५ दिनमै क्षेत्रीय अस्पतालको आइसोलेसन भरियो

समाधान संवाददाता २०७८ वैशाख २३ गते ७:५४

२०–५० उमेरका बढी, ९५ प्रतिशतलाई अक्सिजन
दैनिक ६० सिलिन्डरसम्म अक्सिजन खपत, पु¥याउन हम्मेहम्मे

अमृत सुवेदी, पोखरा

स्याङ्जा गल्याङ नगरपालिका ११ का ५० वर्षीय पुरुषमा १८ वैशाखमा संक्रमण देखियो । त्यसको भोलिपल्ट उनलाई एक्कासि सास फेर्न गाह्रो भयो ।

Advertisement

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड आइसोलेसन सुरु भएको १ दिनमात्र भएको थियो । बेडको अवस्था बुझेर बिरामीलाई गल्याङदेखि प्रतिष्ठानको कोभिड उपचार केन्द्र पु¥याइयो ।

अस्पताल ल्याई पु¥याउँदा उनमा ७२ प्रतिशत अक्सिजनको मात्रा थियोे । कोभिडका बिरामीमा ९३ प्रतिशतभन्दा कम अक्सिजनको मात्रा देखियो भने अस्पताल लैजानुपर्ने प्रतिष्ठानका कोभिड फोकल पर्सन डा. शरद बराल बताउँछन् ।

Advertisement

१९ गते अस्पताल भर्ना भएर उपचारथालेपछि सुधारोन्मुख भएका भनिएका ती पुरुषमा मंगलबार राति फेरि एक्कासि अक्सिजनको मात्रा ह्वात्तै घट्यो ।

कोभिडले सिर्जना गरेको निमोनियाका कारण आइसोलेसनमा उपचारका क्रममै मंगलबार राति उनको मृत्यु भयो । ‘एक्कासि सास फर्न गाह्रो भयो । हुन पनि अहिलेको दोस्रो लहरमा ठीक भए भनेका बिरामीमा कतिबेला के हुन्छ भन्ने थाहै हुँदैन,’ फोकल पर्सन डा. बरालले भने ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्र पुग्दा फोकल पर्सन डा. बराल ती पुरुषको शव व्यवस्थापन गर्न नेपाली सेनासँग सम्पर्क गरिरहेका थिए । ५० वर्षकै उमेरमा कोभिडकै कारण ज्यान गुमाएपछि आइसोलेसनको मनिटरिङ रुमबाट डा. बरालले अन्य बिरामीतिर ध्यान केन्द्रित गरिरहेका थिए ।

यो त उदाहरणमात्रै हो । प्रतिष्ठानको आइसोलेसनमा मात्र अधिकांश अक्सिजनको सहारा लिइरहेका बिरामी ४०÷५० उमेर समूहकै छन् । डा. बरालका अनुसार ह्वात्तै अक्सिजनको मात्र कम भएपछि देशमा कतिले अस्पताल पु¥याउँदा पु¥याउँदै ज्यान गुमाएका छन् भने कतिले अस्पतालमा अक्सिजन लगाउँदा लगाउँदै पनि ज्यान गुमाइरहेका छन् ।

१९ गते गण्डकीमा ८ जना कोरोना संक्रमितले ज्यान गुमाए । भोलिपल्ट ४ जनाको कोरोनाले नै ज्यान लियो । बुधबारमात्रै पनि स्याङ्जा र पर्वतका २ जनाले ज्यान गुमाए । ती मानिस कस्ता खालका हुन् त ? ‘पहिले अक्सिजन प्रयोग गर्नुपर्ने कम आउँथे, अहिले त धेरैजसोलाई अक्सिजन चाहिनेखालका छन्,’ डा. बराल भन्छन् । होसियार हुन जरुरी छ ।’

गण्डकी प्रदेशमा कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि पहिलो लहर कम भएर बन्द गरिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसोलेसन ५ दिनअघिमात्र फेरि सुरु गरिएको हो ।

प्रदेशको एकमात्र संक्रामक तथा सरुवा रोग अस्पताल भरिभराउ भएपछि त्यहाँका २ जना गम्भीर बिरामी ल्याई आइसियुमा राखेर उपचार थालिएको यो आइसोलेसन अहिले ५ दिनमै भरिइसकेको छ ।

‘कोभिडका ४० जना बेड राख्ने गरी आइसोलेसन बनाइएको हो । तर, कोरोनाका लक्ष्यण भएका गम्भीर बिरामीलाई पनि राख्ने गरी ५० बेड छन्,’ डा. बरालले भने, ‘अहिले आइसोलेसनमा ४८ जना बिरामी पुगिसकेका छन् र बेड खोज्दै फोनको घन्टी बजिरहेको छ ।’

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसालेसनमा भर्ना भएका बिरामीको अवस्था हेरेर कोभिडको भयावह दर्शाउने तथ्यांक के छ भने त्यहाँका ९५ प्रतिशत बिरामीलाई अक्सिजन दिएर राख्नुपर्ने अवस्था छ ।

‘अहिलेका बिरामी धेरै अक्सिजन चाहिने खालका आउनुभएको छ । अक्सिजनकै व्यवस्था गर्न पनि हम्मेहम्मे परेको अवस्था छ,’ डा.बरालले भने, ‘त्यसैले के अनुरोध गर्न चाहन्छु भने, एकदमै होसियार रहन जरुरी छ, यो पहिलेको जस्तो छैन ।’

प्रतिष्ठानमा अहिले दैनिक ६० सिलिन्डरसम्म अक्सिजन खपत भइरहेको र पु¥याउनसमेत हम्मेहम्मे गरिरहेको उनको भनाइ छ । देशभर कोरोना संक्रमण र गम्भीर बिरामीको संख्या बढिरहेका बेला गण्डकी प्रदेशबाटमात्रै नभएर अन्य ठाउँबाट पनि कोभिडका बिरामी आइरहेका छन् ।

बुटवल, दाङदेखि बेड खोज्दै कोभिडका बिरामी आइरहेको बरालले जानकारी दिए । मंगलबारमात्र काठमाडौंमा बेड नपाएर कोभिडका बिरामी उपचार गर्न बागलुङको धौलागिरि अस्पताल आइपुगेका थिए ।

‘बुटवल, दाङ, तनहुँ लगायत ठाउँबाट बिरामी आइरहनुभएको छ । फ्लो अत्यधिक मात्रामा बढिरहेको छ । बेड सोधिराख्नुहुन्छ । बेडको सुनिश्चित नगरी बिरामी आउँदा अक्सिजन नपाएर छटपट गर्ने परिस्थिति नआओस् भन्नपहिले नै सुनिश्चित गर्नुस् र आउनुस् भनेर परामर्श गरेका छौं,’ डा. बरालले भने ।

सबै पिसिआर पोजेटिभलाई समस्या देखियो भने बेडले २ दिन पनि धान्न नसक्ने डा. बरालको चिन्ता छ ।

‘अक्सिजनको मात्रा घट्दै गएको अवस्थामा मात्रै अस्पताल आउने हो । तर धेरैमा यस्तो समस्या देखिन थाल्यो भने थेग्न सक्दैनौं,’ डा. बरालले भने ।

निजी अस्पताल छोइनसक्नु हुँदा सरकारी अस्पतालले अब धान्न नसक्ने उनको भनाइ छ । पोखराका सरकारी अस्पतालका आइसोलेसन गम्भीर प्रकृतिका बिरामीले नै भरिइसकेका छन् ।

‘निजीमा महँगो भएकाले धेरैजना सरकारीमै आउन खोज्नुहुन्छ तर सबैलाई राख्न सम्भव हुँदैन,’ डा. बरालको सन्देश छ, ‘सक्नेहरु र आर्थिक सामथ्र्यले भ्याउनेहरु निजीमै उपचार गर्नुस् र सरकारी आइसोलेसन अरु बढाउन सरकारले ध्यान देओस् ।’

कोरोनाको पहिलो लहर सकिएर दोस्रो लहर सुरु भइसक्दा पनि सरकार र सरोकारवाला गम्भीर नहुँदा अहिले पनि पूर्वाधार तयार नभएको चिकित्सकहरुले बताएका छन् ।

प्रदेश सरकार र स्थानीय तहले बेलैमा सोचेर आइसोलेसन बनाउने काम गरेको भए अहिले ठूलो समस्या नआउने प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचन बताउँछन् ।

कोरोनाले भयावह अवस्थाको संकेत गरेपछि मात्र सरकार झस्किएको उनीहरुको भनाइ छ । ‘दिनानुदिन कोरोना महामारी बढ्दै गएको अवस्थामा अक्सिजन पनि एकदमै आवश्यक रहन्छ । छिटोभन्दा छिटो आइसोलेसन कक्ष विस्तार र बेडहरु बढाउनुपर्ने अवस्था छ,’ डा. बरालको सुझाव छ,‘हामीलाई चुनौती पनि छ । एकातिर कोभिडका बिरामी पनि उपचार, अर्कातिर नियमित उपचारको सेवा गरिराख्नुपर्छ । थोरै मानव संशाधनले सबैतिर भ्याउनु परेको छ ।’

गण्डकीमा अहिलेसम्मकै उच्च संक्रमण दर

गण्डकी प्रदेशमा यसअघि १९ गते एकै दिन ५ सय ७६ जनामा संक्रमण भएको तथ्यांकले देखाएको थियो । यो शुक्रबार र शनिबारको समेत गरी आइतबार सार्वजनिक गरिएको तथ्यांक थियो । तर, बुधबार गण्डकी प्रदेशमा कोरोना संक्रमणको दरले अहिलेसम्मकै नयाँ रेकर्ड कायम गरेको छ ।

गण्डकी प्रदेशमा बुधबार एकैदिन ५ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार ३१ जना पुगेको छ ।

‘गण्डकी प्रदेशमा कोरोना सुरु भएयता सक्रिय संक्रमितको संख्या यति ठूलो पहिलोपटक रेकर्ड भएको हो,’ प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले भने, ‘अवस्था धेरै भयावह हुने बाटोमा छ । यो डरलाग्दो संकेत हो ।’

गण्डकीमासबैभन्दा बढी कोरोना संक्रमणबाट प्रभावित जिल्ला कास्की हो । बुधबारमात्र कास्कीमा २ सय ९२ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कास्कीमामात्रै सक्रिय संक्रमितको संख्या १ हजार ८ सय १ छ । कास्कीपछि प्रभावित जिल्ला बागलुङ छ । त्यहाँ अहिले सक्रिय संक्रमितको संख्या २ सय ७४ छ ।

पहिलो लहरमा सबैभन्दा बढी प्रभावित नवलपुर थियो । तर, अहिले नवलपुरलाई पनि कास्कीले कास्की र बागलुङले उछिनेका छन्। नवलपुरमा अहिले २ सय ४१ जना सक्रिय संक्रमित छन् । स्याङ्जामा २ सय १८सक्रिय संक्रमित छन् । गण्डकीमा अहिलेसम्म कोरोना संक्रमणबाट २ सय ३७ जनाले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया