हर्पन सिल्टेसन ड्यामः बनाउँदै गम्भीर लापरबाही थियो, भत्कियो

सञ्जय रानाभाट २०७८ असार २५ गते १०:३३

संरचना नै कंक्रिट संरचना हुनुपथ्र्याे, डन्डीसहितको हुनुपथ्र्याे । ढलानै गर्नुपथ्र्याे । सामान्य पर्खाल बनाएर हुन्नथ्योः विज्ञ
सञ्जय रानाभाट, पोखरा

मुहान खोलाहरुले बर्सेनि बगाएर ल्याउने गेग्रानले फेवाताल पुरिँदै थियो । त्यही प्रक्रिया रोक्न पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले उपाय फुराए—मुहान खोलाहरुमा बाँध बाँध्ने ।

स्थानीय र प्रदेश सरकार मिलेर पोहोर ५ वटा खोलाहरुमा बाँध पनि बाँधियो । त्यसमध्ये हर्पनखोलाको सिल्टेसन ड्याम सुरुमै कमसल बनेको भनेर आलोचित थियो । स्थानीय जनप्रतिनिधि र प्रदेश सभा सदस्यहरुले समेत बाँध कमसल बनेको भन्दै आवाज उठाएका थिए । तर सुनुवाइ खासै भएन । त्यही ड्याम बुधबार राति परे भत्केको छ ।

Advertisement

प्रदेश र महानगरपालिकाले बनाएको एउटा विज्ञ समितिले त्यो बाँध भत्किन सक्ने जोखिमको सन्देश पहिल्यै दिएको पनि थियो । गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. विष्णु बरालको संयोजकत्वमा गठित समितिले बाँधको डिजाइनमै खराबी रहेको औंल्याएको थियो । उनी भन्छन्, ‘डिजाइनमै समस्या छ, रेट्रोफिटिङ गर्नुपर्छ भनेका थियौं ।’

डिजाइनमै समस्या भएका कुरा निर्माणका बेला सुधार गर्नुपर्ने, विज्ञबाट अनुगमन निरीक्षण गर्नुपर्ने कमजोरी पनि भएको उनले सुनाए । बरालले भने, ‘डिजाइनमै खराबी थियो । कुनै पनि खोलामा गएर संरचना बनाउँदा ख्याल गर्नुपर्ने कुरामा ख्याल नगरिएको पाइयो । म भएको भए त्यो डिजाइन रोक्थें ।’

Advertisement

डिजाइन गरेपछि पनि विज्ञको परामर्श लिएर अन्तिम रुप दिनुपर्नेमा त्यसोसमेत नभएको बरालले बताए । ‘बीचमा विज्ञले सुपरिवेक्षण गरेको भए पनि कमजोरी सुधार्न सकिन्थ्यो,’ उनले भने, ‘अध्ययन गर्दादेखि नै गर्नुपर्ने कुरामा ख्याल पुगेको देखिन्न ।’ उनले फलामका रडहरु प्रयोग गरी ढलान नै गर्नुपर्नेमा त्यसो नभएको उनले बताए । ‘संरचना नै कंक्रिट संरचना हुनुपथ्र्याे,’ उनले भने, ‘डन्डीसहितको हुनुपथ्र्याे । ढलानै गर्नुपथ्र्याे । सामान्य पर्खाल बनाएर हुन्नथ्यो ।’

फेवाताल संरक्षण गर्न पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले संयुक्त लगानीमा सिल्टेसन ड्याम बनाएका थिए । हर्पन र अरु ४ खोलामा बाँध बाँध्न दुई सरकारले २८ करोड १६ लाख रुपैयाँ खर्चिएका छन् । एउटा बाँधका लागि ७ करोड रुपैयाँ हाराहारी खर्च भएको छ । निर्माण कम्पनी खड्क कृष्ण पिके जेभीले बाँध बनाएको हो ।

पोखरा महानगरपालिकाका २३ का वडाध्यक्ष विष्णु पराजुलीले हर्पनको बाँध भत्किनुका साथै ६ वटा घर जोखिममा परेको जानकारी दिए । ‘गुणस्तरहीन सामानहरुको प्रयोग भएपछि हामी स्थानीय सुरुदेखि नै विरोधमा थियौं, काम गर्दा गुणस्तर भएन र प्रविधिक खटाएर काम गर्नुपथ्र्यो,’ उनले भने, ‘हामी यहाँका जनताले बाँध कच्ची भयो कुन बेला लड्न सक्छ भनेकै हो । बाँध बलियो बनाउनुपर्छ भनेर विरोध गरेको हौं, तर बाँध बनाउँदा वडासँग छलफल नै भएन ।’ बाँध बनाइसकेपछि थुप्रिएको गेग्रान निकाल्न ढिला हुँदा पनि चाप परेको उनी बताउँछन् ।

बाँध बनिसकेपछि पनि १ सय ५० रोपनी धान खेत पुरिएको जानकारी वडाध्यक्ष पराजुलीले दिए । ‘खोलाले वहाव परिवर्तन ग¥यो, ८ वटा घरमा जोखिम पु¥यायो । घरमा बस्न नसक्ने स्थित छ,’ उनले भने । बाढीबाट पीडित राजुकमार परियार घर अगाडिदेखि नै खोलो बगिरहेको बताउँछन् । भन्छन्, ‘खोलाले धार परिवर्तन गरेर उता गएको खोला अहिले ड्यामहरु फुटेर धार परिवर्तन गरेर बस्ती भएको ठाउँतिर आएर घाँटीछिना र ठूला खेतका ९ घर जोखिममा छन् ।’

वर्षेनी फेवातालमा आएका बालुवा, गिटी र पागो माटोले फेवाताल पुर्दै आएको छ । यही गतिमा पुर्दै जाँदा ताल १ सय वर्षमा जमिन बन्ने अध्ययनहरुले देखाएको छ । अध्ययन अनुसार फेवामा वर्षेनी १ लाख ४२ हजार टन गेग्रान थुुप्रिन्छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी थेग्नै नसक्ने गरी बाढी आउँदा बाँध भत्किएको बताउँछन् । ‘हर्पनमा पहिरा नयाँनयाँ थपिएका छन्,’ उनले भने ।

अख्तियारमा उजुरी

हर्पन खोला बाँध निर्माणमा अनियमितता भएको भन्दै भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा उजुरी गरेको छ । हर्पन खोलामा आएको बाढीले सिल्टेसन डयाम भत्काएपछि ड्याम निमार्णमा अनियमितता भएको भन्दै छानबिन गर्न माग गर्दै संस्थाले बिहीबार उजुरी गरेको हो ।

‘चौतर्फी कमिसन र मिलेमतोको कारण व्यापक नैराश्यता छाइरहेको बेला फेवातालसँग जोडिएको सार्वजनिक चासो र महत्वको विषयलाई गम्भीरतापूर्वक लिई छिटो छरितो प्रक्रियाद्वारा अनुसन्धान गरी भ्रष्टाचारजन्य दण्डहीनता अन्त्यका लागि विशेष पहल गरिदिनुहुन सविनय अनुरोध गर्दछौं,’ संस्थाका सचिव रामबहादुर पौडेलद्वारा प्रेषित उजुरीमा उल्लेख छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया