कास्की अदालतकाे आदेश

हिन्दूलाई क्रिश्चियन बनाउने ४ विदेशी जेल चलान

ट्युसनको बाहनामा बालबालिकालाई बाइबलका श्लोक घोकाइएको आरोप

समाधान संवाददाता २०७८ असोज ११ गते १८:१५

पोखरा १० की सुनिता विक (नाम परिवर्तित) पृथ्वीचोकको अन्ना पाउल गेष्ट हाउसमा सरसफाईको काम गर्थिन् । उनले काम गर्ने गेष्ट हाउस ४ कोरियालीले चलाइरहेका थिए । पार्क ब्योंकसुक, किम हिङकुङ, लि जिओनगा, किम युङहिको सो गेष्ट हाउसमा उनी काम गर्थिन्् ।

ती कोरियाली नागरिकले विभिन्न मानिसलाई भेला पारेर गेष्ट हाउसमा खाजा खुवाउने गर्थे । प्रभु यशुको भजन किर्तन गर्ने, आर्थिक सहयोग गर्ने, उपचार खर्च दिने, बालबालिकालाई निशुल्क विद्यालय पढाउने पनि गर्थे । यसबाट विक प्रभावित भएकी थिइन् । एक दिन विक पनि ती ४ कोरियालीसँगै चर्च गइन् । उनी त्यहाँको वातावरणले पनि प्रभावित बनिन् । र, धर्म परिवर्तन गरेर क्रिश्चियन बनिन् ।

सुनिताझैं उनीहरुको बानीबाट प्रभावित बनेर धर्म परिवर्तन गर्ने अर्का एक छन्– अजय परियार (नाम परिवर्तित) । परियार पनि सोही गेष्ट हाउसमा काम गर्थे । उनलाई पनि ती कोरियाली नागरिकले भजन कीर्तनमा सहभागी गराउने गर्थे । अजय रप सुनितामात्रै होइन, पोखरा १० को सुकुम्बासी टोलका हरेक परिवारमा यो कोरियाली टोली पुगेको बुझिएको छ ।

Advertisement

उनीहरुले गरिब परिवारका २० जना बालकलाई विद्यालयमा लाग्ने खर्च उठाउने गरी विद्यालय पठाइदिए । ती बालबालिकालाई निशुल्क ट्युसन पनि पढाइदिए । सुकुम्बासी टोलमा खाजा खाना बाँड्थे । चामल, पाउरोटी, बिस्कुट पनि बाँडिरहन्थे । विद्यार्थीहरुलाई ट्युसन पढाउन यी ४ कोरियालीले छुट्टै कोठा लिएका थिए ।

ट्युसन पढाउँदा पनि क्रिश्चियन धर्म सम्बन्धि काम गर्ने, बाइबलका श्लोक, भजन गाउन लगाउने गरेको स्थानीयले अदालतमा बताएका छन् । शनिबारको दिन बच्चाहरुलाई अनिवार्य चर्च जानु पर्ने नियम राखेर क्रिश्चियन धर्म सम्बन्धि प्रचार दिने गरेको स्थानीयको दाबी छ ।

Advertisement

स्थानीयले खबर गरेपछि कास्की प्रहरीले ती कोरियाली नागरिकलाई पक्राउ ग¥यो । प्रहरीले उनीहरुमाथि अनुसन्धान गर्दा उनीहरु बसेको गेष्ट हाउसमा येशुको प्राथना लेखेको चिट समेत बरामद गरेको थियो ।

सोमबार अदालत उभ्याइएका ती ४ कोरियाली नागरिकले भने आफूहरु धर्म परिवर्तन गराउन नआएको दाबी गरिरहे । आफूहरुले विपन्न परिवारलाई सहयोग गरेको, विद्यार्थीहरुको पढाइ खर्च जुटाएकाले मानिस आकर्षित भएको हुन सक्ने दाबी उनीहरुको थियो । स्थानीयहरु यशुको प्राथना गर्दा उपस्थित हुने भएकाले क्रिश्चियन धर्ममा आस्था राख्ने गरेको बयान पनि उनीहरुले दिएका छन् ।

कास्की जिल्ला अदालतले ती कोरियाली नागरिकलाई कारागार पठाउन आदेश गरेको छ । सोमबार थुनछेक बहसपछि उनीहरुलाई कसूरमा कसूरदार होइनन् भनी भन्न नमिल्ने भएकाले कारागार पठाउने आदेश दिइएको अदालतका सूचना अधिकारी नीलप्रसाद पनेरुले जानकारी दिए । ‘प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा हाललाई कास्की कारागार पठाउन आदेश आएको छ,’ पनेरुले भने ।

तपाईको प्रतिक्रिया