किनारका मान्छे हामी

समाधान संवाददाता २०७७ माघ २४ गते १७:३३

‘पुरिँदै गरेको ताल बचाइदिनुस्, हामी बाटो माग्दैनौं, स्कुल माग्दैनौं, हेल्थपोस्ट माग्दैनाैं’

अनिष भट्टराई, पोखरा

माघको बिहान । सिरेठोले आँत चिसाउँछ । तर पनि पोखरा २२ पात्लेका क्षेत्र गुरुङ बिहानको सिरेठोसँगै नउठी धर पाउँदैनन् ।

Advertisement

‘चिसो भो’ भनेर सिरकभित्र गुट्मुटिएर सुत्ने उनलाई छुट पनि छैन । उबडखाबड ढुंगाले छापिएको बाटो हुँदै फेवाताल किनार पुग्छन् ।

बाहिरबाट आउनेलाई ती सिँढी झर्न÷चढ्न निकै असजिलो हुन्छ । तर उनलाई त्यसको कठिनाइ छैन, बानी परिसक्यो । सिधा बाटोमा हिँडेझैं आफ्नै चालमा अघि बढ्छन् ।

Advertisement

५ बजे बिहान फेवाताल किनार, जहाँबाट गुरुङको दिन सुरु हुन्छ । फेवा किनारमा पुगेर जाल फ्याँक्छन् । पानी छचल्किन्छ । छचल्किएका पानीसँगै माछा मार्छन् । अर्को किनारमा उनी जस्तै माझी छन् ।

उनीहरुलाई हेर्छन्, फिस्स हाँस्छन् अनि गुनगुनाउँछन्, ‘माझी दाइ पोखरा फेवातालैको…., आज त मेरै जालमा माछा धेरै पर्ला !’ अघि भन्छन्, ‘कहाँ जालास् मछिली मेरै ढडिया !’

चिसो बिहानमा त्यसरी किनार पुगे पनि कहिले माछा पर्ने त कहिले नपर्ने गुरुङ सुनाउँछन् । ‘कैले १०÷१२ किलो नै पर्छ नि जालमा, त्यसरी माछा परेसि बल्ल मजा आउने हो, कैले त आधा किलो नि पर्दैन,’ हाँस्दै गुरुङ भन्छन् ।

पात्ले डाँडामा रेष्टुरेन्ट चलाउने गुरुङ एक्ला हुन् । उनको दैनिकी माछा मार्न बिहानै जाने, घर फर्कने, अनि रेस्टुरेन्टमा सहयोग गर्नुमै बित्छ । साली र श्रीमतीले रेस्टुरेन्टमा काम गर्छन्, उनी वेटरको काम गर्छन् । ‘साली अनि बुढीले चलाउँछन्, म त हेल्पर मात्रै बस्छु,’ उनी भन्छन् ।

गुरुङले रेस्टुरेन्ट चलाउन लागेको एक वर्षमात्रै भयो । त्यसअघि उनी कुखुरा पाल्थे । तर उनलाई कुखुरा पालन फापेन । पात्ले र पोखरा लेकसाइड जोड्ने पक्की सडकको अभावमा उनले कुखुरा पालन बन्द गर्नुप¥यो ।

डुंगामा यात्रा गर्दा दाना, चोकर ल्याउन र कुखुरा लेकसाइड पु¥याउन असहज भएपछि क्षेत्रले त्यो पेसा त्याग्नु प¥यो । ‘सुरुको लटमा एकदम फाइदा भकै हो, पछि तालमा ४ क्यारेट कुखुरा प¥यो अनि डिलरले नि हेर्दिएन, अनि त्यो छाड्दिएँ,’ उनी सम्झन्छन् ।

०००

बिहानको ७ बज्दै थियो । लामबद्ध भएर ८÷९ जनाको टोली फेवाताल किनारमा आयो । काँधमा थियो दूधका बाल्टिन ।

बाँसको सापो बनाएर काँधमा दुईतिर दूधकार बाल्टिन हल्लाउँदै झर्नेको समूहमा थिए, लक्ष्मी बराल । बराल (४९) दूध बेचेर नै आफ्नो घर चलाउँछन् । दिनमा उनले १५÷१६ लिटर दूध बेच्छन् ।

१ भैंसी र २ गाईमात्र पालेका बरालको समय तिनैको ख्याल राख्दैमा बित्छ । घाँस काट्न जंगल पस्नु, गोबरसोत्तर गर्नु र आफ्ना ‘डियाँ’लाई कुँडोपानी गर्दा उनले खेती किसानीमा त्यति धेरै समय लगाउन पाउँदैनन् । ‘बाली त बाँदर, मृगले राख्दैनन्, बरु दूध बेचेर नै बढी आम्दानी हुन्छ, त्यतै दुख गरिन्छ,’ उनी भन्छन् ।

दूध बेच्न पनि सजिलो भने छैन । पक्की बाटो छैन । पामे निस्कने बाटो बढी घुमाउरो, बिग्रेको हुँदा २ घन्टा भन्दा बढी यात्रा गर्नुपर्छ । बाटो नहुँदा लक्ष्मी र पात्लेका सबै दुग्ध व्यवसायी डुंगाबाटै दूध लेकसाइड पु¥याउँछन् ।

डुंगामा ४५ मिनेटमै लेकसाइड पुगिन्छ । ‘दूध संवेदनशील वस्तु हो, धेरै राख्यो भने फाट्न सक्छ, यसैले डुंगाबाट नै दूध लैजान्छौं,’ लक्ष्मीले भने ।

लक्ष्मीले आफूजस्तै अन्य दूध व्यवसायीका लागि सहकारी खोलेका छन् । सहकारीलाई नाम दिएका छन्– ‘फेवा जनजागृति दुग्ध व्यवसायी सहकारी संस्था लिमिटेड ।’

दूध लेकसाइडसम्म पु¥याउन गाउँलेले गाउँकै शालिकराम बराललाई खटाएका छन् । शालिकराम दिनहुँ ८ बजे तालमा आफ्नो डुंगा खियाउँदै लेकसाइड पुग्छन् ।

३२ जनाको दूध उनले ९ बजेभित्र नै लेकसाइड पु¥याउनुपर्छ । ‘छिटोछिटो ल्याउनुस् न, अहिले ढिला भो भने गाली खान पर्छ,’ डुंगामा दूधका बाल्टी छिटो राख्न उनी आग्रह गर्छन् ।

दूध ओसारेवापत शालिकरामले महिनामा १० हजार रुपैयाँ पाउँछन् । आफूले पनि दूध बेच्छन् । घरमा ६ गाईभैंसी पालेका छन् । यसले नै उनलाई गुजारा चलाउन सहयोग गरेको छ ।

८ वर्ष भयो, शालिकरामले दूध ओसार्न लागेको । दूधमात्र होइन उनले गाउँलेले आफ्ना छोराछोरीका लागि पठाउने तिउनतरकारी पनि बोक्नु पर्छ ।

देवीलाल बराल (५६) बोत्तलमा दूध र प्लास्टिकमा काउली, बन्दा र खुर्सानी बोकेर शालिकरामको डुंगा नजिकै आइपुगे । ‘छोराको हाताँ लाइदेऊ है, दूधतरकारी उसलाई दिनु,’ शालिकरामलाई देवीलाल भन्छन् ।

०००

रित्तो छ गाउँ । तालपारि गाउँमा ससाना बालबालिका र वृद्धवृद्धा मात्र छन् । युवा र माध्यमिक तहका विद्यार्थी तालवारि नै बसेर पढ्छन् । बाटोको सुविधा नहुँदा विद्यार्थी अनि काममा लागेका युवा गाउँमा बस्दैनन् ।

गाउँका बारी बाँझा छन् । केवल गाउँलेको पलायनले होइन । बाहिरका आएर गाउँका जग्गा किनेर राखेका छन् । गाउँकै सँग धेरै जमिन पनि छैन । बेचेर पोखरा झर्न पनि सक्दैनन् । ‘पहिला ८०÷९० घरधुरी थिए, अहिले सबै गइसके, हामी जग्गा बेचेर जाउँ भनेपनि छैन,’ स्थानीय छविलाल बराल सुनाउँछन् ।

प्राथमिक तहसम्मको विद्यालय नजिकै छ । १ घन्टाको बाटोमा । क्रिस गुरुङ विद्यालयसम्म जान आफ्नी ‘मिस’ कुरिरहेका छन् । एक्लै जान सक्दैनन्, वनको बाटो छ । ‘बाघ आउँछ, एक्लै जान डर लाउँछ, मिस आएसि सँगै जानि हो,’ उनी भन्छन् ।

ताल तर्न नसक्ने विद्यार्थी माध्यमिक तह पढ्न साढे २ घन्टा पैदल हिँडेर पुम्दीभुम्दीको शुक्रराज माध्यमिक विद्यालय पुग्छन् । बाक्लो वनको बाटो हुँदै ६÷७ विद्यार्थीमात्र जान्छन् । ८ बजे घरबाट निस्किनुपर्छ उनीहरुलाई ।

‘सुगमको दुर्गम’

महानगरमै परेर यो गाउँ विकासभन्दा टाढा छ । स्थानीय भन्छन्, ‘हामी त सुगमको दुर्गम’ र ‘पोखराको कर्णाली’ भयौं ।’

बाटो, विद्यालय नहुँदा उनीहरु महानगरभित्रै भएपनि महानगरबासी नरहेको टिप्पणी गर्छन् । छविलाल बरालले आफूहरुलाई सरकारले उपेक्षा गरेको गुनासो गरे ।

‘हाम्रो पहुँच ठूलासँग भएन, ठूलाहरु गाउँ फर्कन्नन्, जनघनत्व हेरेर प्रतिनिधिहरु चल्छन्, जहाँ ठुलो बस्ती त्यहीँ सक्रियता,’ उनले भने ।

पामे जोड्ने ट्र्याक गाउँले आफैंले खोलेका हुन् । तर, यसको मर्मतसम्ंहारमा पनि महानगरले ध्यान दिन सकेको छैन । ‘हामीले नै श्रम, पैसा उठाएर खोल्यौं, उनोरले हेर्दिदैनन्, बोलवालाको मात्र चल्ने भो यहाँ,’ छविलालले भने ।

पात्लेबाट नजिकको हेल्थपोस्ट पुग्न २ घन्टा पैदल हिँड्नुपर्छ । वडा कार्यालय नजिकको हेल्थपोस्टसम्म जान गाउँलेलाई हिँड्नुको विकल्प छैन ।

विकासमा सरकाले उपेक्षा गरे पनि ताल पुरिँदै गएकोमा भने उनीहरु चिन्तित छन् । छविलाल भन्छन्, ‘पुरिँदै गरेको ताल बचाइदिनुस्, हामी बाटो माग्दैनौं, स्कुल माग्दैनौं, हेल्थपोस्ट माग्दैनांै ।’

फेवा ताल वर्षेनी पुरिँदै जाँदा पात्ले तल दलदल बनेको छ । डुंगा नै अड्कने डर गाउँलेलाई छ । उनले ताल किनार क्षेत्र दलदल भइसकेको ताल पुरिँदा पनि सरकारले केही गर्न नसकेको गुनासो गरे ।

वडा ठूलो हुँदा समस्याः वडाध्यक्ष

पोखरा २२ का वडाध्यक्ष मित्रलाल बराल वडा ठूलो हुँदा समस्या आएको बताउँछन् । वडा ठूलो भएपनि महानगर र प्रदेशबाट सोही अनुपातमा बजेट नआउँदा समानान्तर विकास गर्न नसकिएको वडाध्यक्ष बरालको तर्क छ ।

चालु आर्थिक वर्षमा वडाबाट पात्लेको बाटो मर्मतका लागि १ लाख रुपैयाँ बजेट परेको छ । महानगर र प्रदेशबाट भने पात्ले क्षेत्रको विकासका लागि कुनै बजेट नपरेको उनले सुनाए । वडाबाट अधिकांश बसाइँसराइ गरिसकेकाले पात्लेका लागि बोल्नेको पनि कमी भएको वडाध्यक्ष बरालले बताए ।

‘अब यहाँका सबै बाहिर गइसके, रहेकाहरु बोल्न सक्दैनन्, आओ, बजेट माग गरो भनेपनि कोही सक्दैनन्,’ उनले भने, ‘म ७० वर्ष भएँ, यहीँ जन्मिएँ, हुर्किएँ, मलाई यसको माया छ नि, तर बजेट धेरै आउँदैन, कसरी काम गर्न र ?’ आफूले पात्लेको अवस्था बुझेपनि बजेट धेरै नआउनले त्यसको विकासमा काम गर्न नसकेको उनी स्विकार्छन् ।

तपाईको प्रतिक्रिया