पत्रकार राजाराम पौडेल सम्मानित

बिसौनी दोहोरी नयाँ व्यवस्थापनका साथ सञ्चालनमा
पोखरा सिर्जनाचोकको बिसौनी दोहोरी साँझ नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । दोहोरी साँझको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा लोकसंगीत विभाग प्रमुख वरिष्ठ गायिका हरिदेवी कोइरालाले उद्घाटन गरिन् । दोहोरी साँझले नयाँ प्रतिभालाई अवसर र पुराना प्रतिभालाई निखारता प्रदान गर्न सघाएको गायिका कोइरालाले बताइन् ।
दोहोरी साँझमा पोखरा १९ का चन्द्र दर्नालको एकल लगानी छ । झन्डै डेढ करोडको लगानीमा दोहोरी साँझ र रेष्टुरेन्ट सञ्चालनमा ल्याउन लागेको व्यवसायी दर्नालले बताए । ‘तल्लो तलामा दोहोरी साँझ सञ्चालन हुन्छ, टपमा रेष्टुरेन्ट, दुवैतीर गरेर झण्डै डेढ करोड लगानी गर्दैछु’ उनले भने । यस अगाडि दर्नालले पोखराको दर्पणछाँया दोहोरी साँझमा लगानी गरेका थिए । दोहोरी साँझमा गुणस्तरीय परिकारको साथमा पारिवारिक वातावरणमा दोहोरीको मज्जा लिन पाइने सञ्चालक दर्नालको दावी छ ।
शुभारम्भको अवसरमा दोहोरी साँझले पत्रकार राजाराम पौडेल सम्मान गरेको छ । पत्रकार पौडेललाई गायिका हरिदेवी कोइरालाले सम्मान गरेकी हुन् । पत्रकारिताको माध्यमबाट लोकसंगीतको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको सञ्चालक दर्नालले बताए । रेडियो अन्नपूर्णमा आवद्ध पत्रकार पौडेल रंग पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् ।
व्यवसायबाट प्राप्त भएको नाफाको केही हिस्सा असाहय तथा गरिब व्यक्तिको लागि छुट्याउने सञ्चालक दर्नालले खुलाए । लोक संगीत प्रतिको मायाका कारण ट्याक्सी ड्राइभरबाट दोहोरी साँझ तर्फ यात्रा मोडिएको उनले सुनाए । ‘२०६२ चैत्रबाट मैले ट्याक्सी ड्राइभरको काम गरें, मलाई लोक संगीत ज्यादै मनपर्छ, त्यसपछि दोहोरी साँझतर्फ लगानी गर्न आएँ, दोहोरी व्यवसायमा मेरो आगमन भएको ५ वर्ष भयो,’ दर्नालले भने ।
दोहोरी साँझमा जीवन दाहाल, लक्ष्मी नेपाली, राम्जी पौडेल, माया केसी लगायतका कलाकारको नियमित प्रस्तुती रहनेछ । रेष्टुरेन्ट मार्फत दिने सेवा बिहान ८ बजेबाट र दोहोरी साँझबाट दिइने सुविधा साँझ ७ बजेबाट नेपाल सरकारले तोकेको समय अनुसार प्रदान गरिनेछ ।
तपाईको प्रतिक्रिया