पर्यटन व्यवसायीले गरे मर्दी पदमार्ग सफाइ

समाधान संवाददाता २०७७ चैत ३ गते १९:५१


समाधान संवाददाता, पोखरा

मर्दी हिमाल पदयात्रामा पुगेका पोखरेली पर्यटन व्यवसायीले पदमार्ग सरसफाइ गरेका छन् । ट्रेकिङ इक्युपमेन्ट सप एसोसिएसन (टेसा) पोखराको आयोजनामा पदयात्रा एवं ट्रेकिङ सामग्री चिनारी कार्यक्रममा पुगेका व्यवसायीले मंगलबार पदमार्ग सरसफाइ गरेका हुन् ।

उनीहरुले पदमार्ग अन्तर्गतको हाइक्याम्प क्षेत्रबाट फर्कंदै गर्दा बादलडाँडासम्म सरसफाइ गरे । हाइक्याम्पबाट तल झर्दै गर्दाको डेढ घन्टासम्म व्यवसायीले पदमार्गमा भेटिएका प्लास्टिकजन्य फोहोर संकलन गरेका हुन् । आफूहरुले चकलेट, बिस्कुट, चाउचाउ, पानीको बोत्तल लगायत संकलन गरेको टेसा पोखराका अध्यक्ष नारायण सापकोटाले जानकारी दिए । `प्लास्टिकजन्य फोहोर लामो समयसम्म रहने र त्यसले वातावरणमा असर पार्ने भएकाले फर्कंदै गर्दा त्यसको व्यवस्थापन गरेका हौं,ʾ उनले भने, ʿपदमार्ग हाम्रा सम्पत्ति हुन् । घुम्न आउँदा हामीले व्यवस्थापन गरेको देखेपछि स्थानीयले सरसफाइमा अझ ध्यान दिनुहुन्छ भन्ने लागेर यो काम गरेका हौं ।ʾ

Advertisement

पदमार्गको फोहोर व्यवस्थापन गर्न ठाउँ ठाउँमा डस्टिबिन राख्न र सरसफाइमा ध्यान दिन पदमार्ग व्यवस्थापन समितिको ध्यानाकर्षण गराइएको अध्यक्ष सापकोटाले बताए । पदमार्ग सामग्री चिनारी कार्यक्रम लिएर ४ दिनको पदयात्रामा निस्किएको ३० जनाको टोली मंगलबार बादलडाँडामा बसेको छ ।

बादलडाँडाबाट ४ घन्टा लगाएर यो टोली बुधबार बिहान सिदिङ झर्नेछ । सिदिङ क्षेत्र पुग्दासम्म पनि पदमार्गका प्लास्टिकजन्य फोहोर व्यवस्थापन गरिने पदयात्रा संयोजक एवं टेसाको निर्वतमान अध्यक्ष रामचन्द्र गिरीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया