अमेरिकी अनुदानमा ‘लोघेकर गुम्बा’ पुन निर्माण हुने
लोघेकर गुम्बाको जिर्णोदार कार्य सुरु गर्न २ लाख ८५ हजार अमेरिकी डलर सहयोग


जोमसोम—अमेरिकाले उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड—१ मराङमा अवस्थित विश्वकै पुरानो मानिएको ‘लोघेकर गुम्बा’ पून निर्माण गर्ने भएको छ । नेपाल स्थित अमेरिकी दुतावासले मुस्ताङको लोघेकर गुम्बाको जिर्णोदार कार्य सुरु गर्न २ लाख ८५ हजार अमेरिकी डलर सहयोग गर्ने जनाईएको छ । अमेरिकी राजदुतको सांस्कृतिक कोषको अनुदान सहयोगमा उक्त गुम्बाको पून निर्माण हुन लागेको दुताबासले उल्लेख गरेको छ ।
विश्वकै पुरानो मानिएको लोघेकर गुम्बा ८ औं शताब्दी अर्थात १३ सय वर्षअघि पद्यसम्भव¬( गुरु रिम्पोर्छे )ले निर्माण गरेका थिए । दुई तले ढुङ्गा र माटोले बनेको अत्यन्तै पुरानो गुम्बा जीर्ण हुदै जान थालेपछि अमेरिक दुताबासको कोषबाट पुन निर्माण हुन लागेको लोघेकर दामोदरकुण्ड गापाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । गत असोज १५ गते गुम्बा पूनििनर्माण सुभारम्भ कार्य समेत भईसकेको छ । गुम्बा पूनः निर्माण तथा जिर्णोदार सुरु गर्न अमेरिकी दुतावासका पब्लिक अफेयर्स अफिसर ग्योरट विल्करसन ,गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकाली ,गाउपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट लगायतको टोली मराङ पुगेको थियो । उनीहरुले गुम्बा पूननिर्माणको संयुक्त रुपमा जिर्णोदारकार्य सुभारम्भ गरेका थिए ।
अमिरिकी दुताबासको सांस्कृतिक कोषबाट अनुदान स्वरुप उपलब्ध बजेटबाट पूननिर्माण हुने गुम्बाको जिम्मा नर्वुसुङ फाउन्डेसनले लिएको जनाईएको छ । फाउन्डेसनले जनशक्ति र श्रोतसाधन जुटाएर तोकिएकै समय जिर्णोदार सम्पन्न गर्ने बताईएको छ । फाउन्डेसनले सन् २०२३ भित्र सक्ने गरी काम अघि बढाईने जनाएको छ । एक महिनाअघि गुम्बा जिर्णोदारकार्य सुभारम्भ गरिएपनि हिउदयाम सुरु भएको र उपल्लो मुस्ताङमा अत्यधिक चिसो हुने भएकाले काम सुरु हुन नसकेको नर्वुसुङ फाउन्डेसनले जनाएको छ । हिउदयाम कटेपछि बैशाखदेखि गुम्बा पून निर्माणकार्यले प्राथमिकता पाउने फाउन्डेसनले बताएको छ ।
यस्तै गुम्बाको पूननिर्माण गरिदा गुम्बाको साविकको पहिचान नमेटिने गरी कलाकृतिहरको अभिलेख रहने र भबिष्यमा धार्मिक पर्यटनको आस्थाको केन्द्र बन्ने विश्वास ब्यक्त गरिएको छ ।मुस्ताङको मराङमा पूननिर्माण हुने लोघेकर गुम्बालाई स्थानीयले घर गुम्बाको रुपमा लिने गरेका छन् । तिब्बती बौद्ध मार्गीहरुको सबैभन्दा पुरानो गुम्बा लोघेकर गुम्बा भएको समेत स्थानीय लामाहरुको दावी छ । उत्तरी चिनको स्वशासितक्षेत्र तिब्बतसंग सीमाना जोडिएको हिमाली जिल्ला मुस्ताङमा अमेरिकाले शिक्षा,स्वास्थ्य र धार्मिक कला संस्कृति लगायतको क्षेत्रमा लगानी गर्र्दै आईरहेको छ । कोरोना कहर अघि उपल्लो मुस्ताङ पुगेका अमेरिकी राजदुतले समेत उक्त गुम्बाको अवलोकन गरेका थिए ।
कसरी बन्यो विश्वकै पुरानो मानिएको लोघेकर गुम्बा ः
झन्डै १३ सय वर्ष उपल्लो मुस्ताङको मराङमा लोघेकर गुम्बा निर्माण भएको हो । यो गुम्बा निर्माण हुनु अघि विश्वका कुनै पनि स्थानमा बौद्ध गुम्बा निर्माण भएको थिएन । लोघेकर गुम्बा निर्माणको ऐतिहासक चाखलाग्दो किवंदन्ती छ ।तिब्बतमा ‘सम्य ’ गुम्बा तिब्बतका त्यसबेलाका राजा सोङचोङ गोम्बोको पालामा बनेको थियो ।तिब्बतका राजा गोम्बोले नेपालकी चेली भृकुटीसंग वैवाहिक संम्वन्ध जोडेका थिए । तिब्बतमा सम्भ गुम्बा निर्माण गर्दा विभिन्न बाधा अर्चन सृजना भएको किवंदन्तीमा उल्लेख छ ।धार्मिक कार्यमा बाधा पू¥याउनेलाई त्यसबेला राक्षसको संज्ञा दिईन्थ्यो ।सम्भ गुम्बा निर्माण गर्दा राक्षसहरुले अवरोध पू¥याएको भन्ने भनाई छ ।राक्षसले अवरोध पू¥याएपछि त्यसबेलाका राजा गोम्बोले भारतमा बस्ने गुरु पद्यसम्भव – गुरु रिपोर्छे)लाई तिब्बत झिकाएका थिए । पद्यसम्भव निकै शक्तिशाली धार्मिक गुरु भएकाले उनलाई तिब्बत झिकाईएको थियो । तिब्बतमा धार्मिक कार्य गर्नेहरुलाई त्यसबेला राक्षसहरुले बाधा पू¥याउने गथ्र्ये ।त्यसबेला अवरोध गर्ने दुई जना सिङवो राक्षस थिए । तिब्बतमा बौद्ध धर्म स्थापना गर्न ति दुई राक्षसको टोली सक्रिय थियो ।
तिब्बत राजा गोम्बोको निमन्त्रणमा राक्षस धपाउन त्यससमय गुरु पद्य सम्भव तिब्बत पुगेका थिए ।गुरु पद्यसम्भवले तिब्बतबाट लखेट्दै तल्लो मुस्ताङमा पू¥याए । त्यसपछि तल्लो मुस्ताङबाट फेरी फर्किएर उपल्लो मुस्ताङ उक्लिएको राक्षसलाई गुरु पद्यसम्भवले लोघेकर दामोदरकुण्ड गापाको घमी खोलामा पक्रिन सफल भए । त्यहा पद्यसंम्भवले राक्षसको कलेजो,आन्द्रा भुडी निकालेर घमीको पहाडमा मिल्काएका थिए । पद्यसम्भवले राक्षसको रगत र आन्द्रा भुडी निकालेर फालेकाले घमी नजिकको ढाक्मर पहाड रातो हुन पुगेको लोमान्थाङ गुम्बा लामा झ्याम्पा तेन्जिङले उल्लेख गरे । यसपछि पद्यसंम्भवको पञ्जाबाट फुत्किएर भागेका राक्षसको बध लोघेकर दामोदरकुण्डको मराङमा गरिएको थियो । मराङमा पद्यसंम्भवले राक्षसको टाउको काटेर फालेकाले पद्यसंम्भवले धार्मिक शान्तिका लागि त्यहा गुम्बा निर्माण गरेको भन्ने भनाई छ ।
मुस्ताङको मराङमा लोघेकर गुम्बा निर्माण भएपछि तिब्बतमा सम्य गुम्बा निर्माण भएको थियो । त्यसपछि नेपालसंगै विभिन्न देशमा बौद्ध धर्मका धार्मिक गुम्बा निर्माण कार्य सुरु हुन पुगेको थियो ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया