स्वास्थ्य

मुस्ताङ कोरोना मुक्त

पर्यटकीय चहल पहल बढ्यो

सुन्दरकुमार थकाली २०७८ कार्तिक १ गते १२:३१


जोमसोम—धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङ कोरोना मुक्त भएको छ ।जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले बडा दशै लगत्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या सुन्य रहेको जनाएको हो ।
कोरोनाको दोश्रो भेरियन्टसंगै गत बैशाखदेखि यता मुस्ताङमा १५ जना ब्यक्तिले ज्यान गुमाई सकेका छन् ।जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टिकाराम भण्डारीका अनुसार कोरोनाको दोश्रो भेरियन्टपछि पछिल्लो ६ महिनाको अवधिमा ५ सय ६१ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको थियो । जसअन्तर्गत २ सय ५० जनाको पिसिआर परीक्षण गर्दा १ सय १२ जनामा कोरोना पोजेटिभ देखिएको थियो भने ३ हजार ८ सय २२ जनाको एन्टिेजेन परीक्षण गर्दा ४ सय ४९ जनाको कोरोना पोजेटिभ देखिएको थियो । कोरोना संक्रमण देखिएका गम्भिर २२ जना बिरामीलाई पोखरा रिभर गरिएको थियो ।
मुस्ताङका ५ वटै स्थानीय तहमा १८ वर्षदेखि माथि उमेरका अधिकांश नागरिक तथा पेशा व्यवसायीले कोरोना बिरुद्धको खोप लगाईसकेका छन् । जिल्लामा लक्षित बर्गले खोप लगाएसंगै मुस्ताङको जनजिवन समेत सामान्य बनेको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले जिल्लाका सबै नागरिकले खोप लगाईसकेको र कोरोनाको जोखिम कम भएको उल्लेख गर्दै जारी निषेधाज्ञालाई सहज र खुकुलो पारिएको जनाएको छ ।जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितिले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउदै जिल्लाको आर्थिक अवस्था चलायमान तुल्याउन आवश्यक रहेको भन्दै शर्तसहित जिल्ला आउजाउ गर्न पाउने अनुमती प्रदान गरेको छ ।
मुस्ताङ जिल्लामा बसोबास गर्ने नागरिकबाहेक विदेशी नागरिकलाई ७ दिनको पिसिआर रिपोर्ट र स्वदेशी नागरिकलाई ७ दिने पिसिआर रिपोर्ट ,७२ घण्टे एन्टिजेन रिपोर्ट अथवा खोप लगाएको कार्डका आधारमा जिल्ला प्रवेशको अनुमती प्रदान गरेको प्रजिअ श्रीनाथ पौडेलले जानकारी दिए । उनका अनुसार धार्मिक तिर्थालु तथा पर्यटकको सुविधाका लागि सोह्रश्राद्ध सुरु हुन अगावै मुक्तिनाथ मन्दिर दर्शनका खुल्ला गरिएको थियो ।

मुस्ताङमा निषेधाज्ञा खुकुलो भएसंगै पर्यटकीय गतिबिधि समेत बढेको होटल ताजकी संञ्चालिका तृष्णा गौचनले जानकारी दिईन । पर्यटकको सुविधाका लागि गत बैशाख देखि बन्द रहेको पोखरा—जोमसोम हवाई सेवा समेत गत असोज २३ गते नियमित सञ्चालनमा आईसकेको छ ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया