मनाङका सरकारी कार्यालयलाई सोलार

समाधान संवाददाता २०७८ असार १९ गते ९:१०

समाधान संवाददाता, पोखरा

मनाङका १६ वटा सरकारी कार्यालयका लागि गण्डकी प्रदेश सरकारले सोलार प्यानल, इन्भर्टर र ब्याट्री उपलब्ध गराएको छ ।

बिजुली नभएका कारण अस्पतालको उपचार सेवा र सरकारी काम प्रभावित भएकाले सोलार खरिद गरी पठाइएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।

Advertisement

प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले छरितो प्रक्रियामार्फत् सामान खरिद गरी पठाएको हो । करिब १९ लाखका सामान खरिद गरेर हेलिकोप्टरमार्फत् चामे पठाउने व्यवस्था गरिएको छ ।

सामान ढुवानीका लागि लागेको ४ लाख ३१ हजार रुपैयाँ गण्डकी सरकारले नै व्यहोरेको छ । सार्वजनिक खरिद ऐनको दफा ४१(१) (घ३) बमोजिम विशेष परिस्थितिमा सार्वजनिक खरिद प्रक्रिया अपनाई सामान पठाइएको हो । सामान खरिद गरेर लमजुङ सदरमुकाम बेंसीसरहरमा पु¥याइएको छ ।

Advertisement

बुधबार नै सामान बेंसीसहर पु¥याएको भए पनि मौसम खराब भएका कारण हेलिकोप्टर उड्न नसकेकाले समस्या आएको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले बताए। मनसुनको सुरुसँगै मनाङ जिल्ला अन्धकारमा छ ।

बाढी, पहिरोका कारण स्थानीयस्तरका लघुजलविद्युत योजनामा क्षति पुगेको छ । राष्ट्रिय प्रसारण लाइनको पोल ढलेका कारण मनाङ सदरमुकाम चामेसहित गाउँहरुमा बिजुली बलेको छैन । असार मसान्तमा सम्पादन गर्ने कामसमेत बिजुली नभएकै कारण प्रभावित भएको छ ।

जिल्ला प्रशासन कार्यालय मनाङले तोकेको प्राथमिकता क्रम अनुसार सोलार सरकारी कार्यालयहरुलाई प्रदान गर्न लागिएको हो ।

मुख्यमन्त्री पोखरेलको अध्यक्षतामा असार ६ गते बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले सोलार खरिद गरी पठाउने निर्णय गरेको हो । विद्युतीय भुक्तानी र कम्प्युटर प्रणालीमा आधारित सेवा प्रवाह प्रभावित भएको थियो । स्वास्थ्य कार्यालय प्रमुख बद्री आचार्यले बिजुली नहुँदा कोभिडविरुद्धको खोप बचाउनै समस्या भएको बताए ।

अनुकूल मिलाएर पोखरादेखि आइस ब्याग मगाएर खोप जोगाएको उनले जानकारी दिए। जेनेरेटर प्रयोग गर्न पनि इन्धनको अभाव, दिनभरि घाम नलाग्ने हुँदा पनि खोप बिग्रन्छ कि भन्ने डर रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया