रक्त सञ्चार सेवालाई रक्तदान कुर्ची

समाधान संवाददाता २०८१ वैशाख २६ गते ९:२४

पोखरा ।
पोखरा महानगरपालिका ७ नम्बर वडा कार्यालयले प्रादेशिक रक्त सञ्चार सेवाको लागि अत्याधुनिक रक्तदाता कुर्ची (ब्लड डोनर चियर) प्रदान गरेको छ । अत्याधुनिक प्रादेशिक रक्त सञ्चार सेवा (व्लड बैंक) सहितको बहुउद्देश्यीय भवन निर्माणसँगै आवश्यक उपकरण जुटाउने काम भइरहेको अवस्थामा वडा कार्यालयले २ लाख बराबरको कुर्ची हस्तान्तरण गरेको नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाका सभापति डण्डराज शर्मा पौडेलले जानकारी दिए ।


पोखरा महानगरपालिका वडा नम्बर १५ को वडा कार्यालयले रक्त सञ्चार सेवाका लागि १ लाख बराबरको ४ थान प्लाज्मा एक्प्रेसर र २ थान स्टेथोस्कोप मेसिन हस्तान्तरण गरेको छ । वडा नम्बर ७ का अध्यक्ष राममोहन आचार्यले सरोकारवाला सबैको अपनत्व हुने गरी रेडक्रसले मानवीय सेवा तथा विपद् व्यवस्थापनको क्षेत्रमा काम गरेको बताए ।


प्रदेशका सबै क्षेत्रमा सेवा पु¥याएको संस्थाका लागि सबै निकाय क्षेत्र र निकायको सहयोग आवश्यक परेको उल्लेख गर्दै उनले योजना तर्जुमा गर्ने क्रममा रहेकाले फेरि पनि साथ, सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उनले वडा कार्यालयले विपद् व्यवस्थापन र मानवीय सेवाको क्षेत्रमा रेडक्रससँग सहयोग आदान प्रदान गर्ने जानकारी दिए ।

Advertisement


वडा नम्बर १५ का अध्यक्ष तोरणबहादुर बानियाँले रेडक्रसको मानवीय सेवाको क्षेत्रमा वडा कार्यालयले जोडिने अवसर पाएको उल्लेख गरे । मानवीय सेवा तथा नागरिक समाजसँग वडा कार्यालयलाई जोड्न रेडक्रसको ७ सिद्धान्तले सहयोग गरेको उनले उल्लेख गरे ।


नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति पौडेलले प्रयोगशालाको लागि उपकरण खरिद र जडानको लागि दातृ निकाय र निजी स्रोतबाट सहयोग जुटाउने काम भइरहेको जानकारी दिए । उनले ६ करोड लागतमा प्रादेशिक रक्त सञ्चारको बहुउद्देश्यीय भवन बनेको बताए । ‘प्रादेशिक रक्त सञ्चार सेवालाई ए ग्रेडको बनाउने योजनाका साथ भवन निर्माण गरिएको छ,’ उनले भने, ‘सबै खालको सुविधा सहित गुणस्तरीय रक्त सञ्चार सेवाका लागि करिब ५ करोडका उपकरण आवश्यक पर्ने अनुमान गरेका छौं ।’

Advertisement


उनले रेडक्रस कास्की भवन निर्माणसँगै आवश्यक उपकरण जुटाउने क्रममा रहेको बताए । वार्षिक ४० हजार युनिट रगत संकलन, भण्डारण र वितरणको काम भइरहेको उल्लेख गर्दै उनले सुविधा सम्पन्न भवनबाट समय सापेक्ष गुणस्तरीय सेवा दिने उल्लेख गरे ।


नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका मन्त्री सुरेन्द्र गुरुङले दुख, विपद्, सामुदायिक गतिविधिका अलवा रेडक्रसले रगतजन्य सबै सेवा प्रदान गर्ने जानकारी दिए । उनले स्थानीय सरकार, सामाजिक संघ संस्थाको सहयोगमा सहयोग जुटाउने काम भएको बताए । उनले नेपालमा रक्त सञ्चार सेवा सुरुवात भएको दिन साउन १२ देखि भवनबाट सेवा सुरुवात गर्ने योजना सुनाए ।

रेडक्रस कास्कीले अहिलेको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान परिसर रामघाटको विकल्पमा सिर्जनाचोकमा अन्डरग्राउन्ड पार्किङसहित ३ तले भवन सुविधा सम्पन्न भवन बनाएको छ । रेडक्रस कास्की अपांगमैत्री लिफ्टसहितको ब्लड बैंकको मुल भवनबाट प्रदेश स्तरको रक्त सञ्चार सेवा प्रदान गर्ने क्रममा छ ।

गण्डकी प्रदेशमा रगतको बढ्दो माग र आधुनिक प्रविधि युक्त सेवालाई विस्तार गर्ने क्रममा रेडक्रस कास्कीले ब्लड बैंक स्थापना गरेको हो । सबै क्षेत्रको सहयोगमा गण्डकी प्रदेशकै गौरव तथा महत्वकाक्षी योजनालाई सफल बनाएको रेडक्रस कास्कीको दाबी छ ।

तपाईको प्रतिक्रिया