समाज

अत्यधिक चिसो बढेपछि छोनुप र छोसेर प्रहरी चौकी लोमान्थाङमा मर्ज

सुन्दरकुमार थकाली २०७८ मंसिर २२ गते १३:२०
फोटो क्याप्सन ः ईलाका प्रहरी कार्यालय लोमान्थाङ । तस्विर ःसुन्दरकुमार थकाली

जोमसोम—

Advertisement

अत्यधिक चिसो बढेसंगै उपल्लो मुस्ताङका दुई प्रहरी चौकीलाई ईलाका प्रहरी कार्यालय लोमान्थाङमा मर्ज गरिएको छ ।जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार लोमान्थाङ गाउँपालिकाको छोनुप र छोसेर प्रहरी चौकीलाई ३ महिनाका लागि अस्थायी मर्ज गरिएको हो ।

उत्तरी कोरलानाकासंग सीमाना जोडिएको लोमान्थाङ गाउँपालिकाको सीमावर्ती क्षेत्रको तापक्रम माईनस १५ डिग्री पुगेको र बिहान ÷बेलुकी पख सो स्थानमा अत्यधिक चिसो सिरेटो छाउने गर्नाले त्यहाँका प्रहरी जवान ब्यवस्थापनमा सकस पर्ने भएकाले त्यहाँका एक दर्जन सुरक्षाकर्मीलाई सीमा प्रहरी चौकी लोमान्थाङमा मर्ज गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रताप पौडेलले समाधानलाई जानकारी दिए ।उनका अनुसार उपल्लो मुस्ताङको सीमावर्ती क्षेत्रका बासिन्दा अहिले ८० प्रतिशत जाडो छल्न बेसी झरिसकेको र त्यस क्षेत्रमा चिसो समेत ह्वात्तै बढिसकेकाले त्यहाँका सुरक्षाकर्मीलाई लोमान्थाङमा ब्यवस्थापन गर्नु परेको हो ।

हिउँदयामको चिसोसंगै सीमावर्ती क्षेत्र बस्तीहरु तल स्थान्तरण भएको र उच्चलेंकका भेडी गोठहरु सबै तल सरेको प्रहरी निरीक्षक पौडेलले उल्लेख गरे ।‘चिसो अत्यधिक बढ्यो,पानी जम्ने र पानीको श्रोत बन्द हुने समस्या छन्,उनले भने, प्रहरीको दैनिक कार्यसम्पादन तथा ब्यवस्थापनमा चुनौती देखिएकाले प्रहरी चौकी मर्ज गर्नु परेको हो ।’ उनले मंसिरको १४ गतेदेखि दुई प्रहरी चौकी मर्ज गरिएको उनले बताए ।उनीहरुलाई गर्मीयाम सुरु हुनसाथ फागुनको दोश्रो साता मात्र साविककै प्रहरी चौकीमा खटाईने उनले बताए ।

यसअघि बर्सेनि उपल्लो मुस्ताङका प्रहरी चौकीलाई जिल्ला प्रहरी कार्यालय मुस्ताङमा मर्ज गरिने गरिन्थ्यो । त्यसबेला लोमान्थाङ र लोघेकरदामोदरकुण्डका ६ वटै प्रहरी ईकाईलाई जिल्लामा मर्ज गरिने गरिन्थ्यो । यसपटक भने उपल्लो मुस्ताङका दुई प्रहरी चौकीलाई मात्र लोमान्थाङमै मर्ज गरिएको हो ।

Advertisement

यसैवर्षदेखि लोघेरक दामोदरकुण्ड गाउँपालिकाकाको सुर्खाङ र चराङ प्रहरी चौकीलाई साविककै स्थानमा राखिएको छ ।विगतका वर्षहरुमा सो प्रहरी चौकी समेत जाडो छल्न जिल्लामा मर्ज गरिने गरिएको थियो । लोघेकर दामोदरकुण्डको सुर्खाङमा अझै दामोदरकुण्ड आउजाउ गर्ने धार्मिक तिर्थालु भएको र त्यसक्षेत्रका स्थानीय जाडो छल्न बेसी झर्ने गरेपनि यसपटक कतिपय स्थानीय गावैमा रहेकाले प्रहरी चौकी मर्ज गर्न नसकिएको प्रहरी निरीक्षक पौडेलको भनाई छ । उनले सुर्खाङमा बिजुलीको पहँुच समेत भएकाले स्थानीयबासी र भेडी गोठ रहेसम्म उनीहरुको सुरक्षा संम्वेदनशीलताका कारण प्रहरीको उपस्थिती आवश्यक भएको औल्याए ।

मुस्ताङका १६ वटा प्रहरी ईकाई मध्ये ६ वटा प्रहरी ईकाई उपल्लो मुस्ताङमा छन् ।दुई वर्ष अघि लोघेकर दामोदरकुण्ड गापा—२ घमीको घमी प्रहरी चौकी चराङ प्रहरी चौकीमा मर्ज गरिएको थियो । जोमसोम—कोरला सडक सहज हुँदै गएपछि घमी प्रहरी चौकीलाई चराङ प्रहरी चौकीलेनै सेवा दिने गरी मर्ज गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले बताएको छ ।

यसै उपल्लो मुस्ताङमा चिसो अत्यधिक बढेपछि लोमान्थाङ गाउँपालिकाका ३ सामुदायिक बिद्यालय, ४ गुम्बा र २ निजी बिद्यालय पनि मंसिर अगावै घुम्ती कक्षाका लागि बेसी झरिसकेका छन् । उनीहरुलाई पोखराका बिभिन्न स्थानमा लगेर पठन÷पाठन गराईएको छ ।यस्तै ,चिसोकै कारण उपल्लो मुस्ताङका अधिकांश स्थानीय जाडो छल्न बेसी झरिसकेका छन् । बेसी झरिसकेका उनीहरु बैशाखा लागेपछि मात्र उकालो उक्लिन्छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया