बागलुङ प्रकरणः सामान्य विवादमा राजनीति घुस्दा २ ले गुमाए ज्यान

समाधान संवाददाता २०७७ चैत १६ गते १३:२३

समाधान संवाददाता, पोखरा

आइतबार पहाडी होलीको बिहानबाट नै बागलुङ बल्देधुरीमा सयौंको घुइँचो थियो । बागलुङको बडिगाड गाउँपालिका र प्युठानको सिमानामा रहेको बल्देधुरीमा होली मेला आयोजना गरिएको थियो ।

बिहानैबाट होली खेल्ने, रङ लगाइदिने कार्यक्रम चरिरहेकै थियो । पानी छ्याप्ने, रङ लगाउने भन्दै निसिखोला, बडिगाड तथा प्युठानका मानिस त्यहाँ जम्मा भएका थिए ।

Advertisement

त्यही मेलामा पुगेका २ जना भने अब फर्कने छैनन् । आफन्त, साथीभाइसँग रङ लगाउन पुगेका उनीहरुको मृत्यु पछि आफन्तको जीवनकै रङ उडेको छ ।

होली खेल्न बल्देधुरी पुगेका निसिखोलका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइको ज्यान गएको हो । मेलामा झगडा भएपछि उनीहरुलाई भीरबाट धकेलिएको थियो । ‘भीरबाट खसालेर मारिएको भनेर प्रत्यक्षदर्शीले भन्नुभाछ, एकदमै दुखले मारिएछन्,’ निसिखोला–९ का वडाध्यक्ष तेजेन्द्र कुँवरले बताए ।

Advertisement

साँझ ५ बज्दासम्म बल्देधुरी शान्त नै थियो । तर परिस्थिति एकाएक बद्लियो । एक महिलालाई रङ दलेको विषयमा विवाद उत्पन्न भएको बताइन्छ । झगडा बढ्दै गएपछि प्रकाश त्यहाँ पुगेका थिए ।

‘झगडा मिलाउन’ त्यहाँ पुगेका प्रकाशमाथि नै ती युवाहरु जाइ लागे । उनीहरुमात्रै जाइ लागेनन्, अरु पनि त्यहाँ थपिए । दीपक भने प्रकाशसँगै झगडा भएको ठाउँ पुगेका थिए । ‘उनीहरु झगडाको मनस्थितिले गएको देखिँदैन, निर्घात कुटेर धकेलिदिएछन्,’ कुँवरले भने ।

वडाध्यक्ष कुँवरले ती थपिएका पुरुषहरुले राजनीतिको विषय उठाएको बताउँछन् । माओवादीका कार्यकर्ताले पहिला झगडा साँधेर पिटेको कुँवरले बताए । ‘माओवादीका जिम्मेवार व्यक्ति आएर कुटेछन्,’ कुँवरले भने । प्रकाश नेपाली कांग्रेस बागलुङ जिल्ला कार्यसमिति सदस्य हुन् भने दीपक कांग्रेस कार्यकर्ता हुन् ।

कुँवरका अनुसार यसअघि पनि पटकपटक माओवादीका कार्यकर्ता र उनीहरुबीच भनाभन हुने गरेको थियो । घटनामा कांग्रेसका १२–१५ जना घाइते रहेको कुँवरले बताए । ‘हिजो बेपत्ता भएका रहेछन्, ज्यान बचाउन, आज सम्पर्कमा आए, एक जनाालाई उपचारका लागि पाल्पा रेफर गरेको छ,’ कुँवरले भने ।

मृतकको शव अहिले अस्पतालमा राखिएको छ । शवको व्यवस्थापन गर्ने वा कुनै कदम चाल्ने बारे पार्टीमा छलफल भइरहेको कुँवरले बताए । कुँवरका अनुसार यसअघि पनि त्यो ठाउँमा पटकपटक झगडा हुने गरेको थियो । निसिखोला, राजकुटका स्थानीयलाई बडिगाडका स्थानीयले त्यहाँ पटकपटक हातपात गर्ने गरेको उनले बताए ।

यसैबीच नेपाली कांग्रेसले बल्देधुरीमा भएको घटनाका दोषीलाई चाँडो भन्दा चाँडो कारबाही गर्न माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही गरिनुपर्ने बताएका छन् ।

‘बल्देधुरीमा आइतबार भएको अमानवीय घटना अत्यन्तै निन्दनीय छ । होली खेल्ने क्रममा नै भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या भएको हो या यसका पछिल्तिर योजनाबद्ध षड्यन्त्र छ ?’ शर्माले लेखेका छन्, ‘यसको गहिरो अनुसन्धान गर्न तथा दोषीहरुलाई अविलम्ब पक्राउ गर्न नेपाली कांग्रेस सरकारसमक्ष माग गर्दछ ।’

तपाईको प्रतिक्रिया