पाेखरा अन्तराष्ट्रिय विमानस्थलकाे ८४ प्रतिशत काम सकियो

समाधान संवाददाता २०७८ असोज १३ गते १८:५१

पाेखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ८४ प्रतिशत सकिएको छ । विमानस्थल निर्माणमा अहिले प्राविधिक कामहरु भइरहेका छन् । विमानस्थल निर्माण आयोजना प्रमुख विनस मुनकर्मीका अनुसार अहिले नेभिगेसन, मेटेरोलोजिकल तथा सर्भेलेन्सको कामहरु भइरहेका छन् । विमानस्थलको घेराबार गर्ने काम पनि अहिले चलिरहेको छ । टर्मिनल, ह्याङ्गरसँगै १४ भवनको निर्माण सकिएको छ । अब काम बाँकी छ त विद्युत जडानको ।

विमानस्थलमा अहिले १८५ चिनियाँ र २३० नेपालीले काम गरिरहेका छन् । असारसम्म निर्माण कार्य सकिने भनिएको यस विमानस्थलको निर्माण अवधि २०२२ जुलाइ १० (२०७९ असार २६) सम्म बढाइएको छ ।

विमानस्थलले ६८ प्रतिशत वित्तिय प्रगति हासिल गरेको जनाएको छ । जग्गा अधिग्रहण गर्दा सुरुमा ३ अर्ब ८८ करोड खर्च भएको र नयाँ जग्गा अधिग्रहणमा ७९ करोड रुपैयाँ खर्च भएको विमानस्थल आयोजना कार्यालयले जानकारी दिएको छ । निर्माणाधीन कम्पनी चाइना सिएमसी इन्जिनियरिङलाई १६ अर्ब बढीको भुक्तानी आयोजनाले बुझाएको छ ।

Advertisement

विमानस्थल निर्माणका लागि २०३२ सालबाट अधिग्रहण सुरु गरिएको थियो । अहिलेसम्म ३१ सय ६ रोपनी जग्गाको मुआब्जा दिई अधिग्रहण गरिएको छ । ९९ प्रतिशत जग्गा अधिग्रहण पूरा भइसकेको विमानस्थल ३८ सय ९९ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया