‘सहिद, घाइते सधैँ उपेक्षित’

समाधान संवाददाता २०७८ वैशाख १३ गते ८:२२

समाधान संवाददाता, पोखरा

१५ औं लोकतन्त्र दिवसको अवसरमा जनआन्दोलन सहि परिवार तथा घाइते समन्वय समिति कास्कीले सहिद भीमसेन दाहालको शालिकमा दीप प्रज्वलन गरेको छ ।

कार्यक्रममा समिति अध्यक्ष शेखर गौतमले २०६२÷०६३ सालको जनआन्दोलनका घाइते तथा योद्धाको सवाललाई सरकारले नीतिगत रुपमा सम्बोधन गर्न नसकेको बताए ।

Advertisement

जन आन्दोलनको जगमा संघीयता, गणतन्त्र र धर्म निरपेक्षता कायम भएको उल्लेख गर्दै उनले आन्दोलनका योद्धाको योगदानको कदर गर्दै प्राप्त उपलन्धि रक्षा गर्नु आवश्यक रहेको धारणा राखे ।

‘जनआन्दोलनका घाइतेको अवस्था र सहिद परिवारको पीडा जस्ताको तस्तै छ,’अध्यक्ष गौतमले भने, ‘त्यति वेलाका घाइतेले अझै उपचार पाएका छैनन् । जन आन्दोलनका योद्धाका लागि अझै परिचयपत्रको व्यवस्था गरिएको छैन ।’

Advertisement

उनले घाइतेलाई स्वास्थ्य उपचार लगायत राज्यले दिने सेवा, सुविधा उपलब्ध नगराएको उल्लेख गरे । अध्यक्ष गौतमले राजनीतिक परिवर्तनको फाइदा नेताहरुले मात्र लिएको आरोप लगाए ।

इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले विधिको शासन संस्थागत नभएसम्म लोकतन्त्र सुदृढ नहुने बताए ।

राजनीतिक दल तथा सरकारले लोकतन्त्र दिवस नमनाएको दाबी गर्दै उनले सरोकारवाला सबै मिलेर लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने उल्लेख गरे ।

उनले नागरिक समाजको तर्फबाट राजनीतिक दल तथा सरकारप्रति खबरदारी र निगरानी कायमै रहेको धारणा राखे ।

कार्यक्रममा जनआन्दोलन सहिद परिवार तथा घाइते समन्वय समिति कास्की उपाध्यक्ष नारायणप्रसाद सुवेदी,सचिव विजया सुवेदी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया