सुदूर पश्चिमेली जोडीको पोखरा ट्र्याजडी

प्रेमिकाले आत्महत्या गरिन् वा प्रेमीले हत्या गरेर फरार भए ? परिवार भन्छ, ‘मार्न पोखरा ल्याएको थियो’

अनिष भट्टराई २०७८ असोज १५ गते १०:४५


पोखरा । सुदूरपश्चिम प्रदेशको बाजुराकी निरुता शाह र कर्णाली प्रदेशको कालिकोटका गणेश विष्टको घरको दुरी जम्मा आधा घन्टा हो । प्रदेश र जिल्ला फरकभएपनिसिमानामाहो उनीहरुको गाउँ । तर उनीहरुको भेट आफ्नै गाउँघरतिर भएन । तराई झरेका थिए, अनि प्रेममा परे ।


१८ वर्षीया निरुता र २७ वर्षीय गणेशको भेट कैलालीमा भयो, जहाँ विष्ट दाइको घरमा बस्थे । निरुता कैलालीमा पढ्न गएकी थिइन् । भर्खर माध्यमिक शिक्षा परीक्षा दिने तयारीमा रहेका बेला निरुताको भेट गणेशसँग भएको थियो । २०७७भदौबाट उनीहरुसँगै बस्न थाले । गणेश ज्यामी काम गर्ने गर्थे भने निरुता पढ्न जान्थिन् । एसईई परीक्षा सकिएपछि भने उनीहरुको सम्बन्धमा दरार आयो । निरुता आफ्नै घर बाजुरा फर्किइन् ।


निरुता र गणेशको सम्बन्ध दुवैको घरमा थाहा थियो । उनीहरुको सम्बन्ध दुवै परिवारलाई रुचेको भने थिएन । निरुता जब वैशाखमा घर फर्किइन्, उनले आफ्ना बुबाआमासँग गणेशसँग फर्किएर नजाने वाचा गरिन् । परिवारले स्वीका¥यो । ‘म अब जान्नँ, मलाई सधैं पिट्छ भनेर छोरीले भनेपछि जे भयोभयो अब एसईई सकाएपछि अन्तै पढ्लिस् भनेर सम्झाएँ,’ निरुताका बुबा भन्छन् ।

Advertisement


यता गणेश कैलालीमै थिए । उनीहरु केही समय टाढिएपछि फेरि नजिकिए । फोनमा यी दुईबीच कुराकानी हुन थाल्यो । ५ महिनापछि उनीहरु दोस्रोपटक नजिकिए । गणेशले निरुतालाई पोखरा गएर बस्ने प्रस्ताव राखे । निरुताले सजिलै स्वीकारिन् । २ भदौमा निरुता र गणेश पोखरा आए ।


पोखरा आएको जोडी पोखरा १ अधिकारी टोलमा कोठा लिएर बस्न थाल्यो । भाडामा बसेको घरका अरु सदस्यसँग यी दुई खासै बोल्दैनथे । उनीहरुले आफ्नो पहिचान पनि लुकाएका थिए । बारा कलैया घर र छद्म नाम उनीहरुले छिमेकीलाई बताएका थिए ।

Advertisement


गणेश पोखरा आएर ज्यामी मजदुरीमै लागे । निरुता कोठामै हुन्थिन् । अचानक असोज दोस्रो साता निरुता मृत भेटिइन् । दुर्गन्ध आएपछिमात्रै छिमेकीले थाहा पाए । उनको शव खाटमा थियो ।कोठामा बाहिरबाट ताला लगाएको थियो । गणेशकोपनि अत्तोपत्तो कसैले पाएनन् । उनले लेखेर छाडेको चिठी भने प्रहरीले भेटेको छ । गणेशले पत्रमा निरुताले झुन्डिएर आत्महत्या गरेको लेखेका छन् । झुन्डिएको डोरी काटेर खाटमा सुताएर छाडेको त्यो पत्रमा गणेशले लेखेका छन्।

‘त्यो दिन ठेकदारसँग पैसा माग्न गएको थिएँ । कोठा फर्कंदा निरुतालाई झुण्डिएको भेटेँ र आफूले कपडाको पासोबाट छुटाएर राखिदिएँ,’ गणेशले लेखेका छन् । उनले आफू पनि नबाँच्ने र लास भेटे निरुतासँगै जलाइदिन आग्रह पनि गरेका छन् । ‘मैले उसका लागि घर परिवार त्यागेर पोखरा आएँ । टेस्ट गर्दा बच्चा नबस्ने देखिएपछि उनी दुखी थिइन् । अब ऊ नै नबाँचेपछि म पनि बाँच्न सक्दिनँ । मेरो लास गण्डकीमा फेला पार्नुभयो भने उसको लाससँगै जलाइदिनुहोला,’ पत्रमा लेखिएको छ ।


परिवार भन्छः सुनियोजित घटना


निरुताको परिवार भने यो घटना सुनियोजित भएको मान्छ । परिवारले जिल्ला प्रहरी कार्यालय, कास्कीमा गणेशविरुद्ध बिहीबार किटानी जाहेरी दिएको छ । एकपटक झगडा भएपछि पुन पोखरा ल्याएर महिनादिनमै हत्या गरी गणेश फरार भएको निरुताको परिवारको आरोप छ । ‘मार्नै ल्याएको हो उसले हाम्रो छोरीलाई, एकपटक कुटेर घर पठाएको मान्छे फेरि किन पोखरा ल्यायो ? भगाउने नै भएपनि कालिकोट, कैलालीमै बस्न सक्थ्यो,’ निरुताका बुबा नन्दबहादुर शाह भन्छन् ।


निरुताका बुबाको तर्क छः साँच्चैकै माया गथ्र्यो र आत्महत्या नै गर्न निस्केको भए, कोठामै गर्न सक्थ्यो, किन चाबी लगाएर भाग्यो ?निरुताको शव कम्तीमा ३ दिन कोठामै थुनिएर बसेको प्रहरीको अनुमान छ । कोठाको बाहिरबाट चाबी लगाइएको थियो । झ्यालहरु पनि लगाएर छाडिएकाले शव बिग्रन थालेको थियो ।


प्रहरी पनि हत्या हो वा आत्महत्या भन्नेमा निचोडमा पुग्न सकेको छैन । घटनाको २ दिनसम्म परिवारले जाहेरी दिन नसकेपछि मृतकको पोस्टमार्टम गर्न प्रहरीले पाएको थिएन । लास २÷३ दिन कोठामै थुनिएर बसेको थियो । मृतकको शवलाई बिहीबार पोस्टमार्टम गर्न पठाइएको छ । पोस्टमार्टम रिपोर्ट पछि नै हत्या वा आत्महत्या छुट्टयाउन सकिने कास्की प्रहरी प्रवक्ता सुवास हमाल बताउँछन् ।


‘बडी डिकम्पोज हुन सक्थ्यो, छिटो जाहेरी दिएको भए कज अफ डेथ (मृत्युको कारण) स्पष्ट खुल्थ्यो, घटना बाहिर आउनै सुरुमा समय लाग्यो,’ हमालले भने । यता गणेश भने अझै गायब छन् । उनले पत्रमा लेखेझैं आत्महत्या नै गरे वा कतै फरार छन् भन्ने प्रहरीलाई जानकारी छैन । प्रहरीले प्रेमीको खोजीलाई तीव्र बनाएको छ ।

अनिष भट्टराई

भट्टराई समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया