पोखराको लामगादी र गगनगौंडा जाेड्ने पुल लच्किएपछि अख्तियारमा उजुरी

सञ्जय रानाभाट २०७८ माघ १६ गते १२:०५

सञ्जय रानाभाट

पोखरा ।
मालबाहक गाडी, अन्य सवारी र यात्रु वारपारका लागि बनाइएको पुलले आफ्नै भार धान्न नसक्नु अनौठो घटना हो । पोखरा महानगरपालिकाका वडा नं. ३३ लामगादी र वडा नम्बर ३२ गगनगौंडा जोड्ने गरी पुलमा यस्तै भएको छ । निर्माण सकेर परीक्षणका लागि तयार भएको पुल टेको झिक्नेबित्तिकै लच्किएपछि यसको गुणस्तर, डिजाइन जस्ता पक्षमा प्रश्न उठेको छ ।


पुल सञ्चालन हुनुअघि नै लच्किएपछि निर्माणमा लापरवाही भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोेखरामा उजुरी परेको छ । भ्रष्टाचार विरुद्ध नागरिक निगरानी संस्था कास्की सचिव रामबहादुर पौडेलको नेतृत्वमा पुल भच्चिएको विषयमा छानबिन गर्न माग गर्दै शुक्रबार अख्तियारमा उजुरी परेको हो ।

Advertisement

सिटिजन जुरी कास्कीले पुल सञ्चालन हुनअघि नै काम नलाग्ने हुनुका कारण सूक्ष्म रुपमा छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही माग गरेको छ । यसरी पुल लच्किनुमा कमिसनको खेल प्रमुख भएको जुरीका सचिव पौडेलको दाबी छ ।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फास्ट ट्र्याकमा सूक्ष्म छानबिन माग गरेको छौं । अनियमितामा संलग्न सबैलाई कडा कारबाही हुनुपर्छ,’ पौडेलले भने । २०७५÷७६ मा स्विस सरकार विकास सहयोग (एसडिसी)को आर्थिक सहयोगमा स्थानीय विकास पूर्वाधार (डोली) ले पुल निर्माण थालेको थियो । सुरुमा ५० मिटर लामो पुल बनाउने भनिए पनि पछि ६० मिटर लम्बाइको पुल बनाउने निर्णय भएको थियो ।


पुल निर्माणका लागि एमएस इलाइट कन्स्ट्रक्सन कम्पनीसँग ६ करोड ११ लाख रुपैयाँमा सम्झौता भएको थियो । १८ महिनाभित्र काम सक्ने गरी भएको सम्झौता पुसमा सकिएको छ । टेको झिक्नेबित्तिकै पुल चर्किन थालेको एक स्थानीय बताउँछन् । ‘हेर्दाहेर्दै चर्कियो । कमसल सामान हालेर बनाएको रैछ । धन्न कुनै मानवीय दुर्घटना हुन पाएन,’ उनले भने ।

Advertisement


पुलबारे अख्तियार पोखरा कार्यालय जानकार रहेको कार्यालय प्रमुख कोशहरि निरौला बताउँछन् । ‘यसबारे उजुरी प्राप्त भएको छ । हामी पत्रपत्रिकामा आएका कुरालाई पनि सूचनाका रुपमा लिन्छौं । जुरीले दिएको कुरालाई ग्रहण गर्छौं । यसको विषयमा छानबिन गर्छाैं,’ उनले भने ।
पुल सञ्चालनका लाग माघ १० गते दिउँसो परीक्षण गर्ने तयारी भएको थियो । पुल लच्किएपछि परीक्षण गर्न माटो बोकेर गएका टिप्पर फर्काइएको पोखरा महानगरपालिका वडा नं. ३२ वडाध्यक्ष अकलबहादुर कार्कीले सुनाए । ‘निर्माण कम्पनीको लापरबाही हो । कमसल सामग्री हालेको छ,’ कार्की भन्छन् ।


सम्झौताभन्दा बाहिर गएर काम गरेको पाइएको उनको दाबी छ । ‘रड ३५० मोटाइको हुनुपर्नेमा १० यामयम, कोही ठाउँमा १५ यामयाम हालेको छ । पुलले आफ्नै तौल धान्न नसकेर यस्तो भएको हो,’ उनले भने । कार्कीले विकास, निर्माणका काम पालिका वा वडाले निगरानी गर्ने प्राविधिक राखेर गर्नुपर्नेमा जोड दिए ।


पुलको स्थलगत अध्ययन बाँकी रहेको अख्तियार पोखरा प्रमुख निरौलाले जनाए । ‘रकम हस्तान्तरण भए÷नभएको पत्ता लागेको छैन । हामी पनि नजिकबाट हेरिरहेको छौं,’ निरौलाले भने, ‘हामीले स्थलगत भ्रमण गरेका छैनौं । आवश्यक परे टोली पनि पठाउँछौं । विस्तृत अध्ययन गर्छौं ।’


पोखरा ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले पुल भच्चिएको बारेमा अनुसन्धान भइरहेको बताए । ‘प्रविधिसहितको टोलीले अनुसन्धान सकेपछि रिपोर्टले के भन्छ त्यही अनुुसार पुल निर्माण हुनुपर्छ,’ उनले भने । लच्किएको पुल संघीय सांसद विद्या भट्टराई र संघीय सांसद एवं एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले छुट्टाछुट्टै निरीक्षण गरेका छन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया