शिक्षालाई सीप र प्रविधिसँग जोडौंः लम्साल

समाधान संवाददाता २०७७ फागुन २० गते १२:४७

समाधान संवाददाता, पोखरा

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल गण्डकी प्रदेश समन्वय समितिले बुधबार गण्डकी प्रदेशको शैक्षिक अवस्था र आगामी कार्यदिशाबारेगण्डकी प्रदेश स्तरीय नीतिगत संवाद कार्यक्रम गरेको छ ।

कार्यक्रममा अभियानको गण्डकी प्रदेश स्तरीय समन्वय समिति गठनसमेत गरिएको छ ।अभियानको विधान तथा नियमावली अनुसार गठन भएको समितिको संयोजकमा इन्दिरा पौडेल छन् ।

Advertisement

उनी अभियानको १० औं अधिवेशनबाटकेन्द्रीय तथा प्रदेश संयोजक निर्वाचित भएकी थिइन् । समन्वय समितिको सहसंयोजक राजेन्द्र बोहोरा, सचिवलक्ष्मी कुँवर, कोषाध्यक्ष वेदप्रसाद न्यौपाने छन् ।

समितिका सदस्यमा रामप्रसाद शर्मा, मीनबहादुर थापा, शुकराम दुलाल, जनक खत्री र सुनिता पौडेल रहेको संयोजक पौडेलले जानकारी दिइन् ।

Advertisement

गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले शिक्षालाई सीप प्रविधि र उत्पादनसँग जोड्नुपर्ने बताए । उनले परम्परागत तथा पुरानो ढर्राको शिक्षालाई अंगालेको खण्डमा पार लाग्न नसकिने तर्क गरे । ‘हाम्रा कतिपय पुराना संस्कृति र सीप राम्रा र उदाहरणीय छन्,’मन्त्री लम्सालले भने, ‘त्यस्ता सीप तथा शिक्षण सिकाइ नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ ।’

मन्त्री लम्सालले सबै सरोकारवालाको समन्वय र सहकार्यमा शैक्षिक क्षेत्रको सुधार गर्न सकिने उल्लेख गरे । उनलेशिक्षाका सुधारका अभियन्ताले विरोध गर्नेभन्दा सरकारी निकायको समन्वयमा काम गर्नुपर्ने सुझाव दिए ।

समाजशास्त्री प्राडा विश्वकल्याण पराजुलीले सरकारी निकायका ओहोदामा रहनेले कार्यकालमा मात्र शिक्षाको बहस गरेतापनि अभियन्ताले शिक्षाको सवाललाई निरन्तर रुपमा उठाउने टिप्पणी गरे ।

शिक्षामा गरेको लगानी खेर नजाने उल्लेख गर्दै उनले शिक्षाको क्षेत्रमा सरकारले गुणात्मक रुपमा लगानी गर्नुपर्ने बताए । उनले संविधानले शिक्षालाई मौलिकको रुपमा व्यवस्था गरेकोले गण्डकी प्रदेश सरकार अनुसारको नीतिगत व्यवस्था गर्नुपर्ने चर्चा गरे ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पहाडीले सार्वजनिक शिक्षाको माध्यमबाट मुलुकको समग्र रुपान्तरण गर्न सकिने दाबी गरे ।

शिक्षामा प्रयाप्त लगानी गरे सार्वजनिक शिक्षाको विकास गर्न सकिने उल्लेख गर्दै उपाध्यक्ष पहाडीले विद्यार्थीलाई विद्यालयमा झिकाउने, सिकाउने, टिकाउने र विकाउने बनाउनुपर्ने धारणा राखे ।

जीवन उपयोगी शिक्षा आजको आवश्यकता भएको चर्चा गर्दै उनले कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्नुपर्नेमा ११ प्रतिशतमा सिमित गरिएको आरोप लगाए ।

कार्यक्रममा गण्डकी प्रदेश सभा विधायन समितिका सभापति मोहन रेग्मी, गण्डकी प्रदेश सभा सदस्य प्रभा कोइराला, सामाजिक विकास मन्त्रालय शिक्षा महाशाखाका प्रमुख तोयनाथ लम्साल, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका महासचिव लालबहादुर ओली, गण्डकी प्रदेश समिति अध्यक्ष इन्दिरा पौडेल, सहसंयोजक राजेन्द्र बोहोरा लगायतले निशुल्क र गुणस्तरीय शिक्षाको अपरिहार्यताबारे बोेलेका थिए ।

नेपालमा शिक्षा अधिकार र वकालतको क्षेत्रमा काम गर्ने ४ सय ९ संघ संस्थाको साझा सञ्जालका रुपमा रहेको शिक्षाको लागि राष्ट्रिय अभियान नेपालले सबै बालबालिकाको समावेशी, समतामूलक र गुणस्तरीय शिक्षा सुनिश्चितताको निमित्त नीतिगत वकालत, सचेतीकरण, क्षमता अभिवृद्धि तथा अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया