखोलाको पुलको निर्माण भए बाम्दी घाँटीछिनाहँुदै पञ्चासे जान नजिक पर्ने बताए ।

सडक उपभोक्ता समितिका अध्यक्ष दामबहादुर विकले जनताका रकम संकलन गरी २०६०/०६२ सडकको नामकरण गरी ट्रयाक खोलेको सडकको लागि दिगो रुपमा सञ्चालन व्यवस्थापनका लागि ६ करोडको लागत स्टिमेटसहितको डिपिआर तयार भएको जानकारी दिए ।

६ महिना मात्र जीप चल्ने सडकको स्तरोन्नति भएपछि १२ महिना चल्न सक्ने भएको उल्लेख गर्दै उनले डिपिआर अनुसार सडकको पिच तथा ढलानको लागि ३ तहको सरकारसँग बजेट माग गरेको बताए ।

उनले सडकको पहिरो नियन्त्रणको लागि भू–तथा जलाधार कार्यालयबाट तारजाली ल्याएर काम गरेको जानकारी दिए ।

पोखरा महानगरपालिका वडा नम्बर २३ का वडा सदस्य दुर्गाबहादुर घले, पर्यटन व्यवसायी टासी गुरुङ, जापान पोखरा समाजका संरक्षक शिवप्रसाद पौडेल, बाटो निर्माण समितिका सचिव भक्तबहादुर केसी, सदस्य कृष्णप्रसाद पराजुली,मकवानपुर टोल विकास संस्थाका अध्यक्ष शिव घले, बराङ टोल विकास संस्थाका अध्यक्ष नन्दलाल पराजुली, पिपलडाली आमा समूहका अध्यक्ष चन्द्रकली केसी लगायतले सडकको बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया