एमाले पोखरा महानगर कमिटी गठन

पोखरा ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) पोखरा महानगर संगठन कमिटीले पूर्णता पाएको छ । कमिटीको अध्यक्ष दिपक पौडेल, सचिव मोहन गुरुङ छन् । महानगर कमिटी ३ सय ५७ सदस्यीय छ । कमिटीको शुक्रबार सपथ ग्रहण भएको छ । पार्टीका पोलिटब्युरो सदस्य तथा गण्डकी प्रदेश कमिटीका सचिव जगत विश्वकर्माले कमिटीका पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण गराए ।
पार्टीका केन्द्रीय कमिटीका सदस्य तथा पोखरा महानगर इन्चार्ज भीम कार्कीका अनुसार कमिटीका अध्यक्ष पौडेलको अध्यक्षतामा बसेको प्रथम बैठकले शनिबार हुने पार्टीको स्थानीय कमिटीहरुको अधिवेशनलाई सभ्य र भव्य बनाउन सहजीकरण गर्ने निर्णय गरेको छ । बैठकले महानगर कमिटीका पदाधिकारी तथा कमिटीका सदस्यहरु वडा अधिवेशन सम्पन्न गर्ने आफ्नो वडामा खट्ने निर्णय गरेको इन्चार्ज कार्कीले जानकारी दिए ।
बैठकले महानगर कमिटी निर्माण गरी जिम्मेवारी प्रदान गरेकोमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको सचिवालय तथा नेताहरुलाई हार्दिक धन्यवाद दिने निर्णय गरेको छ । सपथ ग्रहण तथा प्रथम बैठकमा नेकपा (एमाले)का नेता तथा निवर्तमान गृहमन्त्री खगराज अधिकारी, पार्टीका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री जगत विश्वकर्मा, केन्द्रीय कमिटीका सदस्यहरु सिता गिरी ओली, गोविन्द नेपाली, एमाले कास्कीका अध्यक्ष तथा गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापाले शुभकामना तथा निर्देशन मन्तव्य राखेका थिए ।
एकीकृत पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठकले गत वर्ष असोज ४गते पौडेललाई पोखरा महानगर कमिटीको अध्यक्ष तोकेको थियो । सचिव गुरुङ साविक लेखनाथ नगर कमिटीको अध्यक्ष थिए । नेकपा (एमाले)को गण्डकी प्रदेश कमिटीको सचिवालयको बैठकले दुबैलाई निरन्तरता दिने निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया