लकडाउनमा हुर्किएका कालिज

श्याम रानामगर २०७८ कार्तिक १५ गते १२:४८

छोम्रोङ ।
दुई वर्ष लामो लकडाउनले चारैतिर ठप्प भयो । सवारीदेखि आउजाउमा रोक लगाइयो । यस्तोमा पदयात्री आउने त कुरै आएन । सधै जसो पदयात्री पर्खेर बस्ने अन्नपूर्ण आधार शिविर (एबिसी) जाने पदमार्गका व्यवसायी खालीखाली भए ।


यहाँको मुख्य व्यवसाय पर्यटन । पर्यटक नै नआएपछि व्यवसाय सुख्खा । लगभग दुई वर्ष लामो लकडाउनले यहाँका पर्यटन व्यवसायी ठूलो मारमा परे । ‘लकडाउनले पाहुनाहरु पनि आएन । यहाँको मुख्य व्यवसाय भनेको नै पर्यटन हो,’ व्यवसायी जगनरास गुरुङले सुनाए, ‘पाहुनै नआएपछि के को पर्यटन ।’


लकडाउनले पदयात्री आउन ठप्प भएपछि यहाँका केही गरौं भन्ने सोच भएका पर्यटन व्यवसायीको समूहले केही गर्ने सोच बनायो । अनि जन्मियो ‘छोम्रोङ अर्गानिक फर्म’ । यो फर्ममा अहिले ७ सय कालिज हुर्किएका छन् । ‘हाल्ने बेलामा ८ सय जति हालेको । अहिले बचेको ७ सय ४९ जति होला,’ गुरुङले सुनाए ।

Advertisement


छोम्रोङको तल्लो भागमा रहेको यो फर्मलाई ठ्याक्कै जंगलकै जस्तो स्वरुप दिइएको छ । कालिजलाई जंगलमै हुर्के जसरी खेल्ने ठाउँहरु पनि बनेको छ । ‘जंगलको घाँसपात, किराफट्याङ्ग्रा खाँदै हुर्किरहेका छन्,’ व्यवसायी जगनरासले अघि सुनाए, ‘कालिज जंगलमै पाइने जात पनि भएको हिसाबले हामीले उपयुक्त वातावरण बनाएका छौं ।’


व्यावसायिक रुपमा गरिएको कालिजपालनमध्ये यो नेपालकै पहिलो अग्लो उचाइमा गरिएको कालिजपालन पनि हो । २१ सय ७० मिटरको उचाइमा गरिएको कालिजपालन सम्भवत नेपालमै छैन । ‘अग्लो उचाइमा गरिएको व्यावसायिक कालिजपालन यो नै पहिलो होला । किनभने अरु ठाउँमा हिमाली भेगतिर गरेको भनेर सुनिएको छैन,’ उनले भने ।

Advertisement


फुर्सदको समयको सदुपयोग गरेर थालिएको व्यावसायिक कालिजपालनले कालिज मात्रै होइन । कृषि सम्बन्धी अन्य उत्पादनमा पनि जोड दिने लक्ष्य लिएको छ । ‘छोम्रोङ अर्गानिक फर्मले कालिजमात्रै होइन । कृषि उत्पादनसँग सम्बन्धित अरु पनि काम गर्ने हाम्रो योजना छ,’ फर्मका अर्का शेयर धनी आकाश गुरुङले भने ।


सकभर अर्गानिक उत्पादन पस्केर पाहुनाहरुको मन जित्ने आफूहरुको उद्देश्य रहेको उनले बताए । अन्नपूर्ण गाउँपालिका ११ मा पर्ने अन्नपूर्ण बेसक्याम्प पुग्न पोखरा हुँदै कास्कीको नयाँपुल, हुँडु, मत्क्यु, झिनु, छोम्रोङ हुँदै ३ दिन लाग्छ । अन्नपूर्ण पदमार्गको माथिल्लो सिनुवादेखि माथिको भागमा मासु निषेध गरिएको छ । विशेष गरी बफ, पोर्क निषेध छ ।


गुरुङ जातिले मान्ने देउता पुजनियम बराहकै कारण बेसक्याम्प अहिलेसम्म सुरक्षित रहेको र माथिल्लो भेगमा काटमार गरे अनिष्ट हुने प्राचीन कथ्य छ । तर, पदमार्गको दोभान, सिनुवा, छोम्रोङ लगायत ठाउँसम्म भने मासु निषेध छैन । कालिज फर्म सञ्चालनमा ल्याउदासम्म ७० लाख लगानी पुगेको जगनरास गुरुङले बताए । अहिले ५ महिनामा हुर्किंदै गरेका कालिज ७ महिनापछि बिक्री गर्न तयार हुने उनले सुनाए ।

श्याम रानामगर

मगर पोखरामा क्रियाशील पत्रकार हुन्

तपाईको प्रतिक्रिया