अभाव नाघेर अग्लिएको अमलटारी

समाधान संवाददाता २०७७ चैत १७ गते १८:५८

अनिष भट्टराई, पोखरा

माटोले बनाइएका ससाना घरहरु छन् । खरका छानाको ओत भएका हरेक घरमा २ कोठा छन्, जहाँ ४ जनामात्र राखिन्छ ।

हरिया धानखेतमा धानका बिरुवा झुलिरहेछन् अगाडि । घर अगाडि बस्नका लागि गोलाकार छाप्रा बनाइएका छन् । घरमा पाहुना आए भने पस्किने खाजा चिचर र लोडेको साग हो ।

ज्रिबो लोभ्याउने लोकल कुखुरा, हाँस र घोगी पनि पाहुनाको सत्कारका परिकार हुन्छन् । बेलुका स्थानीय नृत्य र गीत पनि प्रस्तुत हुन्छ । पछिल्लो समय होमस्टेमा पाहुना राखेर कहलिएको नवलपुरको अमलटारी गाउँ थारु जातिको जिउँदो संग्रहालय बनेको छ ।

चिचर यस्तो परिकार हो, जुन चामलबाट बन्छ । यस्तो परिकार थारुबाहेक अरु जातिसँग छैन । घोंगी हेर्दा शंकेकीरा जस्तो देखिन्छ, तर यो तराईका सिमसारहरुमा पाइन्छ । बुढापाकाहरु घोंगी खाएरै थारु जातिले मलेरियासँग जुधेर तराईमा बस्न सकेको बताउँछन् ।

मुख्य बजार कावासोती र डन्डा बजारबाट ७ किलोमिटर दक्षिणको यो गाउँको कथा ७ वर्षअघिसम्म भने बेग्लै थियो । अहिले जति ध्यान अमलटारीले पाएको छ, २०७० सम्म त्योभन्दा बढी उपेक्षामा थियो अमलटारी ।

नारायणी नदीको किनारको यो गाउँ सहरबाट टाढा र विपन्न थियो । गाईगोठालाहरुलाई यो ठाउँ चरन थियो । बाटोघाटो, सरसफाइ थिएन । बालबच्चाहरु पढाउनुपर्छ भन्ने चेत थिएन ।

गाउँलेहरु ज्यालामजदुरी गरेर नै जीविकोपार्जन गरिरहेका थिए । स्थानीय छन्नुराम महतो (३६) पुराना दिन सम्झन्छन्, ‘यहाँ मुर्दाघाट थियो, मान्छे जलाउने, गाड्ने ठाउँ थियो यो । पहिला त, एकदमै पछि परेको ठाउँको स्थानीय थियौं, डन्डा बजारकै मान्छेले यो ठाउँ चिन्दैनथे ।’

त्यतिबेला अघ्यौली गाविस ५ बाघखोर भनिने यो ठाउँका स्थानीयले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको संरक्षण गर्थे । भलै, जंगलका जनावरले उनीहरुको बाली नै किन नरित्याइदिउन्, उनीहरुले वनको संरक्षण गरिरहेकै थिए ।

बाघखोरनजिकै केही राम्रा होटल खुलेका थिए । ती होटलहरुले सफारी र केही रात बसे बापत् सयौं डलर लिन्थे । स्थानीयहरुले भने वनको संरक्षण गरेर कुनै फाइदा लिएका थिएनन्, बरु उल्टै सास्ती झेलिरहेका थिए । कहिले गैंडा आएर बाली खाइदिन्थे त कहिले हात्ती आएर खाइदिन्थे ।

आफ्ना दुखको भोग अरु कसैले खाइरहेको थाहा पाएपछि त्यहाँका स्थानीयलाई हामी आफैं पनि केही सुरु गरौं भन्ने चाह बढ्न थाल्यो ।

अर्का स्थानीय धनीराम गुरौंलाई गाउँका स्थानीयको दुखको फल अरुले नै लिएको मन परेको थिएन । डब्लुडब्लुएफ (वल्र्डवाइड फन्ड फर नेचर) को सहयोगमा वनको संरक्षण पनि हुने स्थानीयको जीवन बदलिने उपाय सोचे ।

उनीहरु बर्दियाको डन्डामा सञ्चालित होमस्टे अवलोकन गर्न गए । र, २०७० जेठ ५ मा बाघखोरमा होमस्टे सञ्चालनमा ल्याए ।

होमस्टे सुरु गर्न डब्लुडब्लुएफले प्रत्येक घर बापत् ५० हजार रुपैयाँ सहयोग ग¥यो । अहिले अमलटारीमा ३१ घरमा होमस्टे राखिएको छ । ‘हामीले वन, वन्यजन्तु र गाउँलेकै विकासका लागि सोचेका थियौं, अहिले पूरा गाउँनै परिवर्तन भइसक्यो,’ होमस्टेका प्रबन्धक गुरौंले भने ।

प्रत्येक परिवारले ३ लाखका दरले पैसा उठाएर होमस्टे सुरु गरिएको थियो । होमस्टे सुरु गर्ने भनेपछि छन्नुराम महतोले पनि पैसा जम्मा गरे । गाउँमै ज्यालादारी गर्ने उनले ऋण काढेरै पैसा बुझाए । अहिले त्यो लगानीले उनलाई मालामाल बनाएको छ । उनले आफ्नै निजी होमस्टे पनि सुरु गरेका छन् ।

‘पहिला ज्यालादारीमा हिँड्थे, जीवन कठिन थियो, अहिले भने घरमै पाहुनाका सेवा गरेर राम्रो आम्दानी गरेको छु,’ महतोले भने ।

होमस्टे सुरु गरेपछि पवित्रा महतोले झन् दोब्बर फाइदा उठाउन सकेकी छन् । उनले गाउँमै पसल सञ्चालन गरेकी छन् । गाउँ आउने पर्यटकलाई चाहिने हरेक सामान उनले बेच्छिन् । पवित्राका पति पहिला घोट्टिएर काम गर्दा पनि छाक टार्न मुस्किल हुन्थ्यो । अहिले होमस्टेले अवस्था फेरेको छ । ‘काम जति गरे पनि छाक टार्नै अपुग हुन्थ्यो, तर होमस्टे र पसल भएपछि त अवस्था फेरिएको छ,’ पवित्राले सुनाइन् ।

१८ घरबाट सुरु भएको यो होमस्टेमा अहिले ३१ घर छन् । केही व्यक्तिले निजी होमस्टे समेत सञ्चालन गरेका छन् । होमस्टे चलाउनका लागि होमस्टे समिति र कार्यालय नै स्थापना गरेर राखिएको छ । कार्यालय खर्च भनेर मासिक १० प्रतिशत आम्दानी कटाइन्छ । बाँकी ९० प्रतिशत चाहिँ ३१ घरमा बाँडिन्छ ।

‘ज्याला मजदुरी गर्दा दुख पनि उस्तै, पैसा साह्रै कम हुने, अहिले त ८० हजारसम्म कमाउँछौं,’ छन्नुरामले सुनाए । अमलटारी केबल अरुलाई सेवा दिइरहेको मात्र छैन, सेवा पनि लिइरहेको छ । अमलटारीका मानिसको जीवनस्तर कायापलट भएको छ ।

धनमाया महतो (२७) पहिला बाहिरका मानिससँग बोल्न डराउँथिन् । आफ्नै गाउँकै पुरुषहरुसँग बोल्न पनि उनलाई धक लाग्थ्यो । अहिले भने उनी विदेशी पाहुनासँग अंग्रेजीमै निर्धक्क बोल्न सक्छिन् । विदेशी पाहुना आउँदा धनमायासँगै पिंकी महतो र गाउँका अन्य महिला नडराई प्रस्तुत हुन्छन् । ‘हामीलाई व्यवस्थापन समितिले ३ महिने तालिम दिएको थियो, पहिला वेलकम, थ्यांक्युमात्र भन्थ्यौं, अहिले राम्रै बोल्न सक्छौं,’ धनमाया भन्छिन् ।

महिनामा २५ सय जनासम्म पर्यटक अमलटारी पुग्छन् । अफ सिजनमा पनि मासिक १ हजार पाहुनालाई अमलटारीले आतिथ्यता दिन्छ । ‘अहिलेसम्म ७२ हजार बढीलाई सेवा दिएका छौं, अन्य पाहुनालाई पनि सेवा दिन आतुर छौं,’ धनीरामले भने ।

‘फेरी लकडाउन लाए त उठिबास लाग्छ’
छन्नुराम महतो, सञ्चालक होमस्टे नम्बर ११

सिजनको बेला थियो । एक्कासि लकडाउन लाग्यो । १ महिना होला भन्यो, २ महिना होला भन्यो, यतिका लामो समय लकडाउन लगाए । हाम्रो मुख्य आय स्रोत नै पर्यटक हुन्, पर्यटक नै आउन पाएनन् । हामी त ७ वर्षअघि जस्तो अवस्थामा थियौं, त्यहीँ पुग्यौं । लकडाउन त चाहेकै थिएनौं, बरु बच्ने उपायहरु अपनाउने थियौं । फेरी पनि लकडाउन लगाउने रे भन्ने हल्ला गर्छन् ।

अब पनि लकडाउन लाग्यो भने त हाम्रो उठिबास नै लाग्छ । पहिलाको लकडाउनको प्रभाव बल्ल मेटेका छौंं, अब लकडाउन लगाए भने हामी त ज्यालामजदुरीमै फर्कनुपर्छ । होमस्टे व्यवस्थापन र भाइरसबाट बच्न जे गर्नुपर्छ गर्न तयार नै छौं । अब चाहिँ लकडाउन नलागोस्, नत्र जीवन धान्नै गाह्रो हुन्छ । खेती किसानी छाडेर यता आएका छौं, पर्यटक नआए केले खानु ?

तपाईको प्रतिक्रिया