मैले जन्माएको बच्चालाई तेरो बाउको नाम लेख भन्न मिल्दैन

श्याम रानामगर २०७८ असोज १ गते १४:०३

—तीज मनाउनु भयो भनेर त सायदै सोध्न पर्दैन होला । बरु, तीज किन मनाउनु हुन्न ? मनाउन नहुने कारण के के छन् बताइ दिनुस् न

तीज मनाउनु भयो भनेर त सायदै सोध्न पर्दैन होला । बरु, तीज किन मनाउनु हुन्न ? मनाउन नहुने कारण के के छन् बताइ दिनुस् न
तीज मैले मनाउँदिन र मनाउन हुन्न भन्छु । तीज मनाइनँ पनि । मैले बुझेको तीज ३ वटा छ । पहिलो दिन दर खाने । छोरीचेलीलाई बोलाएर दर खुवाउँछन् । वर्षमा एक दिन बोलाएर मिठोमिठो खुवाइन्छ । मैले कहाँको कुरा गरिरहेको छुभन्दा काठमाडौंको काँठको कुरा गरिरहेको छु । मैले सहरको पनि कुरा गरेको छैन । कुनै दुरको गाउँको कुरा पनि गरिरहेको छैन ।


काठमा कस्तो चलन छ भने पहिलो दिन दर खाने दोस्रो दिन ब्रत बस्ने दिन । त्यो ब्रतको नाम निराहार ब्रत बस्ने हो क्यार । त्यस्तै भन्छन् क्यारे । जे भने त्यसको अर्थ भनेको पानी पनि नखाई २४ घन्टासम्म ब्रत बस्ने । २४ घन्टा बितेपछि भोलिपल्ट नुहाएर श्रीमानको गोडाको पानी खाएर हाम्रो यता काँठतिर गौदान गर्ने गर्छन् । गौदान गरेर पूर्णपात्र के पात्र गरेर बल्ल पानी खान्छन् । श्रीमान्को गोडाको पानी खाएपछि अरु खानेकुरा खान छुट भयो । तेस्रो दिन ऋषि पञ्चमी हुन्छ । कहिलेकाहिँ चौथो दिन पनि पर्न जान्छ । ऋषि पञ्चमी हुन्छ । ऋषि पञ्चमीमा महिलाहरुले के गर्छन् भने आफूले वर्षदिनभरि महिनावारी हुँदा कुहेको छोएको पापलाई त्यो दिन दिनको ६५ वटा दतिवनको दाना के के गरेर शुद्ध हुने चलन छ ।
म दर खान्नँ । मलाई मेरो दाइहरुले बोलाएर दर खुवाउनु पर्दैन । म त दाइहरु सरह अंश लिएको भनेपछि म त उनीहरुसँगको अंशियार हो नि । म दर खाने चेली होइन ।

Advertisement


दोस्रो, श्रीमान्का लागि ब्रत बस्छन् । म बिहे नगरेको हुनाले त्यो मेरो लागि ठूलो कुरा होइन । मैले देखिरहँदा मैले हेर्दा त्यो ठूलो कुरा हो । २४ घण्टासम्म नखाइकन । त्यसरी नखाईनखाई दीघार्युका लागि ब्रत बस्ने भनिन्छ । त्यसरी ब्रत बसियो भने श्रीमान्को आयु लामो हुन्छ भनिन्छ । दोस्रो कुरा, म बिहे नगरेको भएर श्रीमान् हुने कुरा भएन । श्रीमानै नभएपछि ब्रत बस्ने कुरा भएन । मेरो बिमति के हो भने हामीले आजसम्म के गरिरहेका छौं भने हाम्रो जीवनको मूल्य कम अर्काको जीवनको बहुमूल्य बनाइरहेका छौं ।


व्यक्तिको जीवन बहुमूल्य हो र अरुको जीवन अमूल्य हो । हाम्रो गल्ती कहाँ भइरहेको छ भने हाम्रो जीवन सकाएर अरु कसैको दीर्घायुको कामना गरिरहेका छौं । जुन हुँदैन । जुन व्यावहारिक होइन । कुनै श्रीमतीको श्रीमान् यति जँड्याहा होला कि उसको श्रीमतीले निराहार होइन जतिवटा हार गरे पनि उनको श्रीमान्को कलेजोमा हुने ड्यामेज, किड्नीमा हुने ड्यामेज हर्टअट्याक, ब्लयप्रेसर सुगर केही पनि रोकिने वाला छैन । किनभने उनको श्रीमान् रक्सी खाइरहेको छ । अगतिलो संगतमा छ । गलत जीवनशैलीमा छ भने श्रीमती भोको बसेर उसको आयु लम्बिँदैन । ऊ त सर्टेन टाइममा मर्छ—मर्छ । तर, रमाइलो कुरा के हुन्छ भने लोग्ने जाँड खाएर मर्छ । दोष श्रीमतीमाथि आउँछ । कहिँ उसले ब्रत बसिन कि, कहीँ दीर्घायुको कामना पो गरिन कि । लोग्ने मर्दा पनि कस्तो स्वास्नीको लोग्ने रहेछ हेर म¥यो भनेर दोष श्रीमतीलाई लगाइन्छ । मरेको मान्छेलाई ठिक जिउँदो मान्छेलाई गलत देखाउँछौं । मरिसकेपछि अझ महिलालाई विधवा बनाउँछौं । यो यत्रो वैज्ञानिक कुरालाई पनि यत्रो अन्धविश्वास बनाइएको छ कि श्रीमतीले ब्रत बसेर श्रीमानको आयू बढ्ने रे के ! कुनै तर्क छ यसमा ? यसमा कुनै विज्ञान छ ? हामी कस्तो अन्धविश्वासी के ! हामी कस्तो अन्धकारमा छौं के । यति सामानय कुरा पनि बुझ्दैनौें ।

Advertisement


लोग्नेले चुरोट खान्छ । गाँजा खान्छ । रक्सी खान्छ । भाङ खान्छ । धतुरो खान्छ । दुनियाँ दिवाना ड्रग्स खान्छ । उसलाई बचाउन उसको श्रीमतीले ब्रत बस्न पर्ने रे । कस्तो अवैज्ञानिक कुरा के ! हामीले प्रश्न किन नगरेको के ! कसैले पनि प्रश्न गरेनौं । हामीले अर्काले जे भन्यो त्यही मान्दै आयौं । यो दोस्रो दिनको कुरा भयो ।


त्यसैगरी तेस्रो दिन आउँछ ऋषि पञ्चमी तिथिमिति तलमाथि हुन सक्छ । त्यो दिन ऋषिहरुलाई पूजा गरेर दतिवन लगाउने के के हुन्छ । त्यसको आशय के हो भने वर्षभरि जानीनजानी गरेको गल्ती । महिनावारी हुँदा छुन हुन्न भनेका कुराहरुलाई छोएको छ भने त्यो पाप कट्टा गर्नलाई माफी दिने । तैंले पूजा राम्रोसँग गरिस् भने तँ त्यो पापबाट मुक्त हुन्छेस् । भन्न खोजेको हो ।


हामी त महिनावारीलाई अझैं पनि पाप बनाइरहेका छौं । छाउपडीको कुरातिर जानैपर्दैन । तपाईं मेरो समाजमा मभन्दा अलि अगाडि सहरको समाज आफन्तहरुले मनाइरहेका छन् कि पर सर्नु पाप हो । वर्षदिनभरि हामीले गरेका पापकर्महरुलाई पूजा गरेर हामी पापमुक्त हुने दिन हो । जबसम्म एउटा महिलाले के बुझ्दिनँ भने नि पर सर्नु पाप होइन भन्ने कुरा बुझ्दिनँ नि । तबसम्म तीज त रहिरहन्छ । मेरो भनाइको आशय के हो भने सबैभन्दा पहिला महिलालाई थाहा पाउनु प¥यो कि पर सर्नु पाप होइन । त्यो त शरीर विज्ञान हो । जसले गर्दा ऊ महिनामहिनामा पर सर्छे । पर सर्नुको पनि रिजन छ ।


— ए ससुरा बा ! मलाई देवर मन पर्‍यो भन्ने लेखै लेख्नुभाथ्यो नि !
महिलालाई कसरी हेर्छ गीतहरुले । गीतमा पनि अगाडि बढ्न दिँदैन भन्ने थियो । आर्टिकलमा छुटेको कुरा तपाईंलाई भन्न मन लाग्यो । के छ भने बिहे गरेर जब कुनै केटी घर भित्रिन्छिन् । उनको देवर हुन्छ जेठाजु हुन्छ । आमाजु हुन्छ । नन्द हुन्छ । सासू ससुरा हन्छन् । अरु आफन्त हुन्छन् । त्यस्तै गरेर केटाले जुन केटीलाई बिहे गरेर आफ्नो घर ल्याएको हुन्छ । केटीको घरपट्टी पनि साली हुन्छिन् । साला हुन्छ ।

जेठान हुन्छन् । दिदी छिन् भने दिदी हुन्छिन् । हाम्रो आजसम्मको अभ्यासले के गरेको छ भने महिलालाई बिहे गरेर ल्याइसकेपछि जुन साली छ नि साली आधा घरवाली, सालीलाई फकाउनु पर्दैन, गुन्द्रुकलाई पकाउनु पर्दैन । साली भन्या त आफ्नै त हो नि । साली भन्ने शब्दलाई कसरी मोडिफाई गरेको छ भने साली त स्वतः भिनाजुको हुने हो । हामीले त साली भन्ने नातालाई यस्तो नमज्जाको बनाइदिएका छौं कि त्यो व्यक्तिको अस्तित्व नै नामेट बनाइदिएका छौं । त्यति कमसल बनाइएको छ साली शब्दलाई । साली भनेको त भिनाजुको आधा घरवाली बनाइएको छ । जबकि त्यो होइन । सालीको पनि आफ्नो जीवन हुन्छ । आफ्नो मन परेको मान्छे हुन्छ । उसको आफ्नो संसार हुन्छ । तर हाम्रो समाजले के ग¥यो भने सालीलाई भिनाजुसँग लगेर जोतिदियो के ! भिनाजु भएका सालीहरु पनि भिनाजुले छोड्यो होला र ! त्यो भिनाजुले त्यसलाई के जिस्काएन होला र ! त्यो भिनाजुले सालीप्रति सम्मानको भावना आए होला र ! कहिल्यै पनि सालीहरुले आफ्नो भिनाजुबाट अपमानित हुनुपरेको होला भन्ने कुरा त हामीले सोच्नै सक्दैनौं । हामीले त जिस्काइदिए हुन्छ । साली भनेपछि त सिद्धियो । हामीले त्यसरी साली र भेनाको सम्बन्ध बनाइदियौं ।


हामीले मनन गर्नुपर्ने के हुन्छ भने जसरी ससुरालीमा साली हुन्छ । घरमा पनि देवर जेठाजु त हुन्छन् नि । हो संस्कारले पितृ सत्ता भनेको कस्तो रमाइलो हुँदो रहेछ भने बिहे गरेर श्रीमतीलाई घर लिएर गएको छ नि । पितृ सत्ताले देवर र भाउजुलाई आमाछोरा बनाइदिएको छ । देवरले दसैंको टीकामा भाउजुको हातबाट टीका लगाउनुपर्छ । त्यो देवरले भाउजुलाई सम्मान गर्नुपर्छ । आमा ठाउँको राखेको छ । आमाको ठाउँमा राखेपछि आमालाई जुन सम्मान गरिन्छ । भाउजुलाई पनि त्यही सम्मान गरिन्छ । हाम्रो पितृसत्ताले त यस्तो गरेको छ नि हाँसो लाग्छ ।
भाउजुको चाहिँ ऊ देवर हुन्छ । देवर र भाउजुको आमाछोराको सम्बन्ध खडा गरेको छ । दसैंमा चाहिँ बिल्कुल भाउजुको हातबाट टीका लगाएर आशीर्वाद लिनुपर्छ । मेरो घरमा मेरो आमा मेरो सानदाइले ठूली भाउजूलाई गोडा ढोगेको देखेको छु । पछि गोडा ढोग्ने चलनचाहिँ हटायौं पछाडि । तर, ठूली भाउजूले टीका चाहिँ अहिले पनि लगाइदिनु हुन्छ । तर, यता सालीतिर फर्कियो भने त्यो छैन । त्यो सम्बन्धलाई कस्तो बनाइएको छ भने भिनाजुको मर्जी हुन्छ । भिनाजुले चाहन्छ भने भिनाजुकै हुनुपर्छ । भिनाजुले चाह्यो भने साली अर्काको हुन नपाउने गरिहुन्छ नि एकदम अप्ठेरोमा पारेर त्यो सम्बन्धलाई स्थापित गरिएको छ ।


यस्ता कुराहरु देख्दा मलाई के लाग्छ भने यस्तो असमान सम्बन्ध माथि कहिले प्रश्न गरेनौं । हामी कस्तो अन्धविश्वासी क्या । प्रश्न नगर्ने ? हामीलाई त प्रश्न गर्ने चेतना नै छैन । हामीले कहिले पनि सोधेनौं कि भाउजुको र देवरको नाता किन आमाछोराको जस्तो ? र, भिनाजु र सालीको सम्बन्ध किन प्रेमीप्रेमिकाको जस्तो ? अथवा श्रीमान्श्रीमतीको जस्तो ? प्रश्न नगरेपछि त यही चलन ठिकै छ । किनेभने त केटा मान्छेहरुलाई यो चलनबाट सुविधा छ । केटी मान्छेहरुलाई म मारमा परेको छु भन्ने कुरा पनि थाहा छैन क्या ! बल्ल अहिले कुरा हुन थालेको छ कि हामी मारमा छौं ।

—चाडबाडबाहेक अरु के केले महिलालाई पछाडि पारेको छ ?


महिलालाई हाम्रो कुनै संरचनाले कुनै पनि र कतै पनि सुविधा दिएको छैन । महिलालाई मान्छे हुन दिएको छैन । महिलालाई महिला मात्रै हुन दिएको छ । महिला भनेको कमजोर हो । ऊ एक्लै हिँड्न सक्दिने । ऊ माथि बलात्कार हुन सक्छ । ऊ एक्लै कमाउन सक्दिन । घर बनाउन सक्दिन । उसले जन्माएको बच्चा पनि उसको हँुदैन । किनभने आमाको नामबाट नागरिकता पाइँदैन भनेपछि चाडबाडको मात्रै कुरै छैन नि सिंगो देश सिंगो संरचना, सिंगो कानुन संविधान नै महिलाको खिलापमा छ नि । महिलालाई महिला मात्रै मान्दिएको भए त ठूलो कुरा हुन्थ्यो । महिलालाई मान्छे ठानिन्न ।


किनभने महिलाको जीवनमा हुने सबै निर्णय पुरुषले गर्छन् । महिला स्वयं आफ्नो बारेमा फैसला गर्न सक्छे भने त आफ्नो हितका लागि पो फैसला गर्छे त । उसले आफ्नो बारेमा फैसला गर्न नपाएकै कारण आजको अवस्था आएको हो ।


मलाई त लाग्दैन कि महिलाहरुलाई यति चेतना दिइएको छ कि उनीहरुमाथि अन्याय भएको छ । म माथि थिचोमिचो भएको छ । मलाई मेरो अस्तित्वलाई अस्वीकार गरिएको छ । मैले पाएको बच्चालाई मेरो हुन दिइएको छैन भन्ने कुरा नै थाहा छैन क्या ! बल्ल अलिअलि थाहा पाउन थालेका छौं । हामी यसको विरोध गरिरहेका छौं । अहिलेको कुरा पनि त्यसैको विरोध हो । हामी माथि जे भयो । जे भई रहेको छ । हिजो जे भयो हामी यही अवस्थामा छौं हामी भन्न सक्दैनौं । हाम्रो अस्तित्वलाई स्वीकार गर हामीले त्यही कुरामा बहस गरिरहेको हो ।

— लेखेनको विषय महिलाकै मुद्दा कसरी रोज्नुभयो ?


समाजमा सबैभन्दा बढी उठाउनुपर्ने कुरा नै यही हो । यो सबैभन्दा मूल विषय हो । हामीले मूल विषय के बनायौं भने देउवाले रामचन्द्रलाई भेटे कि भेटेनन् । रामचन्द्रले प्रचण्डलाई भेटे कि भेटेनन् । माधवकुमारले केपी ओली भेटे कि भेटेटनन् भन्ने कुरा हामीलाई मूल मुद्दा लागिरहेको छ । जबकी विकासित देशमा यस्ता कुरा मूल मुद्दा हुँदैनन् । विकसित देशमा समुदायको हितको कुरा मूल मुद्दा हुन्छन् । र समुदायमा व्यक्ति पर्छ । यहाँ जस्तो राजनीतिलाई मूल मुद्दा मानिन्न । म पोलिटिक न्युजलाई मूल मुद्दा मान्दिनँ ।


मेरो मूल मुद्दा भनेको महिला, दलित । मेरो मोरल मुद्दा भनेको आमाले जन्माएको बच्चाले आमाको नामबाट नागरिकता नपाउने किन भन्ने मेरो लागि मूल मुद्दा हो । मलाई कुन नेताले कल्लाई भेट्यो भन्ने कुरामा सरोकार छैन । मलाई सरोकार म माथि भएको हिंसामा राज्य चुप लागेर बस्न मिल्दैन । मैले जन्माएको बच्चालाई तेरो बाउको नाम लेख भन्न मिल्दैन ।

कुनै जातको आधारमा विभेद गर्न मिल्दैन । दलित भनिएको आधारमा उसलाई अछुत भन्न मिल्दैन । कसैले छोएको पानी चल्ने र नचल्ने भन्ने हुँदैन । पानी चल्ने र नचल्ने हुनका लागि जस्तो कि तपाईं यदी बाहुन हो र अर्काे कुनै दलित छ अनि बाहुनले पनि पानी छोयो । दलितले पनि पानी छोयो । दुईवटा ग्लासमा पानी थियो । एउटामा बाहुनले छोयो । अर्कोमा दलितले छोयो भने त्यो पानीभित्र रासायनिक परिवर्तन नभएसम्म तपाईंले त्यो पानीलाई दोष लगाउन पाउनुहुन्न नि । कि त बाहुनले छोएको पानीमा क्लियर आउनु प¥यो । बाहुनले छोएको पानी क्या सफा भन्ने हुनुप¥यो । कि त दलितले छोएको पानी धमिलो हुनुपर्यो । पिउन अयोग्य हुनु पर्यो । किरा फट्यांग्रा हुनु प¥यो । पानी जातले बदल्न सक्थ्यो भने त प्रकृतिले बदल्थ्यो होला दलितले छोएको पानी कस्तो नराम्रो धमिलो । बाहुनले छोएको पानी वाह क्या सफा । प्रकृृतिले त एउटै पानी दिएको छ । तपाईंका लागि पनि उही दिएको छ मलाई पनि अर्को दलितलाई पनि बाहुनलाई पनि ।


हामी त कस्तो मान्छे ? हामी पानी छोइयो भन्छौं क्या ? मलाई त के लाग्छ भने हाम्रो सामाजिक चेतना कति निराशाजनक छ भने मलाई अझैं पनि ढुंगेयुगमा छौं जस्तो लाग्छ । घरभाडामा बस्छु भन्दा पहिले म दलित हुँ तपाईंको घरमा बस्न पाउँछु कि पाउदिनँ । भोलि मलाई अप्ठेरो पर्छ कि पर्दैन भनेर कोठा माग्ने होइन नि त । म मान्छे हो । महिनाको कोठा भाडा यति पानी बत्तीको यति भनेर बस्ने हो नि त । कोठा सोध्दा प्रत्येक घरधनीले के सोध्छ भन्दा तपाईंको जात के हो ? जातसँग के सरोकार ? जात कसले बनायो ? हामी त कहाँ छौं भने फलानाको घरमा बस्ने मान्छे त दलित रैछ । ए त्यसलाई निकाल्न पर्‍याे ।


हामी ढुंगेयुगमा नभएर कुन युगमा छौं ? हामी त अझैं पनि दलितलाई कोठा दिँदैनौं । पानी छोइयो भन्छौं । दलित भनेपछि हाम्रो मनमा छुस्स नराम्रो आइहाल्छ के । यो कहिलेसम्म आउँछ । मान्छेले मान्छेलाई जबसम्म विभेद गरिरहन्छ नि जातको आधारमा वर्गको आधारमा । सम्पत्तिको आधारमा । जबसम्म विभेद् भइरहन्छ, हाम्रो अभियान चलिरहन्छ नि । म अथवा म जस्तै अर्कोको चाहना यो होइन कि पुरुषलाई दमन गर । खोजेकै होइन । खोजेको के मात्रै हो भने कुन संरचनाले पुरुषलाई कति फाइदा दियो ? र, महिलालाई पनि फाइदा मिलेको छैन । हामी दोहोरो घाटामा छौं । त्यस कारण हामीले पुरुषलाई सम्झाउन खोजेका हौं । हेर त तिम्ले गरेको यो यो कारणले तिम्लाई पनि अप्ठेरो परेको छ नि भनेर बुझाउन मात्रै खोजेको हो । हामीलाई अबको सत्ता महिलालाई चाहिएको होइन । कम्तीमा मलाई चाहिएको होइन । पितृसत्ता भनेर जसलाई गाली गरिरहेका छौं गाली पनि एउटा अमूर्त कुरालाई गरेको होइन नि ।


मूर्त छ नि महिला माथि विभेद हुन्छ । महिला माथि बलात्कार हुन्छ । आमाको नामको नागरिकता हुँदैन । महिलाले बाउआमाको सम्पत्ति पाउँदिन । बाउआमाको कत्रो सम्पत्ति हुन्छ । दाइजो दिएर पठाउँछन् । मारे पाप पाले पुण्य भनेर पठाउँछन् के । छोरी वस्तु हो ? छोरी त सन्तान हो । छोरा जस्तै छोरी जन्मिँदा आमालाई के कम दुख भएको थियो ?


कि पहिलै पेटमा हुँदा नै सम्झौता भएको थियो त सबै सम्पत्तिको मालिक हुने । छोरी हुँदा तँ त छोरी होस् नि त जन्मेपछि मेरो सम्पत्तिको मालिक हुन पाउने छैनस् । तँलाई त बिहे गरेर पठाउने हो । त्यस्तो सम्झौता भएको थिएन होला नि । हामीले त के ग¥यौं भने छोरीलाई त मान्छे मानेनौं ।
मान्छे मानेको भए एउटा दाजु सरह भाइ सरह छोरीले अंश किन नपाएको ? हामीले त छोरीलाई मान्छे मान्दैनौं । उसलाई त पराई घर पठाउने वस्तु ठान्छौं । छोरीलाई बाउआमाले मान्छे मान्थे भने त मेरो सम्पत्तिको मेरो पैतृक सम्पत्तिको मेरो छोरा जसरी हिस्सेदार हो भन्ने चेतना हुन्थ्यो भने । लाखौं छोरीहरुले दाजुभाइ जसरी सम्पत्ति लिएर उनीहरुले जसरी जिन्दगी बाँच्न सक्थे ।

श्याम रानामगर

मगर पोखरामा क्रियाशील पत्रकार हुन्

तपाईको प्रतिक्रिया