गाउँका अन्नपात बजारमा

समाधान संवाददाता २०७८ असोज १७ गते १६:५१

पोखरा
जेठोबूढो धानको चामल चाहिए कहाँ खोज्ने ? एक त बजारमा सजिलै पाइन्न । अर्काे, पाइए पनि सक्कली हो कि नक्कली थाहा पाउनै मुस्किल हुन्छ । जेठोबूढो चामलको विश्वसनीय कुनै उत्पादक भइदिए खास्सा हुन्थ्यो भन्ने सोच्नुभएको छ भने तपाईंका लागि सुखद समाचार छ । त्यस्तो एउटा कम्पनीले शनिबारदेखि पोखरामा सेवा सुरु गरेको छ ।


जेठोबूढो वा रातो अनदीको चामल होस् या गाउँघरतिरका लोकल सागपात वा कागुनो, कोदो जस्तो रैथाने बालीहरु । गाउँतिरबाट संकलन गरी प्योकेजिङ गर्दै बिक्री गर्न अन्नपात एग्रो प्रालि खुलेको छ । कृषि क्षेत्रमा लामो समय बिताएकाहरुको संयुक्त लगानीको यो कम्पनीले पोखरा १५ नयाँगाउँबाट सेवा थालेको हो ।


भदौरेकी खिमकुमारी गुरुङसहितका स्थानीयले शुक्रबारमात्रै गाउँबाट सागपात, घिरौला, करेला, इस्कुस, धनिया गरी एक गाडी सामान अन्नपात एग्रोलाई पठाए । पञ्चधाम सहकारी नै बनाएर कृषि कर्ममा लागेका भदौरेलीको समस्या के भने सामान त किन्न व्यापारी आउने तर पैसा नदिने । अन्नपात एग्रो प्रालिले किसानका त्यस्ता समस्या पनि सम्बोधन गर्ने प्रालिका रामबहादुर राना बताउँछन् ।

Advertisement


‘एकातिर कृषकहरूले आफूले उत्पादन गरेका खाद्य उत्पादनहरूका उचित मूल्य र बजार नपाउनेसमस्या त छँदैछ, अर्काेतिर उपभोक्ताहरूले समेत आफूले रोजेका, खोजेका स्वास्थ्यवद्र्धक र सुरक्षित खाद्य उत्पादन नपाउने अवस्थालाई मध्यनजर गर्दै अन्नपातले उत्पादक र उपभोक्तालाई जोड्ने साँघुको कार्य गर्नेछ,’ रानाले भने, ‘देशका विभिन्न क्षेत्रमा स्थान अनुसार स्वाद र गुणस्तरका लागि प्रसिद्ध सामग्रीहरूलाई एकीकृत रूपमा उपलब्ध गराउने कार्य कम्पनीले गर्नेछ ।’


कृषि, प्राकृतिक स्रोत व्यवस्थापन, कृषि उत्पादन, वित्तीय संस्था र उद्यमीहरू लगायत ४७ जना सेयर सदस्यहरू रहेको कम्पनीको अध्यक्ष बेनीबहादुर बस्नेत छन् । ‘कृषि क्षेत्रमा काम गर्न निकै चुनौती छ,’ उनले भने, ‘त्यो चुनौती सामान गर्न नै हामी यो काममा लागेका हौं ।’ कृषि उत्पादनमा वृद्धि र बजारीकरणका लागि स्थानीय सरकार र प्रदेशसँग समन्वय गर्दै सामग्रीको बजारीकरणमा कम्पनीले गर्ने पनि बताइएको छ ।

Advertisement


सामाजिक उद्यमका रूपमा स्थापित कम्पनीले कृषकहरूसँगको प्रत्यक्ष सहभागितामा उनीहरूले उत्पादन गरेका कृषि उत्पादनहरूको संकलन, प्रशोधन र बजारीकरण गर्ने उद्देश्य राखेको छ । कम्पनीले खुद नाफाको ३ देखि ७ प्रतिशत जैविक विविधता संरक्षणमा पुनर्लगानी गर्नेछ । उक्त कम्पनीको शुभारम्भ समारोहमा कृषि विकास निर्देशनालयका निर्देशक बासु रेग्मी, पोखरा १५ का वडाध्यक्ष प्रकाश पौडेल, ली बर्डका कार्यकारी निर्देशक बलराम थापा, लीबर्डका पूर्व अध्यक्ष कृष्णप्रसाद बराल, पोखरा महानगर कृषि शाखाका मनहर कडरिया, लीबर्डकै लक्ष्मी गुरुङ र किसान खिमकुमारी गुरुङ लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया